जनता टाइम्स

१ असार २०७७, सोमबार १०:१५

५९ प्रतिशत सकियो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम, तोकिएकै समयमा सकाउन यस्तो छ योजना


पोखरा, असार १ । राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक निर्माणको काम ५९ प्रतिशत सकिएको छ ।

लकडाउनको अवधिमा एक दिन पनि काम नरोकिएको आयोजनामा यति बेला २ सय ५० चिनियाँ र एक सय नेपाली कामदारले दैनिक काम गरिरहेका छन । टर्मिनल, टावर, अध्यागमन, भन्सार, ह्यांगर, कार्गो, प्रशासनिक, अग्नि नियन्त्रण, क्वारेन्टाइन, उद्धार कक्षलगायत १४ भवन बनिसकेका छन् । भवनमा उपकरण जडान, डेकोरेसन र फिनिसिङ (रङरोगनलगायत) काम जारी रहेको छ । नाला निर्माण र पानी निकासको संरचना पनि बनिसकेको छ । रनवे, ट्याक्सी वे, आन्तरिक र बाह्य एप्रोन पहिल्यै बनिसकेका थिए ।

पछिल्लो समय सिमेन्टलगायत निर्माण सामग्री सहज ढुवानी भएकाले एक महिनाभित्र सबै ढलान सक्ने गरी काम भइरहेको विमानस्थल आयोजनाले जनाएको छ । तर चीनबाट ल्याउनुपर्ने ठूलो परिमाणको निर्माण सामग्री केरुङ नाका र भारतको कोलकातामा रोकिएकाले कामले तत्काल तीव्रता भने नपाउने भएको छ । विशेषगरी डेकोरेसन, फिनिसिङ, प्लम्बिङ र विद्युतीयलगायत सामग्री रोकिएका हुन् ।

पहिला चीनमा र पछिल्लो समय नेपालमा भएको लकडाउनका कारण समस्या आएको आयोजनाको भनाइ छ । रोकिएका सामान चाँडै आउने आयोजनाको विश्वास छ । उपकरण जडान, केबलिङ र लाइटिङको काम पनि भइरहेकोमा सामान रोकिएकाले हुन सकेको छैन । मुख्य सडक १० दिनभित्र निर्माण भइसक्नेछ । पाइपलगायत केही सामान भने तातोपानी नाकाबाट ल्याएर काम गरिएको छ ।

आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार सामान आएमा कामले अझै गति लिनेछ । तोकिएको समयभन्दा ६ महिनाअघि नै निर्माण सकेर नेपाल सरकारलाई बुझाउने भन्दै ठेकेदार कम्पनीले सोहीअनुसार काममा तीव्रता दिएको थियो । तर कोरोना भाइरसका कारण गरिएको लकडाउनका कारण कामको गतिमा कमी आएको हो । ‘अब रोकिएका सामान आउने र ठेकेदार कम्पनीले सिफ्ट र कामदार बढाएर काम गरे भनेकै समयमै आयोजना सम्पन्न हुनेमा पनि विश्वस्त छौं,’ मुनकर्मीले भन्नुभयो, ‘लकडाउन नभएको भए ७० प्रतिशत काम सकिन्थ्यो ।’

कामदारको संख्या बढाउने र क्वारेन्टाइन बनाएर राख्ने योजना थियो । साथै आरडीटी, पीसीआर परीक्षणसमेत गर्ने, यसको खर्च ठेकेदारले नै तिर्ने भने पनि सरकारी अस्पतालले नभ्याउने र निजीमा गरिएकाले मान्यता नपाउने अवस्थाले रोकिएको मुनकर्मीले जानकारी दिनुभयो । १० जुलाई २०२१ भित्र निर्माण सकेर विमानस्थल नेपाललाई हस्तान्तरण गर्नुपर्ने ठेकेदार कम्पनीसँगको सम्झौता रहे पनि ६ महिनाअघि नै सक्ने योजनासाथ काम भइरहेको थियो । अब रोकिएका सामान आए भनेअनुसार नै काम सकिने छ ।

चीनको एक्जिम बैंकको करिब २२ अर्ब रुपैयाँ ऋणमा विमानस्थल बन्दै छ । ०७४ साउन १८ मा विमानस्थल निर्माण सुरु भएको थियो । ऋणमध्ये ७५ प्रतिशत बैंकको २ प्रतिशत ब्याज र २५ प्रतिशत चीन सरकारको निब्र्याजी हो । ईपीसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्डअनुसार ‘फोरडी’ विमानस्थल बन्न लागेको हो । विमानस्थलका लागि सरकारले ०३२ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा लिएको थियो । त्यतिले नपुगेपछि बेलाबेलामा थप जग्गा अधिग्रहण गरिँदै आइएको छ । विमानस्थलमा १ सय ९२ देखि २ सयसम्म यात्रु बोक्ने मझौला खालका जहाजले अवतरण र उडान गर्नेछन् । पोखराबाट बेइजिङ, अजरबैजान, सिंगापुर र दोहासम्म सीधा उडान हुनेछन् ।