जनता टाइम्स

८ असार २०७७, सोमबार ०६:०६

सूर्यविनायक नगरपालिकाको नीति तथा कार्यक्रम पारित : जमीन बाँझो राखे जग्गाधनीमाथि कार्वाही


कोभिड–१९ प्रतिकार्य उच्च प्राथमिकतामा

भक्तपुर, असार ८ । सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा कोभिड–१९ प्रतिकार्यलाई उच्च प्राथमिकतामा राखेको छ । नगरपालिकाको चालू सातौँ नगरसभामा नगरप्रमुख वासुदेव थापाले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो । आज आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्ने तयारी गरेको सूर्यबिनायक नगरपालिकाले नीति तथा कार्यक्रममा कोरोना सङ्क्रमण रोकथाम र नगरको स्वास्थ्य प्रणालीमा सुधार गर्दै निरोगी सूर्यविनायक निर्माण अभियान सञ्चालन गर्ने नगरप्रमुख थापाले बताउनुभयो ।

यसका लागि सूर्यविनायक नगर अस्पताल, वडास्थित नगर स्वास्थ्य संस्थाहरु पूर्ण क्षमतामा सञ्चालन गर्दै कोभिड–१९ रोकथाम तथा उपचारका लागि नगरका सबै स्वास्थ्य संस्थामा जनस्वास्थ्य प्रयोगशाला स्थापना गरी सेवा दिने, सुविधायुक्त आइसोलेशन कक्षको स्थापना गर्ने भएको छ । त्यस्तै होम क्वारेन्टिनमा रहेकादेखि घरमै व्यवस्थित आइसोलेशनमा रहेका सङ्क्रमितलाई विश्व स्वास्थ्य सङ्गठन र सरकारको मापदण्ड एवम् सुरक्षा विधिका लागि होम आइसोलेशन रुम व्यवस्थापन मापदण्ड जारी गर्दै स्वास्थ्य अवस्था सामान्य देखिएका नागरिकको नियमित स्वास्थ्य जाँच, परीक्षण र औषधि उपचारका लागि नगरपालिकाबाट विशेष स्वास्थ्य घुम्ती टोली टोल बस्तीमा नै खटाउने नीति लिएको छ ।

विदेशबाट आएकाको हकमा नगरपालिकाले तोकेको क्वारेन्टिनमा बस्नुपर्ने, होटलमा बस्दा आफैंले खर्च गर्नुपर्ने र घरमा बस्दा नियम पालना गर्नुपर्ने तथा गरिबका हकमा आवश्यक खर्च नगरपालिकाले व्यहोर्ने व्यवस्था गरेको छ । कोभिड–१९ का कारण रोजगार गुमाएकाका लागि नगरप्रमुख रोजगार तथा सीप विकास नीति ल्याएको छ । नगरक्षेत्रमा एक हजार कोरोना सङ्क्रमित पुगेमा स्वास्थ्य सङ्कट घोषणा गरी सबै बजेट कोरोनो भाइरस नियन्त्रणमा खर्च गरिने व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिनुभयो ।

कोभिड–१९ को प्रकोपका कारण नगर क्षेत्रमा खाद्य सङ्कट उत्पन्न हुन नदिन नगर क्षेत्रलाई लक्षित गरी खाद्य बैंकको अवधारणा कार्यान्वयनमा ल्याइने उहाँले जानकारी दिनुभयो । कर्मचारीमा कोरोना सङ्क्रमण भई उपचार र क्वारेन्टिनमा बस्नुपर्ने अवस्था आएमा निश्चित समयका लागि करार सेवा कर्मचारी भर्ना गर्न सकिने व्यवस्था गरेको छ । कोरोनाका कारण लक्ष्य निर्धारण गरेको रकम नगरपालिकाको सञ्चित कोषमा आम्दानी नभएमा रु ३० लाखभन्दा कमका सम्पूर्ण वडा तथा नगरस्तरीय भौतिक पूर्वाधारका योजनाहरु स्थगित गरिनेछ ।

कोरोना नियन्त्रणभन्दा बाहिर गई नगरवासीको जीवन रक्षाका लागि नगरपालिकाले विनियोजन गरिएको भन्दा अत्यधिक स्रोत परिचालन गर्नुपर्ने अवस्था आएमा नगर तथा वडास्तरीय रु एक करोडदेखि ३० लाख सम्मका सम्पूर्ण आयोजनालाई बहुवर्षीय योजनामा रुपान्तरण गरी यस क्षेत्रमा विनियोजित बजेट कोरोना भाइरस नियन्त्रणमा खर्च गरिनेछ । विद्यार्थीलाई अनलाइन माध्यमबाट पठनपाठनमा निरन्तरता दिइनेछ । सरकारको स्वास्थ्य बीमा कार्यक्रम घरघरमा विस्तार गर्ने, ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा गर्ने, ७० वर्षभन्दा माथिका नागरिकका लागि घरदैलो स्वास्थ्य सेवाको पहुँच पुर्याउने नीति लिएको छ ।

यसैगरी कृषि उत्पादनलाई आधुनिकीकरण गर्न उन्नत जातको बीउ बिजन, कृषि औजार र सामग्रीहरु कृषक तथा कृषक समूहलाई लागत साझेदारीमा वितरण गर्न, उन्नत पशु स्वास्थ्य सेवा निःशुल्क तथा लागत साझेदारीमा सेवा दिई दुग्ध र मासु उत्पादनमा थप लगानी, पशु बीमालाई प्रोत्साहन गरिने भएको छ । नगर क्षेत्रमा उत्पादित जमीन बाँझो राखेमा जग्गाधनीलाई जरिवाना गरिनेछ । नगरको उत्पादन नगर क्षेत्रमै उपभोग गर्ने नीतिको कार्यान्वयनका लागि वडास्तरमा हाटबजारको व्यवस्था गरिने र उत्कृष्ट १० स्थानीय कृषक वा कृषक समूहलाई पुरस्कृत गरिनेछ ।