जनता टाइम्स

२४ श्रावण २०७७, शनिबार ०७:३४

कुन अयोध्या सक्कली, कुन नक्कली ?


रामायण काल्पिनीक साहित्य होइन, बास्तविक घटना हो भन्ने विश्वास भावी पुस्तालाई दिलाउने हो भने इशाईहरुले लखनउ राज्य हडप्ने क्रममा गरेको यो छलकपटलाई यथाशिघ्र उजागर गर्नै पर्छ । भारतीय विद्धानहरु पनि यो मामलिामा संवेदनशील हुनै पर्छ । किनकी भावि पुस्तलाई रामायणको विश्वासनियता माथि नै शंका उत्पन्न भयो भने जति सुकैताम झाम तथा खर्च गरेर फाजियावादमा राममन्दीर निर्माण गरे पनि त्यसले केही उपलव्धी दिन सक्दैन

अञ्जु कार्की

भारतको उत्तर प्रदेश राज्यको लखनउ नजिकै सानो शहर छ । जसलाई शताव्दीयौंदेखि फाजियावादका नामले चिनिन्छ । मुस्लिम राजा र हिन्दू प्रधानमन्त्री रहने परम्परा बोकेको लखनउ कुनै जमनामा दक्षिण पूर्वी एशयिाकै सबैभन्दा शक्तिशाली राज्य थियो । त्यहाँको राजपरिवारले करिव ५० किलोमिटर पूर्वमा रहेको फाजियाबादलाई आफ्नो धार्मिक नगरीका रुपमा विकास गरेको थियो । सबै धार्मिक गतिविधि राजधानी लखनउमै केन्द्रित गर्दा हिन्दूहरुको भावनामाथि ठेस पुग्ने अवस्थालाई दृष्टिगत गर्दै मुस्लिम राजाहरुले फाजियावादमा विशाल मस्जिद निर्माण गरेका थिए । जुन धार्मिक केन्द्र बाबरी मस्जिदका नामले विश्व प्रख्यात थियो । भारत वर्षका अरु राज्यहरुमा हिन्दु र मुसलमानबीच भित्रभित्रै द्धन्द भएपनि लखनउ राज्यमा भने हिन्दु र मुस्लिमबीच अनुपम मेलमिलाप थियो । हिन्दूहरुको भावनाका सकेसम्म ठोस नपुगोस भनेर नै मुस्लिम शासकहरुले राजधानी भन्दा केही पर मुख्य मस्जिद बनाएका थिए ।

इष्ट इण्डिया कम्पनीको आगमनपछि अंग्रेजहरुले विस्तारै भारत वर्षका राज्यहरु आफ्नो अधिनमा लिँदै गए । त्यतिबेला भारत वर्षमा ५ सय ६० वटा साना ठुला राज्य थिए । करिव ९५ प्रतिशत राज्यहरु आफ्नो अधिनमा लिएपछि अंग्रेजहरुले सबैभन्दा शक्तिशाली र आर्थिक रुपले पनि निकै सवल लखनउ राज्यमाथि धावा बोले । दुई वर्षको अन्तरालमा अंग्रेजहरुले तीन पटक लखनउ माथि आक्रमण गरे, तर सफल हुन सकेनन । उल्टो अंग्रेज सेनातर्फ धेरै ठूलो क्षती भयो । यो क्षतिपछि अंग्रेजहरुले लखनउ राज्यसँग संवन्ध विस्तारका लागि करिव १० वर्ष मिहेनत गरे, तर उल्टै लखनउ राज्यले अन्य राज्यका अपदस्थ राजाहरुलाई संगठिन गरी अंग्रेजलाई भारतबाटै धपाउने अभियानलाई तीब्र बनायो । आजित भइसकेपछि अंग्रेजहरुले जुक्ति निकाले, त्यो जुक्ति थियो, ‘ हिन्दु र मुसलमानबीच द्धन्द चर्काएर लखनउ राज्यलाई कमजोर बनाइ दिने ।’ त्यस क्रममा उनीहरुले बाबरी मस्जिदसमेत रहेको मुसलमानको मुख्य धार्मिक केन्द्र फाजियावादलाई रोजे । फाजियावादको बाबरी मस्जिद नजिकै हिन्दु साधुहरुको एउटा अखडा थियो । गण्डक र गंगाको संगमस्थल नजिकै रहेको उक्त ठाउँबाट हिन्दू साधुहरुले आफ्ना गतिविधिहरु गर्थे ।

अंग्रेजहरुले हिन्दू साधुहरुलाई ठूलो रकम दिएर आफ्नो पक्षमा ल्याए । लखनउ राज्य आफ्नो हातमा आएको खण्डमा बबरी मस्जिद तथा यसले चर्चेको सबै जमिन दिलाई दिने प्रलोभन हिन्दु साधुहरुलाई दिए । तै पनि हिन्दू साधुहरुले विश्वास गरेनन् । त्यसपछि अंग्रजहरुले अर्को स्टण्ट रचे । त्यो स्टण्ट थियो। ‘मुस्लिम शासक बाबरले राम मन्दिरलाई भत्काएर आफ्नो नाममा मस्जिद बनाएका हुन । रामजन्मभूमी अयोध्या बास्तवमा फाजियावाद नै हो ।’ फाजियाबादमा बनेको बाबरी मस्जिद तथा त्यसको किल्ला निकै बलियो भएका कारण अभेद्य भनिन्थ्यो । अभेद्यको अर्थ हो कसैले भेदन गर्न नसक्ने । बाबरी मस्जीद अभेद्य नामले बढी प्रचारमा थियो । यही शब्दलाई पक्डँदै अंग्रेजहरुले अयोध्या शब्द अपभ्रंश भएर अभेद्य भएको प्रचार गरे । जसलाई सिधा साधा हिन्दूहरुले पत्याए । ठूलो धार्मिक आस्था बोकेका हिन्दूहरु अंग्रेजको शव्दजाल तथा राणनीतिको शिकार बने । त्यसपछि हिन्दु र मुस्लिमबीच द्धन्द सुरु भयो । मुसलमान राजाहरुले हिन्दू प्रधानमन्त्रीलाई हटाए । जसका कारण लखनउ राज्य कमजोर भयो । यही मौका छोपेर अंग्रेजहरुले संवृद्ध र बलियो राज्य लखनउलाई आफ्नो अधिनमा लिए ।

नक्कली अयोध्या खडा गरी लखनउ राज्य आफ्नो हातमा लिए पनि अंग्रेजहरुलाई डर त्रास बाँकी नै थियो । यो कुराको भेद कतै खुल्ने त होइन ? भन्ने संत्रास उनीहरुलाई थियो । जनकपुरसमेत रहेको नेपालले अंग्रेजहरुले खडा गरेको अयोध्यालाई मान्यता नदिने त होइन ? भन्ने सन्त्रास हटाउनका लागि अंग्रेजहरुले मौका पर्खेर बसेका थिए । केही वर्षपछि लखनउका अपदस्थ राजाले सीपाही विद्रोह गरे । यो विद्रोह हिन्दुमाथि मुस्लिमको आक्रमण भएको भन्दै अंग्रेजहरुले राणा प्रधानमन्त्री जंगबहादुरलाई पत्राचार गरे । सिपाही विद्रोह दवाउनु अंग्रेजका लागि ठूलो कुरा थिएन, तर उनीहरुले यो विद्रोहलाई स्वतन्त्रताको अन्दोलन भन्दा पनि हिन्दुमाथि मुस्लिमले गरेको आक्रमणका रुपमा प्रचार गराएर नेपालका शासकको साथ सहयोग सँधैका लागि प्राप्त गर्ने रणनीति बनाए । जंगबहादुर राणा आँफै फौज लिएर लखनउ गए । अंग्रेजहरुले पनि जति सक्दो लुट, लैजाउ भनेर छुट दिए । चतुर शासक जंगबहादुरले मौकामा चौका हाने । धेरै ठूलो सम्पत्ति लुटे । जसलाई अहिले पनि लखनउ लुट भन्ने गरिन्छ । यति मात्रै होइन, लखनउ राज्यले हडपेको कैलाली, कञ्चनपुर, बाँके र बर्दियासमेत अंग्रेजहरुले नेपाललाई फिर्ता दियो । त्यसपछि भने नेपालले नक्कली अयोध्याको विषयमा कहिल्यै कुरा उठाएन ।

तत्कालिन राजदरवारका एक कर्मचारीको अप्रकासित डायरीमा उल्लेख भएअनुसार नेपाली कांग्रेसले २०१८ सालमा भारतमा सेल्टर बनाएर विद्रोह गरेका बेला नक्कली अयोध्याको बास्तविकता उजागर गर्ने तयारीमा राजा महेन्द्रले दरवारका एक उपसचिव तहका कर्मचारीलाई जिम्मेवारी दिएका थिए । उनले योगी नरहरिनाथको साथ सहयोगमा प्रतिबेदन समेत तयार गरेका थिए । यसको सुँइको भारतका तत्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरुले पाए । त्यसपछि उनले कांग्रेसलाई सेल्टर नदिने राजा महेन्द्रको शर्त स्वीकार गरे । प्रतिवेदन तयार गर्ने उपसचिवलाई कारावही गरियो । उपसचिवलाई पौराणिक सामाग्री उपलव्ध गराउने योगी नरहारिनाथलाई पक्राउ गरियो । संकलित पौराणिक सामाग्रीहरु सबै भारतीय दूतावासमा बुझाइयो । केही समय त राजा महेन्द्रले चितवनको अयोध्यापुुरी गाउँ पञ्चायतको नाम समेत परिवर्तन गरी माणी गाउँ पञ्चायत राखेका थिए । साथै चितवनको लंकु गाउँ पञ्चायतको नाम परिवर्तन गरी भरतपुर नामांकरण गरेका थिए ।

सक्कली अयोध्या नेपालमै भएको यर्थाथतालाई अंग्रेजहरुले राणाशासकको मद्धतले दवाएका थिए । २००७ सालको परिर्वतनपछि लामो समय संक्रमणकालमै गुज्रियो । २०१७ सालपछि राजदरवार आँफैले गरेको प्रयास पनि पञ्चायत टिकाउने शर्तमा तुहाइयो । सारा प्रमाण भारतीय दूताबासमा बुझाइयो । २०४६ सालको परिवर्तनपछि पनि नेपालका शासकहरुले यो मुद्धा उठाउन सकेनन । उल्टो सक्कली लुम्बिनी हाम्रै हो भन्ने कुरा स्थापित गर्न नै सबै ताकत खर्चनु पर्यो । गणतन्त्र स्थापनापछि भने पहिलो पटक निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सानदार रुपमा सक्कली अयोध्या हाम्रै भूमिमा पर्छ भन्ने यर्थाथतालाई उजागर गर्नुभयो । उहाँले आँफूले जानेसम्मका तथ्य र प्रमाणहरु सार्वजनिक गर्नुभयो । तर यतिले मात्रै पुग्दैन । सक्कली अयोध्या क्षेत्र विन्ध्याचल पर्वतको फेदमा पर्ने चितवनको अयोध्यापुरी, पर्साको ठोरी र भारतीय सीमाभित्र रहेको रामनगर क्षेत्रलाई थप प्रचार गर्नु जरुरी छ ।

सेन राज्यको हिँउदकालिन राजधानी रामनगर त अहिले भारतमा पर्ने भएकोले त्यहाँका बसिान्दालाई सुुसुचित गराउनेबाहेक नेपालले खासै केही गर्न सक्ने अवस्था छैन । तर ठोरी र अयोध्यापुरी क्षेत्रलाई समेटेर छिटै गुरुयोजना तयार गर्नुं जरुरी छ । कत्ति पनि बिलम्व गर्नु हुन्न । फाजियाबादको नक्कली अयोध्यामा विश्वकै सबैभन्दा ठूलो मन्दीर निर्माण गर्ने भन्दै भारत सरकारले शिलन्यास समेत गरिसकेको छ । अंग्रेजहरुले अझै पनि साथ दिने भएकोले भोली यही नक्कली अयोध्या नै सक्कली अयोध्याको रुपमा स्थापित हुनसक्छ । यस्तो अवस्थामा सीता जन्मभूमी जनकपुर तथा बाल्मिकी आश्रम पो नक्कली हो कि ? भन्ने कुरा उठ्न सक्छ । किनकी जनकपुर तथा बाल्मिकी आश्रमबाट फाजियावाद निकै लामो दूरीमा छ । त्यसैले फाजियाबाट बाट ५ सय किलोमिटर टाढा रहेको जनकपुर तथा ३ सय ५० किलोमिटर टाढा रहेको बल्मिकी आश्रमका विषयमा शंका उत्पन्न हुनसक्छ ।

रामायण काल्पिनीक साहित्य होइन, बास्तविक घटना हो भन्ने विश्वास भावी पुस्तालाई दिलाउने हो भने इशाईहरुले लखनउ राज्य हडप्ने क्रममा गरेको यो छलकपटलाई यथाशिघ्र उजागर गर्नै पर्छ । भारतीय विद्धानहरु पनि यो मामलिामा संवेदनशील हुनै पर्छ । किनकी भावि पुस्तलाई रामायणको विश्वासनियता माथि नै शंका उत्पन्न भयो भने जति सुकैताम झाम तथा खर्च गरेर फाजियावादमा राममन्दीर निर्माण गरे पनि त्यसले केही उपलव्धी दिन सक्दैन । अर्को कुरा सक्कली अयोध्याको सबै क्षेत्र नेपालमै पर्छ भन्ने पनि होइन । तीन भागको दुई भाग मात्रै हो नेपालमा । अयोध्यापुरी , ठोरी र रामनगर क्षेत्रमध्ये रामनगर त भारतमै पर्छ । यस विषयमा भारतले आपत्ति जनाउँनु भन्दा पनि अंग्रेजको षड्यन्त्रलाई उजागर गर्दै सक्कली अयोध्याको विकासका लागि संयुक्त रुपमा गुरुयोजना बनाएर अघि बढ्नु उपयुक्त हुन्छ ।

सन्दर्भ सामाग्रीहरु

१ योगी नरहरि नाथको अप्रकासित किर्ती ‘हाम्रो आस्था’
२. लखनउको सीपाही व्रिदोह
३ विभिन्न ऐतिहासिक लेख , अभिलेख, जनश्रुति तथा किंवदन्तीहरु