सत्यलाई दबाउने उद्देश्यले जब भ्रमको खेती गरिन्छ र हजारौं पटक उही असत्यलाई दोहोर्याइन्छ भने भ्रम यति बलवान हुँदै जान्छ कि सत्य बोल्दा पनि कसैले नपत्याउने स्थिति पैदा हुन्छ । त्यति मात्र होइन, सत्य बोल्न पनि डराउनु पर्ने र सत्य बोले वापत सँजाय भोग्न तयार हुनुपर्ने भयावह अवस्थाको सिर्जना हुँदै जान्छ । पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने वास्तविकता पत्ता नलागेसम्म सूर्यले नै पृथ्वीको परिक्रमा गर्छ भन्ने भ्रमलाई सत्य ठानिँदै आएको थियो । इटालीका ग्यालिलियो ग्यालेलीले लामो समयदेखि मानी आएको भ्रमलाई खण्डन गरेर सत्य कुरा भनेकै कारण जेल यातना भोग्नु पर्यो ।
यस्तै एउटा भ्रममा लामो समयदेखि हामी नेपालीलगायत पूरै विश्व बाँचिरहेको छ । त्यो हो रामको जन्मभूमि अयोध्याको वास्तविकता । जुन अयोध्यालाई हामीलगायत पूरा विश्वले रामको जन्मभूमि मानिरहेको छ, त्यो आजभन्दा झण्डै डेढ सय वर्ष अगाडि हिन्दू र मुस्लिमका बीचमा झगडा पार्न केही क्रिश्चियनहरुद्वारा रचिएको नियोजित प्रोपोगण्डा थियो । वास्तविक अयोध्या त्यो होइन । लखनऊ नजिकै रहेको उक्त ठाउँको वास्तविक नाउँ फैजावाद हो ।
यदि इण्डियाको लखनऊ नजिकै रहेको अहिले अयोध्या कहलिएको ठाउँ राम जन्मभूमि होइन भने वास्तविक अयोध्या कहाँ छ त ? केवल त्यो होइन भनेर मात्रै त पुग्दैन । यो हो पनि त भन्न सक्नुपर्यो । यही सोचेर मैले आजभन्दा पाँच वर्ष अगाडि आफ्नै खर्चमा झुटो अयोध्यादेखि लिएर साँचो अयोध्याको खोजीमा केही महिना बिताएको थिएँ र जुन कुरो सामुन्ने आएको थियो, त्यो पूर्णरूपेण निश्चित नभईकन यत्तिकै बोलिहाल्न हुने कुरा पनि थिएन र इण्डियाको उच्च न्यायालयमा राम जन्मभूमिका विषयलाई लिएर मुद्दा चलिरहेकाले बिना ठोस प्रमाण केही भनिहाल्ने अवस्था पनि थिएन ।
मैले त्यसपछि असली अयोध्याका बारेमा केही प्रमाणहरुको खोजी गरें । शास्त्रहरुमा भनिएका कुराहरुको पनि विद्वानहरुसँग विमर्श गरें । वाल्मिकि आश्रम पुगें । सरयू नदीका बारेमा अध्ययन गरें । सीता जमीनमा भासिएको स्थानदेखि लिएर चित्रकूट, कोशी नदी, जनकपुर, रामग्राम, अयोध्यापुरी आदि सबै ठाउँमा पुगें । अनेक पुस्तकहरुको अध्ययन गरें । भगवान श्रीराम भारतको लखनउ नजीकै जन्मेको भन्ने भ्रम कतिसम्म गहिरो हुँदै गएको छ भने सीतालाई हाम्री छोरी र भगवान रामचन्द्रलाई ज्वाईं ठान्छौं हामी । भारतको लखनउ नजिक रहेको अयोध्यालाई झूटो भन्नै सक्दैनौं । तेस्को पुरानो नाउँ फैजाबाद थियो ।
भारतका प्रसिद्ध उपन्यासकार कमलेश्वरले सन २००० मा प्रकाशित गरेको उपन्यास ‘कितने पाकिस्तान’ मा पनि सो लखनऊ नजिकैको अयोध्या रामको जन्मभूमि नभएको पुष्टि गरिएको छ, जसलाई नामवर सिंह, अमृता प्रितम, हिमांशु जोशी, विष्णु प्रभाकर जस्ता लेखक साहित्यकारले मुक्तकण्ठले प्रशंसा गरेका थिए । र, भारतका सबैजसो पत्रपत्रिकामा त्यसको समीक्षा छापिएको थियो । जसरी अहिले केही भारतीयहरूले भारतमा रातारात नक्कली लुम्बिनी बनाएर बुद्ध इन्डियामा जन्मेका हुन भन्ने कुरा सिद्ध गर्ने प्रपञ्च रचेका छन्, त्यसरी नै शतकौं अघि रामायणमा वर्णित अयोध्यालाई उत्तर प्रदेशको राजधानी लखनऊ नजिकै देखाएर तेस्को श्रेयसँगै त्यहाँ भएको कथित बाबरी मस्जिदमाथि हिन्दूहरूले हमला गरुन र अयोध्याको विषयलाई हिन्दू मुस्लिमबीच कहिल्यै समाप्त नहुने युद्ध छेडियोस भन्ने अंग्रेजहरूको अभिष्ट लुकेको कुरामा दुई मत रहेन ।
नक्कली अयोध्यासँग मेल नखाने प्रमाणहरु :
अंग्रेजहरूले फैजाबादलाई अयोध्या नामाकरण गरी राम जन्मेको भनी प्रचार गराएर बहुसंख्यक हिन्दूहरूलाई आफ्नो हातमा लिए पश्चात हिन्दू मुसलमानबीच फाटो मात्रै भएन, हिन्दूहरु नै सो ठाउँलाई राम जन्मभूमि सिद्ध गर्न टुप्पी कसेर लागिपरे । त्यसलाई अहिले छिमेकी मुलुकका हिन्दूहरूले मात्रै नभएर हामी नेपालीले समेत वास्तविक राम जन्मभूमिका रूपमा मान्दै आएका छौं । तर सो ठाउँलाई राम जन्मभूमि मान्दा नमिलेका असंख्य प्रमाणहरु तर्फ भने हाम्रो ध्यान गएको छैन ।
१. माता सीता जन्मिएको ठाऊँ जनकपुर नै हो भन्ने कुरामा कुनै सन्देह छैन । यो कुरालाई इण्डियनहरुले समेत मानिरहेका छन् । यसैको आधारमा हामीले केही तथ्यहरुलाई जाँच्न सक्छौं । सीता जन्मभूमि जनकपुर र नक्कली अयोध्याबीचको सिधा दूरी पाँच सय किलोमिटर भन्दा धेरै छ । पाँच सय किमी टाढा रहेको वर्तमानको अयोध्याबाट रथमा चढेर एकैदिनमा जनकपुर आउनु पत्यारलाग्दो र सम्भव कुरा होइन । पाँच सय किमी दूरी रथबाट पार गर्न कम्तीमा पनि १५ दिन लाग्छ । रथ तान्ने घोडाहरु लगातार हिँडिरहन सक्दैनन । बीचबीचमा घाँस–पानी खुवाउँदै लानुपर्ने हुन्छ ।
२. सूननदी पतनदीको किनारमा नेपालभित्र अवस्थित वाल्मिकि आश्रमको ऐतिहासिकता र प्रमाणिकताका बारेमा पनि कसैलाई सन्देह छैन । धोबीको कुरा सुनेर रामले सीतालाई वनबास पठाएको कुरा रामायणमा वर्णन गरिएको छ । लक्ष्मणले सीतालाई बाल्मिकि आश्रम नजिकै छाडेर उसै दिन फर्केको प्रसंग रामायणमा छ । लखनऊ नजीकैको अयोध्याबाट वाल्मिकि आश्रमको सिधा दूरी करीब ३०० किलोमिटर छ भनेपछि जाऊ आऊ गर्दा ६०० किमी पुग्छ । ६०० किमी बाटो रथको सहायताले एकैदिनमा पूरा गर्न सम्भव कुरै होइन ।
३. रामायणको अन्तिमतिर वाल्मिकिले सीता र लव कुशलाई लिएर पैदल यात्रा गरी रामलाई भेट्न गएको वर्णन छ । सीताको पवित्रताका बारेमा रामलाई अवगत गराएर सीता तथा लव कुश तीनै जनालाई रामका जिम्मा लगाउने बाल्मिकिको योजना थियो । त्यो बेला उनीहरुको भेट भएको ठाउँ अहिलेको देवघाट हो । त्यो बेला रामले सीतालाई स्वीकार गर्दा जनतामा गलत सन्देश जाने लख काटे र सहजतासँग बाल्मिकिको आग्रह शिरोपर गर्न सकेनन् । यसबाट दुःखी भएकी सीताले धरती मातालाई पुकारिन् । धरती फाटिन र सीता धर्तीमा समाहित भइन भन्ने वर्णन रामायणमा छ र तेसरी धर्ती फाटेको ठाउँ चितवनको देवघाटमा पर्छ । त्यो ठाउँको दर्शन गर्न अहिले पनि हजारौं तीर्थालुहरुको भीड लाग्छ । लखनऊका स्थित अयोध्यामा बसेका राम कहिलेकाँही विश्रान्तिका लागि देवघाट आउनु तर्कयुक्त कुरा होइन । बरु देवघाट नजिकै स्थित ठाउँलाई राम विश्राम गर्नका लागि आउने भएकैले रामनगर भनिएको हुनुपर्छ ।
४. रामायणमा वर्णित एउटा घटनामा शिकार खेल्दै रामका पिता दशरथ अहिलेको स्याङ्जा, पर्वत र कास्कीको संगम आँधीखोलाको मुहान पञ्चासेको लेक पुगेको प्रसंग छ । उक्त दहमा श्रवणकुमारले गाग्रीमा पानी भर्दै गर्दा निस्किएको आवाजलाई कुनै जंगली हात्तीको आवाज जस्तो मानेर दशरथले पँधेरातिर ताकेर वाण चलाएका थिए । सो वाण लागेर श्रवणकुमारको मृत्यु भएको थियो । श्रवणकुमारका दुवै मातापिता अन्धा थिए । छोराको मृत्यु थाहा पाएपछि उनीहरुले दशरथलाई पनि आफ्नै जस्तो पुत्रवियोग होस भन्ने श्राप दिए र पुत्रवियोगको पीडाले बूढाबूढी धेरै दिनसम्म त्यो श्रवणकुमारले पानी भर्न खोजेको दह नजिकै बसेर रोइरहे । स्याङजामा अहिले पनि अन्धाअन्धी दहका नामले प्रसिद्ध कुवा छ र त्यो दह नै आँधीखोलाको मुहान हो । अहिले मानिरहेको नक्कली अयोध्याबाट शिकार खेल्न पाँच छ सय किमी पर आउने कुनै सम्भावना हुन्छ त ?
५. रामका चारै जना दाजूभाईलाई सानै छँदा दरबारमै पुगेर पढाउने गुरु वशिष्ठको जन्मभूमि पनि नेपाल नै भएको पुष्टि गर्ने धेरै आधारहरु छन । रामहरु किशोर भएपछि धनुर्विद्या आदि सिकाउने गुरु विश्वामित्रसँग जोडिएको एउटा प्रसंग रामायणमा छ । जसमा विश्वामित्रसँगै राम लक्ष्मणले कोशी नदी तरेको उल्लेख छ । त्यो कोशी नदी अहिले नेपालमै बगिरहेको कोशी नदी हो भन्ने कुरामा कुनै सन्देह छैन । अहिले मानिरहेको लखनऊ नजिकैको अयोध्याबाट घुम्दै हाम्रो कोशी नदीसम्म आइपुगेको कुरा पत्याउन सकिँदैन ।
सक्कली अयोध्या नेपालमै :
लखनऊमा रहेको अयोध्या सक्कली होइन र विभिन्न तथ्यांकहरुले त्यसलाई रामको जन्मभूमि सिद्ध गर्न सक्दैनन भन्ने निष्कर्षमा पुगेपछि हाम्रा अगाडि अर्को प्रश्न तेर्सिन्छ, त्यसोभए सक्कली अयोध्या कुन हो र कहाँ छ ? यसका लागि विभिन्न किसिमले अध्ययन गर्दा हामी नेपालको चितवन जिल्लामा अवस्थित माडीमा पुग्नुपर्ने हुन्छ । केही समय पहिलेसम्म त्यहाँ स्थित एउटा गाविसको नाउँ अयोध्यापुरी रहेको थियो । अहिले माडी नगरपालिका भएपछि अयोध्यापुरी क्षेत्र वडा नम्बर ७ र ८ भित्र समेटिएको छ । जो प्राचीन समयदेखि नै अयोध्यापुरीकै नामले जानिन्थ्यो । जुन कुरा महाभारतमा समेत उल्लेख गरिएको भेटिन्छ । अयोध्यालाई प्रायः अयोध्यापुरी भनिन्थ्यो । त्यो क्षेत्र नै वास्तविक अयोध्या हुनुपर्छ । एसका लागि केही तर्कहरुको सहारा लिनुपर्ने देखिन्छ ।
१. सो ठाउँबाट जनकपुरको सिधा दूरी करीब १५० किलोमिटर पूर्वमा पर्छ भने बाल्मिकि आश्रम करीब ३५ किलोमिटर पश्चिममा पर्छ । त्यहाँबाट रथमा चढेर एकैदिनमा बाल्मिकि आश्रम पुगेर फर्कन सम्भव छ । जो प्राचीन समयदेखि नै अयोध्यापुरीका नामले प्रसिद्ध छ । त्यो नै सक्कली अयोध्या हो भन्ने महसूस हुन्छ ।
२. सरयू नदीको प्रसंग : संस्कृतमा सरको अर्थ ताल छहरो पोखरी आदि हुन्छ । त्यो हिसाबले सरयू भनेको सरबाट बगेर आएको नदी । सरयूको अर्को नाम सरस्वती पनि हो । सरस्वतीलाई पारावतघ्नि पनि भनिन्छ । त्यसको अर्थ पर्वतलाई खियाएर, चिरेर, घात गरेर बग्ने नदी हो । अयोध्यापुरी वरिपरि नै सरयूको खोजी हुनु आवश्यक भएको छ ।
३. देवघाटसँगै मात्र होइन माडीभन्दा केही दक्षिण तर्फ पनि रामनगर नामक गाउँ अवस्थित छ । उक्त रामनगरको नाम पनि महाभारतमा उल्लेख छ । तनहुँको सेन राज्यको हिउँदकालीन राजधानी रहेको सो रामनगर हाल भारतीय सीमाभित्र पर्छ । वरिपरि राम जोडिएका ग्राम र नगरहरुको उपस्थितिले पनि अयोध्यापुरीलाई सक्कली अयोध्या साबित गर्न मद्दत गर्दछ ।
४. अहिलेको अयोध्यापुरीदेखि पश्चिम नारायणी नदी पार गरेपछि रामग्राम आउँछ । अयोध्यापुरीदेखि उत्तरतिर रामपुर छ । अयोध्यापुरीदेखि पूर्वसुनसरी जिल्लाको जंगलमा रामले धुनी जगाई आगो तापेको ठाउँ अद्यापि रामधुनीका नामले प्रसिद्ध छ । उता देवघाटसँग जोडिएको रामनगर पनि बिर्सन हुँदैन । पाल्पामा पनि रामपुर छ । रामपुरसँगै काली नदीको किनारमा रामघाट छ जहाँबाट राम अन्तरध्यान भएका थिए । रामायणमा रामले आफ्नो राज्य विस्तार गरेको प्रसंग उल्लेख छ । वरिपरिका रामनामयुक्त ठाउँहरु रामले विजय प्राप्त गरेका ठाउँहरु हुन सक्छन ।
हाम्रो दायित्व :
सर्वप्रथम त यो कुराको महत्त्व र बृहद पक्षको गोरवपूर्ण अनुभूति हामी सबैमा हुनुपर्छ । यो धेरै ठूलो कुरा हो । यसतर्फ नेपाल सरकारको समेत ध्यान जानु अपरिहार्य छ । यस्तो सत्य कुराको थप अनुसन्धान गरी प्रचार प्रसार गरेर बुद्धको मात्र होइन, रामको जन्मभूमि पनि नेपाल नै भएको कुरा विश्वसामु राख्नुपर्छ । राम जन्मभूमिको विवादलाई लिएर इन्डियाको अयोध्यामा हजारौं मानिसहरूको ज्यान गइसकेको छ र केही महिना अगाडि अदालतले फैसला गरे पनि मानिसहरुको दिलोदिमागमा झगडा यथावत छ ।
रामायणमा वर्णित सरयू नदी माडी या नारायणी या राप्तीमध्ये कुनै एक हुनुपर्छ । यी तथ्यहरूले रामको जन्मभूमि नेपाल नै भएको सिद्ध गर्ने हुँदा भगवान राम हाम्रा ज्वाइँ होइनन, हाम्रै देशका सन्तान हुन, छोरा हुन भन्ने कुरालाई सगर्व हृदयङ्गम गर्नुपर्छ । बाल्मिकि आश्रम अहिले पनि नेपालमै पर्ने कुरा सबैले जानिआएको र मानिआएको विषय हो । चितवन राष्ट्रिय निकुञ्ज तथा पर्सा वन्यजन्तु आरक्षको दक्षिणी सिमानामा अवस्थित बाल्मिकि आश्रममा नेपालकै भूमि भएर पुग्न वर्तमानमा सहज छैन । अहिले पनि त्रिवेणीबाट नारायणी पार गरेर भारतको टंकी बजार पुगी भारतकै बाल्मिकि बाघ संरक्षण क्षेत्र हुँदै सुननदी र पतनदी तरेर आश्रम पुग्नुपर्ने अवस्था छ । नेपाल सरकारको पर्यटन मन्त्रालयले यस विषयमा ध्यान दिनु जरुरी छ । सो क्षेत्रको संरक्षण, सम्बर्धनसँगै नेपालभित्रबाटै पुग्न सकिने बनायौं भने धार्मिक पर्यटनको थप विकास हुने थियो ।
यसको थप अनुसन्धान गरी प्रचारप्रसार गरेर बुद्धको मात्र होइन, रामको जन्मभूमि पनि नेपाल नै भएको कुरा विश्वसामू राख्नुपर्छ । अनि इण्डियासँग हाम्रो झुकेको नाता (सीताको माइती भएका कारण)लाई समाप्त गरिनुपर्छ । राम जन्मभूमिको विवादलाई लिएर इण्डियाको अयोध्यामा हजारौं मानिसहरुको ज्यान गइसकेको छ र झगडा यथावत् छ । रामायणमा वर्णित सरयू नदी माडी या नारायणी या राप्ती मध्यै कुनै एक हुनुपर्छ । यी तथ्यहरुले रामको जन्मभूमि नेपाल नै भएको सिद्ध गर्ने हुँदा भगवान् राम हाम्रा ज्वाईं होइनन, हाम्रै देशका सन्तान हुन । छोरा हुन भन्ने कुरालाई सगर्व हृदयंगम गर्नुपर्छ । सक्कली अयोध्या नेपालमै भन्दा कतिले प्रम केपी शर्मा ओलीलाई उडाइरहेका होलान । तर म भने आभारी भएको छु । मैले यो कुरा दुई बर्षदेखि भन्दै आएको हुँ, फेसबुक, ट्वीटर र पत्रिकामा । कतिले मन पराउनु भएको थियो, कत्तिले नबुझेर उडाउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्