जनता टाइम्स

२१ जेष्ठ २०७७, बुधबार १५:१४

‘जनस्वास्थ्य विपद् अवस्था’ लागु गर्ने तयारी, यस्तो हुनेछ अब उपचारमा नयाँ नियम


काठमाडौं, जेठ २१

कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेसँगै सरकारले ‘जनस्वास्थ्य विपद् अवस्था’ लागु गर्ने तयारी गरेको छ । ‘जनस्वास्थ्य सेवा ऐन, २०७५’ बमोजिम दुई हजार संक्रमित कटेपछि ‘जनस्वास्थ्य विपद् अवस्था’ आकर्षित हुने प्रावधान रहेको छ ।

‘जनस्वास्थ्य विपद् अवस्था’ भनेको अति गम्भीर अवस्थाका बाहेक सामान्य अवस्थाका सङ्क्रमित ‘होम आइसोलेशन’ मा रहनुपर्नेछ । स्वास्थ्य तथा जनसङख्यामन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताउनुभयो ।

मन्त्री ढकालले सामान्यावस्थाका बिरामीलाई उपचारका लागि आइसोलेसनकक्ष स्थापना गरी त्यहाँ राखिने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय अभ्यास र अध्ययनमा सङ्क्रमित भएकामध्ये ८० प्रतिशत बिरामी सामान्यावस्थाका हुने भएकाले गम्भीर अवस्थाका बिरामीलाई अस्पताल र उपचारको अभाव नहोस् भन्नाका लागि अब नयाँ नीतिमा जाने स्पष्ट गर्नुभयो । उहाँले मुलुकमा १५ हजारसम्म सङ्क्रमित हुन सक्ने आकलनका आधारमा त्यसको पाँच प्रतिशतका लागि भेन्टिलेटरसहितको अस्पतालमा राख्न सकिने प्रबन्धमा सरकार लागेको जानकारी दिनुभयो ।

उक्त योजनामा दुई हजारदेखि पाँच हजारसम्म सङ्क्रमित पुगेपछि ‘लेभल–२’ मानिने र यस स्थितिमा ‘जनस्वास्थ्य सेवा ऐन, २०७५’ बमोजिम ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणा हुन सक्ने उल्लेख छ । स्वास्थ्य मन्त्रालयले सिफारिस गरेपछि कोराना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति हुँदै मन्त्रिपरिषद्बाट ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणा हुन सक्नेछ ।

यो लेभलबाट माथि गएपछि कोरोना डेडिकेटेड घोषित नगरिएका र सबै निजी अस्पतालले पनि अनिवार्य रुपमा कोरोना परीक्षण र उपचार गराउनुपर्छ । विश्व स्वास्थ्य सङ्गठनले ‘लेभल–३’ पछि विश्व स्वास्थ्य आपत्काल घोषणा गरेको छ । यस्तो स्थितिमा विश्वव्यापी उत्पादन र वितरणको प्रणालीमा अवरोध पुग्न जानेछ ।

हाल नेपालमा सरकारी र निजी गरी २६ हजार ९३० अस्पताल, एक हजार ५९५ सघन उपचार कक्ष (आइसियु), आठ सय ४० भेन्टिलेटर, आइसियुसहितको अस्पताल १९४, कोरोना क्लिनिकसहितका अस्पताल १११ छन् । मन्त्रालयको उक्त योजनामा लेभल १ का १३, लेभल २ का लागि १२ र लेभल ३ का लागि ३ कोरोना अस्पताल रहेको जनाइएको छ । योजनामा लेभल २ सम्ममा मात्र विद्यमान स्वास्थ्य प्रणालीले धान्न सक्ने र लेभल ३ मा पुगेपछि अन्तर्राष्ट्रिय मानवीय सहयोग आवश्यक पर्ने उल्लेख छ ।