जनता टाइम्स

१ श्रावण २०७७, बिहीबार ०९:५७

राम जन्मभूमि बहश : प्रधानमन्त्रीले राष्ट्र्को पक्षमा सत्य बोल्दा पनि कोकोहोलो मच्चाउने ?


प्रधानमन्त्रीले यी कुरा राखिरहँदा, यसलाई फरक ढङ्गले अर्थ लगाइन्छ नै भन्नु भएकै हो, आखिर कुरा भुँइमा पर्दा नपर्दै होहल्ला मच्चाउन सुरू भइसकेको छ । मुलुकका प्रधानमन्त्रीले लहडका भरमा बोलेको होइन, यसभित्र केही दम छ भन्ने कुराको हेक्का राख्नु पर्दछ । जुनसुकै कुरालाई पनि टिप्पणी गर्न हतार नगरी, सतहमा बगेको पानीको बहाव मात्र नहेरी त्यसभित्रको ‘अन्डर करेन्ट’ को आँकलन गर्नु पर्दछ 

प्रा.डा. यादवप्रकाश लामिछाने

राम कथालाई अनुवाद रूपान्तरणका माध्यमबाट नेपाली भाषामा श्लोकबद्ध गरेर अभिव्यक्ति दिई नेपाली जनस्तरमा समेत लोकप्रियता हासिल गर्ने आदिकवि भानुभक्त आचार्यको २०७औं जन्म जयन्तीको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म नेपालकै ठोरी नजिकै अयोध्यापुरीमा भएको हो भन्ने भनाइमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । प्रधानमन्त्री ओलीको यस अभिव्यक्तिमा सांस्कृतिक पक्षमाथि आक्रमण भयो भन्नेहरु एकथरी छन् भने अर्कोथरीले राजनीतिक दृष्टिले पनि नेपाल भारतको सम्बन्धमा दुरी बढ्दछ भनेका छन् । यी बहशमा उभिदा वास्तबमा प्रधानमन्त्रीको अभिव्यक्तिको अन्तर्य बुझ्नु जरूरी हुन्छ । सतहबाट यसको यथार्थता प्रकट हुन सक्दैन ।

तत्कालीन परिस्थितिमा भारतमा पर्ने अयोध्या र जनकपुर भौगोलिक दूरत्वका कारणले पनि वैवाहिक सम्बन्ध त्यति सहज हुने अवस्था देखिदैन । त्यसैले नेपालभित्रकै अयोध्यापुरीका राम र जनकपुरकी सीताको वैवाहिक सम्बन्ध हुनु हरेक हिसावले सहज र यथार्थपरक देखिन्छ । यसलाई अन्यथा अर्थ लगाएर विषयान्तर गर्न खोजिनु किमार्थ राम्रो कुरा हुँदै होइन । रामको जन्म नेपाली भूमिमा नै भएको हो भन्दा कसरी राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा विवाद भयो ? उत्तर खोज्नु जरूरी छ । कसैलाई ‘तिमी राम्रा छौ भन्दा, सँगै बसेको अर्को साथीलाई तिमीचाहिँ राम्रा छैनौ, ऊ मात्र राम्रो हा’े भन्ने अर्थमा बुझ्नु हुन्न भन्ने भनाइ हो ।

भारतमा रहेको अयोध्या र नेपालमा रहेको अयोध्याको सन्दर्भ अघि सार्ने हो भनें अब यो विषय विवादको होइन, अनुसन्धानको हो भन्ने हो । यसमा तात्कालीन सामाजिक–सांस्कृतिक सन्दर्भ तथा राम कथासङ्ग जोडिएका वाल्मीकि आश्रम, लवकुश जन्मेको ठाँउ, सीताले तपस्या गरेको र समाधि लिन जमीन मुनि भासिएको स्थान आदि जस्ता कुरा पनि अनुसन्धानका प्राथमिक स्रोत सामग्री बन्न सक्छन । प्रधानमन्त्री ओलीले औपचारिक क्रार्यक्रममा विषय सन्दर्भ मिलाएर कुनै ठोस आधारमा टेकेर नै दिएको अभिव्यक्ति हो यो । यदि यो विवादको विषय हो भने इतिहास, संस्कृति र पुरातत्वविदहरूको टोली बनाएर अध्ययन, अनुसन्धान गर्न मार्ग प्रशस्त भएको छ ।

‘वादेवादे जायते तत्व बोध’ भनेजस्तै अन्तमा यो सर्वस्वीकार्य हुनेछ । नेपालमै जन्मेका रामलाई भारतको अयोध्यामा जन्मेको भनेर एकोहोरो रटान गर्नुचाँहि अतिशयोक्तिपूर्ण अभिव्यक्ति मानिदैन र ? के नेपाल नै रामको जन्मभूमि हो भन्नु चाँहि अतिशयोक्ति पूर्ण हो ? त्यो त समयले प्रस्ट्याउने छ । प्रधानमन्त्रीले यी कुरा राखिरहँदा, यसलाई फरक ढङ्गले अर्थ लगाइन्छ नै भन्नु भएकै हो, आखिर कुरा भुँइमा पर्दा नपर्दै होहल्ला मच्चाउन सुरू भइसकेको छ । मुलुकका प्रधानमन्त्रीले लहडका भरमा बोलेको होइन, यसभित्र केही दम छ भन्ने कुराको हेक्का राख्नु पर्दछ । जुनसुकै कुरालाई पनि टिप्पणी गर्न हतार नगरी, सतहमा बगेको पानीको बहाव मात्र नहेरी त्यसभित्रको ‘अन्डर करेन्ट’ को आँकलन गर्नु पर्दछ ।

चितवनको माडी क्षेत्रमा पर्ने अयोध्यापुरीमा राम जन्मिएको आधार रहेको अभिव्यक्ति दिने लोकमणि पौडेलले अघि सारेका तथ्यहरूबाट पनि सत्यताको नजिक पुग्न सकिने स्थिति देखिन्छ । उनले बुद्ध जन्मस्थल भारत हो भनेर भारतले नक्कली कुरा गरेजस्तै नेपालमै रहेको अयोध्यालाई भारतको हो भनेर भारतीयहरूले श्रेय लुट्न खोजेको मात्र हो भनेका छन् । पौडेलका तर्कअनुसार जनकपुरदेखि पाँच सय किलो मिटर टाढा रहेको भारतमा रहेको भनिएको अयोध्याबाट जनकपुर आउने कुरा पत्याउन पनि सकिदैन र त्यो समयको अनकन्टारमा छोरी दिने कुरा पनि आँउदैन । त्यसका साथै सीता हरणपछि रामले सीतालाई लिएर आउदा धोवीले नैतिकताको प्रश्न उठाएपछि रामका आदेशानुसार लक्ष्मणले सीतालाई वाल्मीकि आश्रम पुर्याएर फर्केको तथ्यले अयोध्यापुरी र वाल्मीकि आश्रमको दूरी धेरै टाढा नभएको तर्क विश्वसनीय रहेको छ ।

पौडेलले यसलाई पुष्टि गर्ने अन्य आधारहरू दिदै रामको जन्मभूमि भारतको अयोध्या नभएको तर्क पेश गर्ने लेखक कमलेश्वर (२०००) लाई समर्थन गर्दै भारतका समालोचक तथा लेखक नामवर सिँह, हिमांशु जोशीजस्ता साहित्यकारहरूका धारणा प्रस्तुत गरेका छन् । अयोध्यापुरीबाट वाल्मीकि आश्रम ७० किमि मात्र रहेकाले विहान गएर बेलुका फर्कन सकिने देखिन्छ । त्यसैका आधारमा लक्ष्मणले भाउजू सीतालाई वाल्मीकि आश्रम पुर्याई बेलुका अयोध्या फर्केको सन्दर्भ औचित्यपूर्ण देखिन्छ । रामको जन्म अयोध्यापुरीमै भएकाले वरिपरिका नाम पनि त्यसरी नै राखिएको तर्क अघि सारेका छन् । अयोध्यापुरीको उत्तरतर्फ रामपुर, देवघाट नजिकैको रामनगर, पाल्पाको रामपुर, रामघाट, सुदूर पूर्वमा पर्ने रामधुनी आदि रामसङ्ग जोडिएका स्थान र तीर्थस्थलले नेपालकै अयोध्यापुरीको महत्व उच्च रहेको पुष्टि हुन्छ ।

रामको जन्म नेपालमै भएको विषयलाई उल्लेख गरिरहेका छन । अब यो विषयलाई थप अनुसन्धान गरेर एउटा निकासमा पुग्नु पर्ने बेला आएको छ । अहिले प्रधानमन्त्रीबिरुद्ध खनिदा नेपालको होइन, भारतकै पक्ष लिएको प्रष्टै देखिन्छ । नेपाल जिन्दावाद भन्दा आफूलाई गाली गरेको ठान्ने भूल कसैबाट हुनुहुन्न । अध्ययनले रामको जन्म नेपाली भूमिमै भएको प्रशस्त प्रमाणहरु बाहिर ल्याउनेछ ।

वाल्मीकि आश्रमको अध्ययन गर्ने भारतीय मिडिया ‘इन्डिया न्यूज १८’ ले समेत नेपालमा रहेको वाल्मीकि आश्रमलाई आधिकारिक मानेर प्रशारण गरेको छ । लवकुश जन्मिएको, खेलेको र अश्वमेध यज्ञका घोडा बाँधेको ठाँउको चर्चा भएको छ । यसले रामायणका रचनाकार वाल्मीकि र रामका केन्द्रीयतामा उनिएको कथाको वातावरणले आश्रम तथा त्यस वरिपरिको सेरोफेरोलाई नै समेट्ने हुनाले वाल्मीकि आश्रम र अयोध्यापुरीसङ्गको सान्निध्यलाई पुष्टि गर्दछ । केवल प्रचार प्रसारका कारणले ओझेल परेको तथ्य प्रस्ट छ । त्यसैले सामाजिक–सांस्कृतिक सम्बन्ध विग्रन्छ भनेर कोकोहोलो मच्चाउनुको कुनै अर्थ छैन । आफ्नो भूमिमा नै जन्म भएको भन्न हिच्किचाउनु पर्ने कुनै कारण नै छैन ।

प्राचीन कालमा नै निर्माण गरिएका सांस्कृतिक सम्पदाले यसको पुष्टि गरिरहेका छन् । अवका दिनमा तिनीहरूको जीर्णोद्वार र संरक्षण गरी परापूर्व कालदेखिका सांस्कृतिक गौरवको सुरक्षा तथा प्रचार प्रसार गरी चिनाउनु परम् कर्तव्य हुनेछ । धार्मिक तथा पौराणिक विषयहरुमा किंबदन्तीहरुको पनि अर्थ हुन्छ । यसअघि पनि यो विषयमा अरु धरै अध्ययनहरु भएका छन । रामको जन्म नेपालमै भएको विषयलाई उल्लेख गरिरहेका छन । अब यो विषयलाई थप अनुसन्धान गरेर एउटा निकासमा पुग्नु पर्ने बेला आएको छ । अहिले प्रधानमन्त्रीबिरुद्ध खनिदा नेपालको होइन, भारतकै पक्ष लिएको प्रष्टै देखिन्छ । नेपाल जिन्दावाद भन्दा आफूलाई गाली गरेको ठान्ने भूल कसैबाट हुनुहुन्न । अध्ययनले रामको जन्म नेपाली भूमिमै भएको प्रशस्त प्रमाणहरु बाहिर ल्याउनेछ ।