काठमाडौं, साउन ६
सरकारले बुधबारबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले साउन ६ गते मध्यरातिबाट लकडाउन पूर्ण रुपमा हटाउने निर्णय गरेको हो ।
सरकारले कोरोना महामारी रोकथामका लागि चैत ११ गतेदेखी शुरु गरेको लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चैत ११ देखि सरकारले लगाएको लकडाउन अन्त्य भएको जानकारी दिनुभयो ।
लामो दुरीको बस भदौबाट
लकडाउनको अन्त्य गरेपनि सरकारले लामो दूरीको यातायात भने भदौ १ गतेदेखि मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ । प्रवक्ता खतिवडाले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय नाका साउन ३२ सम्म बन्द
सरकारले छिमेकोलगायत अरु राष्ट्रबाट स्थलमार्ग भइ नेपाल प्रवेशमा लगाइएको प्रतिबन्ध साउन ३२ सम्म पुर्याएको छ । नेपाल प्रवेश बिन्दु र खुला सीमाको आवागमन साउन ३२ गते आइतबार मध्यरातसम्मका लागि यथावत् राख्ने निर्णय गरिएको सरकारका प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।
छिमेको राष्ट्र लगायतका अरु राष्ट्रले चालेका सो रोगको संक्रमणबाट जोगाउन अपनाइएको नीतिअनुसार नेपालले पनि उक्त निर्णय लिइएको उहाको भनाई छ । पछिल्लो समय नेपालसँग सीमा जोडिएका भारतका बिहार, उत्तर प्रदेशलगायत राज्यमा कोरोनाको संक्रमण बढेपछि सरकारले यस्तो निर्णय लिएको हो ।
तर, जेठ १२ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम जारी भएको असहज परिस्थितिमा स्वदेश आउनै पर्ने नागरिकहरूलाई भने तोकिएबमोजिम स्थलमार्गबाट प्रवेश दिइने प्रवक्ता खतिवडाले बताउनु भयो । उहाले जबर्जस्ती प्रवेश गरेमा वा प्रवेश गराएर लुकाउने काम गरेमा कानुनबमोजिम कारबाही हुने चेतावनी दिनुभयो ।
अरु के के भयो त निर्णय ?
सरकारले साउन १५ गतेदेखि होटल तथा रेष्टुराँ सञ्चालन गर्न दिने निर्णय गरेको छ । कोभिड–१९ सम्बन्धी सुरक्षाका मापदण्ड अपनाई होटल तथा रेष्टुराँले सेवा दिन सक्ने छन् । तर, होटल तथा रेष्टुराँमा सभा सम्मेलन भने गर्न पाइने छैन ।
त्यस्तै, ट्राभल, ट्रेकिङ एजेन्सी पनि साउन १५ देखि नै सञ्चालन गर्न पाइने भएको छ । खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेलकुद पनि भदौदेखि सञ्चालन गर्न पाइने भएको छ ।
ठूला सभा, सम्मेलन, गोष्ठी, सेमिनार गर्न भने बन्देज लगाइएको छ । शैलुन, ब्युटीपार्लर, जिमखाना, चिडियाखाना, धार्मिकस्थल, स्वीमिङ पुल, सिनेमा घरहरू सञ्चालन गर्न नपाइने भएको छ । यी व्यवसायका सम्बन्धमा पछि फेरि निर्णय गरिने प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्