जनता टाइम्स

९ जेष्ठ २०७६, बिहीबार ०९:४७

अलग पार्टी रहँदाका समीकरण टुटिसक्यो, नेकपामा अव हिजोको समीकरण रहँदैन : झलनाथ खनाल


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनाल जनसंगठनको एकता र संयोजक सहसंयोजक तोक्ने काम भएसँगै एकताको एक स्टेप पार भएको निश्कर्षमा हुनुहुन्छ । गत जेठ ३ गते नेकपाले सवै जनसंगठनको एकता टुंगोलगाई संयोजक, सहसंयोजक तोक्नुका साथै जनसंगठनको नाम र केन्द्रीय कमिटीको आकारलाई अन्तिम रुप दिई घोषणा गरेको थियो । नेकपामा अझै पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्यबिभाजन, केन्द्रीय निकाय र बिभाग गठनको काम बाँकी नै छ । यसबीचमा पूर्व एमाले र पूर्वमाओवादी भन्ने बहश र हेराई कायमै रहेको देखिन्छ । के होला नेकपाको अवको गन्तब्य ? यसै बिषयमा नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालकोबिचारयहाँ प्रस्तुत गरिएको छ ।

जनवर्गीय संगठनको नेतृत्व तोकिएसँगै एकताको काम सकिएको हो ?

हो, पार्टीका जिल्ला कमिटी, जनसंगठनको नेतृत्व चयन भएर अब तल तल एकता सम्पन्न गर्ने बाटो खुलेको छ । सबै जिल्लामा कमिटी एकाकार हुने स्थिति सिर्जना भएको छ । जनवर्गीय संगठनको एकतामा ढिलाई भइरहेको थियो । जेठ ३ गतेसम्म आइपुग्दा यसमा ढिलाई गर्न नहुने निष्कर्शमा पुगेपछि जनसंगठनको नेतृत्व टुंगो लगाइएको छ । पार्टी एकताका लागि यो नयाँ स्टेप हो र अग्रगामी छ । अब पार्टी पूर्ण रुपमा एकतावद्ध हुने आधार तयार भएको छ । यद्यपि हामीले तोकेको कमिटीको संख्या र संरचना कस्तो बनाउने ? भन्ने टुंगो लगाउने निकायको गठन गर्ने काम बाँकी छ ।

जनसंगठनको एकतालाई अग्रगामी स्टेप भन्नुभयो तर केही नेता कार्यकर्ताले विधिसम्मत भएन भन्ने गुनासो गरिरहेका छन नि ?

कार्यकर्तामा रहेको गुनासो जायज छ । हामीले कार्यकर्तालाई दिने भनेको पनि विधि नै हो । विधिसँग सम्बन्धित निर्णय भइसकेको छैन । उदाहरणको लागि हामीले अनेरास्ववियुको २ सय ५१ सदस्यीय कमिटी बनाइने निर्णय गरेका छौं तर त्यो कुन निकायले बनाउने भनेर विधि बनाइसकेका छैनौं । तोकिएका संयोजक र सहसंयोजकले मात्रै सम्पूर्ण कमिटीको टुंगो लगाउन मिल्छ कि मिल्दैन ? प्रश्न उठेको छ । त्यसैले कमिटी पूर्णताका लागि हामीले कुनै संस्थागत संरचना निर्माण गर्ने सोच बनाएका छौं । यसका लागि कस्तो विधि बनाउने ? भनेर छलफल हुन बाँकी छ । अब बस्ने सचिवालय बैठकमा यस बिषयमा निर्णय लिन्छ ।

सचिवालयले गरेका निर्णय बाहिर आएपछि विवाद हुने गरेको छ, यस्तो किन हुन्छ ?

विभिन्न पृष्ठभूमिबाट आएका फरक फरक मनोविज्ञानका मानिस त्यहाँ छौं । त्यहाँ आ–आफ्ना लिगेसी अहिले पनि कायम नै छन् भन्ने हामीले बिर्सनुहुँदैन । यही विविधताभित्र हामीले सकेसम्म एउटा ‘कमन ग्राउण्ड’ बनाउने कोशिस गरिरहेका छौं । निर्णय गर्दा अलिअलि विगतका लिगेसीको पनि भूमिका देखिने गर्छ । त्यसैले नेताहरुका अभिव्यक्तिमा पनि केही तलमाथि हुने गरेको छ । तर सकेसम्म बिवादित निर्णय नहोस भन्नेतर्फ सचेत छौं ।

सचिवालय पनि समूहबन्दी भएको देखिन्छ, पुरानो लिगेसीकै कारण त्यस्तो भएको हो त ?

पार्टी जतिजति एकीकृत हुँदै जाँदैछ, त्यति त्यति एकीकरणको सवालमा पार्टीको नीति, सिद्धान्त र कार्यदिशामा पुनगर्ठित गरेर जाने अवस्था सिर्जना हुँदैछ । पार्टीमा हिजाको समिकरण बदलिँदै पनि छ । अलगअलग पार्टी रहेको बेलाका समिकरण करिब करिब टुटिसकेका छन् । नयाँ पार्टी निर्माणका क्रममा हिजोका समिकरण रहन्छन् कि रहँदैनन् भन्ने जुन प्रश्न छ, मेरो विचारमा अब ती समिकरण रहँदैनन् । या त नयाँ समिकरण बन्छन् या पार्टी विल्कुल वैचारिक र संगठनात्मक ढंगले एकीकृत रुपमा अगाडि बढ्छ ।

अब पार्टीको वैचारिक लाइन के हुन्छ ?

हामीले अब पार्टीको एकता महाधिवेशन अर्थात् दशौं महाधिवेशन गर्नुपर्नेछ । एकताको महाधिवेशन अघि स्वभावैले गम्भीर बहस र छलफल हुन्छन् नै । यो सहमतिको महाधिवेशन पनि हुन्छ । एकातिर गम्भीर बहस गर्नुपर्नेछ भने अर्कोतिर सहमतिका साथ पार्टीलाई गति दिनुपर्नेछ । यी दुई विपरित विषय पनि हुन् । बहस र विवाद हुँदै गएपनि प्रतिस्पर्धा चर्किएर जान पनि सक्छ । तर प्रतिस्पर्धा चर्कियो भने सहमति नहुन पनि सक्छ । प्रतिस्पर्धा र सहमतिसँगै पार्टीलाई अघि बढाउनुपर्छ । बहसलाई खुल्ला पनि गर्दै जाने र सहमति पनि कायम गर्दै जाने गर्नुपर्छ ।

अब वैचारिक रुपमा नेकपाले कस्तो बाटो तय गर्ला ?

मुलुकमा नयाँ जनवादी क्रान्ति सम्पन्न भइसकेको छ । अब हामी समाजवादी रुपान्तरणको बाटोतर्फ अग्रसर हुन्छौं । अहिले हामीले समृद्ध नेपाल, सुखी नेपाली भनिरहेका छौं, त्यो भनेको समाजवादी नेपाल बनाउने भनेको हो । मुलुकलाई समाजवादी बनाउन सक्यौं भने देश समृद्ध बन्छ र जनता सुखी हुन्छन् । यसकारण अब हामीले बिल्कुल नयाँ बाटो हिँड्ने हो ।

५६ वर्षसम्म एउटा बाटो हिँड्यौं । त्यसपछिको १० वर्ष एउटा बाटो हिँडेर आयौं र जुन संक्रमणकाल जस्तो पनि रह्यो । त्यसैले अब हामी हिँड्ने भनेको नेपाली समाजका यथार्थताका आधारमा माक्र्सवाद र लेनिनवादका आधारभुत सिद्धान्तलाई सिर्जनात्मक ढंगले परिमार्जन गर्दै अघि बढ्ने हो । समाजवादी रुपान्तरणका कार्यदिशा, नीति र विचारलाई हामीले नयाँ ढंगले विकास गर्नुपर्नेछ । यो विल्कुल नयाँ चउर हो । यो चउर खनेर हामी अगाडि बढ्नुपर्छ । कतैको बनिबनाउ भन्दा पनि नेपाली समाजवाद निर्माण गर्ने बाटो हामी आफैले तय गर्नुपर्छ ।

पार्टीमा हिजाको समिकरण बदलिँदै पनि छ । अलगअलग पार्टी रहेको बेलाका समिकरण करिब करिब टुटिसकेका छन् । नयाँ पार्टी निर्माणका क्रममा हिजोका समिकरण रहन्छन् कि रहँदैनन् भन्ने जुन प्रश्न छ, मेरो विचारमा अब ती समिकरण रहँदैनन्

त्यसो भए पार्टी एकताको रफ्तार बढेसँगै नेताहरुबीच घोचपेच शुरु हुनु स्वभाविकै हो ?

नेपालको लोकतान्त्रिक र सिंगो कम्युनिष्ट आन्दोलनलाई तत्कालीन नेकपा एमालेको आठौं महाधिवेशनको धाराले नै गाइड गरिरहेको छ । समाजवादतर्फ जानुपर्छ भन्ने आजको विचारलाई त्यही धाराले मार्गदर्शन गरिरहेको छ । त्यो लाइनको पक्षधर संख्या बढिरहेको छ । फेरि पनि हामी कोही व्यक्तिको पछाडि लाग्नेभन्दा पनि विचारमै एकतावद्ध हुनुपर्छ । पुच्छरै बन्नुपर्छ भने विचार, दर्शन, नीति, सिद्धान्त र कार्यदिशाको बनौं । पार्टी एकीकरणको कार्यदिशा पनि आठौं महाधिवेशनले नै पारित गरेको विषय हो । पार्टीको आगामी पुस्ता मानिने युवाविद्यार्थीले पनि यो विषयमा ध्यान दिनुपर्छ ।