जनता टाइम्स

३ श्रावण २०७७, शनिबार १७:३७

मौद्रिक नीतिले समग्रमा सबै कुरा समेटेको छ, तुरुन्तै निर्देशिका आउनुपर्छ : अध्यक्ष पवन गोल्यान


काठमाडौं, साउन ३ । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष एवं प्रतिष्ठित उद्योगी पवन गोल्यानले नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिलाई स्वागत गर्नुभएको छ । काठमाडौंमा आज आयोजित कार्यक्रममा बोल्दै गोल्यानले यस्तो धारणा राख्नुभएको हो ।

‘मौद्रिक नीतिले समग्रमा सबै कुरा समेटेको छ । अब कार्यान्वयन पक्षलाई ध्यान दिनुपर्छ । यसको लागि तुरुन्तै निर्देशिका आउनुपर्छ,’ एनएमबी बैंकका अध्यक्षसमेत रहनुभएका उद्योगी गोल्यानले भन्नुभयो । उहाँले सहुलियतपूर्ण कर्जा मागको विषयमा नीतिमार्फत सम्बोधन भएको पनि बताउनु भयो । साना तथा मझौला उद्यमी (एसएमई) को माग पनि मौद्रिक नीतिले सम्बोधन भएको उहाँको भनाई छ । गोल्यानले बैंक नबाँचे व्यवसाय पनि नबाँच्ने भएकोले मौद्रिक नीतिले सही बाटो लिएको बताउनु भयो ।

‘लकडाउनको यो कठिन समयमा कर्जा लिनेहरुलाई ब्याज तिर्न पनि समस्या छ । ब्याज सिंगल डिजिटमा ल्याउनुपर्छ भनेर हामीले पनि भनेका छौं । तर, म उद्योग वाणिज्य महासंघ र चेम्बरका साथीहरुलाई स्प्रेडदर घटाईदिनुहोस भनेर बोलेको कुरा अलिकति नमिल्दोजस्तो आभाष भएको छ । किनभने बैंक बाँचेन भने व्यवसायपनि बाँच्दैन् । र, व्यवसाय बाँचेन भने बैंकपनि बाँच्दैन,’ गोल्यानले भन्नुभयो । गोल्यानले समग्र रुपमा नीति राम्रै आएको भएपनि यसबारे आफूहरुले विस्तृतमा अध्ययन गरिनसकेको बताउनु भयो । ‘हामी आपसमा छलफल गर्दैछौं । अहिले विश्लेषणको काम भैरहेको छ । हामी भोलि टुँगोमा पुग्छौं । तर, समग्रमा राम्रो आएको छ । योपटक फिस्कल पोलिसी र मनिटरी पोलिसी जोडेर आएको छ । अब कार्यान्वयन पक्षमा ध्यान दिनुपर्छ । यसलाई कार्यान्वयन गर्न हामीसँग पनि सहकार्य हुनुपर्छ,’ उहाँको भनाई थियो ।

पूरा कर्जाको १५ प्रतिशत कृषिमा लगानी गर्नुपर्ने कुरा उल्लेख भएकोमा यो निकै राम्रो भएको उहाँको प्रतिक्रिया छ । ‘बास्तवमै कृषिमा लगानी हामीले पनि गर्नुपर्छ । र, राष्ट्र बैंकले पनि गर्नुपर्छ । यसमा ध्यान दिनुपर्छ । अहिले ५५ अर्ब रुपैयाँ लगानी भैसकेको छ भन्ने डेटा आएको छ । यो कृषिमै लगानी भएको हो भने त धेरै खुशीको कुरा हो । अर्को कुरो एक करोड भन्दा कमको कर्जा १५ प्रतिशत हामीले दुई वर्षभित्रमा पुर्याउनुपर्छ । त्यो पनि धेरै ठूलो राहत हो । यसको मतलव जसले काम गर्न खोज्छ, अब पुँजीको अभावले काम रोकिँदैन,’ अध्यक्ष गोल्यानले भन्नुभयो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवालले मौद्रिक नीति सन्तुलित आएको प्रतिक्रिया दिनुभयो । ‘यो नीतिले सबैको चित्त बुझाउने प्रयास गरेको छ । हामी खुशी छौं,’ अग्रगालले भन्नुभयो । उहाँले निजी क्षेत्रले मागेको भन्दा राम्रो नीति आएको स्पष्ट पार्नुभयो । पूनर्कर्जा अत्यन्तै राम्रो आएको र ऋणको व्याज तिर्न ६ देखि एक वर्षसम्म समय दिईनु सकारात्मक भएको उहाँको भनाई छ ।

‘ब्याज र कर्जाको समय बढाइदिएर अति प्रभावितलाई १२ महिना, मध्यमलाई ९ महिना र कमलाई ६ महिना दिनु राम्रो सुरुवात हो । हामी यसको प्रशंसा गर्छौं,’ अग्रवालले भन्नुभयो । उहाँले मौद्रिक नीतिले रोजगारी सिर्जना गर्ने कुरामा विशेष ध्यान दिएको पनि उल्लेख गर्नुभयो । ‘कृषि क्षेत्रमा कर्जा बढाएको छ । विशेष कृषिमा १० बाट १५ प्रतिशतसम्म लगानी गर्नुपर्ने भनेको छ । यसले कृषिमा रोजगारी बढ्छ । कृषि क्षेत्रलाई आत्मनिर्भर पनि बनाउँछ,’ अग्रवालको भनाई थियो । त्यस्तै, सीसीडी पनि ८० बाट ८५ प्रतिशत गरिएको सुनाउँदै यसले तरलता पनि बढ्ने उहाँको भनाई छ ।

अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलालले भने मौद्रिक नीतिले अटोमोवाइल क्षेत्रलाई असहयोग गरेको आरोप लगाउनु भयो । ‘मौद्रिक नीतिमा हामीलाई सौताको छोराको रुपमा हेरियो । हाम्रा माग र सुझावहरु सम्बोधन भएको छैन,’ दुलालले भन्नुभयो ।