जनता टाइम्स

२८ श्रावण २०७७, बुधबार २०:३५

यसकारण गलत छ प्रचण्ड-माधव समुहको अभियान


त्यसैले पदको लागि गरिएको विधिपद्धतिको रटान कहिले काफल पाक्यो ! कहिले बीउ कुह्यो हुँदै आइरहेको छ । पदको लागि होइन भन्ने गोपनीयता बाहिरै छ्याङ्ङ छ पर्दाले छेकेर केही लुक्दैन । नेताको व्यक्तित्व बनाएका पुष्पकमल दाहाल, प्रचण्ड यतिबेला संकटमा छन् । अब उहाँ अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गर्न सक्ने हैसियत गुमाउदै जानुभएको छ । आफूलाई माधव नेपालको तहमा झारेर, अध्यक्ष र प्रधानमन्त्री खाने धन्धामा लाग्न हुदैनथ्यो उहाँ

देवेन्द्र घिमिरे

बाहिरी आँखाले हेर्दा, नेता–पत्रकार र सरकार पार्टी प्रमुख आमने सामने देखिएको बेला कार्यकर्तालाई कसैले भाउ नदिन सक्छन । ठूला भनिएका मानिएका नेताका कुरा सुनेर धारणा बनाउने प्रचार जगतलाई कार्यकर्ता नेताका पछि–पछि मात्र लाग्छन भन्ने लाग्न पनि सक्छ । कम्युनिष्ट आन्दोलनको इतिहासलाई नबुझेकालाई यस्तो लाग्नु अनौठो होइन ।

अहिले नेकपाको नेतृत्वमा रहेका नेता कार्यकर्ता २०१७ सालको राजा महेन्द्रको प्रजातन्त्रविरूद्धको कू पछिको आन्दोलनबाट आएका हुन । पूर्खादेखि पुस्तासम्मको उद्देश्य र आकांक्षाको निरन्तरता यसमा रहेको छ । २००६ सालको पार्टी गठनका संस्थापक नेतृत्वमा रहेको पंक्ति कताकति मात्र जीवित भएको अवस्था हो यतिबेला । उनीहरूले गरेको आन्दोलनको निरन्तरता र त्यसको परिणामको रूपमा कम्युनिष्ट पार्टी लोकप्रिय भएको हो । नेपालको राजनीतिक परिवर्तनमा अग्रणि भूमिका खेल्दै सामन्ती र पूँजीवादी शक्तिहरूलाई पछि पार्दै गत आम चुनावमा बहुमतको सरकार चलाउने जिम्मेवारी पाएको हो नेकपाले । यो दुईचार जनाले हिजो अस्ति गठन गरेको नयाँ पार्टी होइन ।

२०७२ साल असोजमा देशका दुई वटा कम्युनिष्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आफ्ना पूर्व पार्टीहरू विघटन गरी पार्टी एकीकरण गर्ने घोषणा गरेका थिए । उनीहरूले निर्वाचित हैसियत निरन्तर गरेर दुईटा पार्टीका दुवै जनाको अध्यक्षतामा संख्या तय गरी मनोनय गरेका थिए । यो तदर्थ अवस्था महाधिवेशनबाट सार्वभौम केन्द्र, मार्गदर्शक सिद्धान्तको टुङ्गो लगाउन कृतसङ्कल्पित भएका हुन दुवै अध्यक्षहरू । यसमा कतैबाट घात गरिनु हुँदैन ।

यतिबेला ‘नेकपा सिङ्गो रहँदैन अब !’ भन्ने सडक हल्ला सुनिँदै छ । कतिपय शीर्ष भनिने नेताहरूले पार्टी फुट्दैछ, कार्यकर्ता तयार होउ ! भने भन्ने पनि बजार हल्ला छ । कस्को हित हुन्छ नेकपा फुट्दा ? सबैलाई थाहा छ, यसबाट कम्युनिष्ट विरोधीको चाहाना पूरा हुने हो । उनीहरूका भित्रभित्रै, कतिबेला खुल्ला आफ्ना चाहना, सपना अभिव्यक्त भएका पनि छन । कोभिड १९ को महामारी प्राकृतिक प्रकोपको कहर यही परिवेशमा नेकपामा विग्रह गराउने कम्युनिष्ट आन्दोनलाई निस्तेज बनाएर पछाडि धकेल्ने अहिलेको (दृश्यमा कसैलाई ‘पद खोस्ने’ जस्तो लागे पनि) मूल उद्देश्य हो । अध्यक्ष एवं प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई हटाउँदा सहमति ‘ग’ अनुसार एकीकरण समाप्त हुने हुँदा ‘राजीनामा’ हात्तीका देखाउने दाँत मात्र हुन । यो बखेडाको गुह्य मकसद नेकपालाई छिन्न भिन्न पार्नु नै हो ।

त्यसैले पदको लागि गरिएको विधिपद्धतिको रटान कहिले काफल पाक्यो ! कहिले बीउ कुह्यो हुँदै आइरहेको छ । पदको लागि होइन भन्ने गोपनीयता बाहिरै छ्याङ्ङ छ पर्दाले छेकेर केही लुक्दैन । नेताको व्यक्तित्व बनाएका पुष्पकमल दाहाल, प्रचण्ड यतिबेला संकटमा छन् । अब उहाँ अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गर्न सक्ने हैसियत गुमाउदै जानुभएको छ । आफूलाई माधव नेपालको तहमा झारेर, अध्यक्ष र प्रधानमन्त्री खाने धन्धामा लाग्न हुदैनथ्यो उहाँ । अहिले माधव नेपाललाई उधारो अध्यक्ष दिने महाधिवेशनमा आफूले लिने कमजोर रणनीति सफल नहुने उहाँकै सहकर्मी साथीहरूले समेत भनेका छन ।

जानेर वा नजानेर पार्टी फोर्ने कालो इतिहास नदोहोर्याउनु माधव नेपालको हितमा हुन्छ । २०५४ का एमाले पार्टी फोरूवा माधव–वामदेव दुवैले यस्तो गलत काममा लाग्नु हुँदैन । हालसालै जबजको कुरा बोकेर देश दौडाहामा जाने माधव नेपालले जोक भन्नू भयो रे ! माधव नेपाल जी ! तपाइले जबजबारे कुन पुस्तक कहिलै लेख्नु भाछ र ? तपाइले आठौँ महाधिवेशनमा जेएन खनाललाई समर्थन गरेर छाड्नु भयो । नवौमा केपी (सातांैको प्रतिस्पर्धी) विरूद्ध उठ्नुभयो । के थियो कारण ? अहिले तपाइहरू केपीले पार्टी फुटाउँदैछन् भन्ने आरोप लगाउँदै हुनहुन्छ रे ! सिङ्गो पार्टीका अध्यक्ष बहुमत सरकारका प्रधानमन्त्री राष्ट्रिय हितको अग्रपङ्तिमा रहेका केपीलाई सिंगो बलियो पार्टी चहिन्छ होला कि फुटेको टुक्रे पार्टी ? कुनै तर्कले, इतिहासले, अनुभवले पुष्टि नहुने यस्तो झुठटो कुरा जनस्तरमा समेत खुलाखुलस्त छ ।

भीम रावलको आफू पद बाड्न हाम्रा टाउका गन्ने भन्ने अभिव्यक्ति अन्तरआत्माको आवाज हो ! सकल कार्यकर्ताको आवाज हो । हिजोको एमालेका कार्यकर्ता होऊन् वा हिजोका माआवादी केन्द्रका कार्यकर्ताहरू घर डढाएर खरानीको भाग लगाउने मतिभ्रष्ट नेताका लहैलहैमा पार्टी फोरेर फुलमाला पहिर्याउँछन् भन्ने लागेका भए भ्रम नपाले हुन्छ । जनचाहनामा पाँच वर्षको स्थिर सरकार पनि चल्न दिन्नौँ ! पार्टीलाई महाधिवेशनसम्म पनि चल्न दिन्नौँ भनेर उखर्माउलो मच्चाउने, त्यसलाई विधि प्रकृयाको जलप लगाएर पार्टी फूटको संदेश प्रवाह गर्ने कुरा आजको मात्र गम्भिर विषय होइन । पार्टी गठनदेखि आजसम्म सहिद हुने, जेल काट्ने, यातना व्यहोर्ने, प्रवास, भूमिगत तथा विभिन्न मोर्चामा खटेर निर्माण गरेको पार्टी आम कार्यकर्ता र समर्थक नागरिकको अभिमतका बिपरित आरिस, डाहा र विरोधीलाई मार्गप्रसश्त गर्ने कुरा हो । आन्दोलनको लामो बिरासतमा यसरी कालो पोत्न पाइँदैन । यस्तो कृत्यको कतै अनुमति पाउने छैन ।

अहिले महाधिवेशन तयारीमा नलाग्दै नेकपामा विचारको बहस छैन, सवाल के विषय हो ? अहिलेको मुख लुकाएर पदको मागबाहेक नयाँ केही देखिदैन । ओलीको विकल्पमा नयाँ उर्जावान युवा आउने संकेत वा प्रस्ताव पनि ल्याएको देखिदैन । पुरानै एक पटक वा पटक पटक टेस्टेड नेताको र्याल कढाइबाहेक बेतुकको रडाको मच्चाउनेका पछाडि युवापङ्ति कुनै हालतमा लाग्दैन । भविष्य जहिलेनि युवाको काँधमा हुन्छ । चुलीमा पुगेका थकीत सत्तरीको आसपासकाहरूले हलो अड्काउनु युग बिरोधी हठ हो । यो जीर्ण बुढो पङ्तिले आगामी महाधिवेशन र आम चुनावबाट नयाँ युवालाई मार्ग प्रसश्त गरिदिनु पर्दछ । नेकपालाई अब यही जीर्णपङ्तीले हाँक्ने हैसियत गुमाइसकेको छ । शारीरिक मानसिक दुवै हिसाबले अशक्त भइसकेको छ यो ।

आउने नेतृत्वमा केपी ओली, पुष्पकमल दाहाल, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम समेतलाई अविभावकीय स्थानमा राखेर कार्यकारी नेतृत्वमा नयाँ नेताहरू अघि आउनु पर्दछ । यसो गरिएन भने नेकपाको भविष्य कुडाकर्कट थन्काउने धन्सार त बन्ला, यसको पहलबाट उज्यालो सन्सार बन्दैन । कम्युनिस्ट शैली चरित्रमा दूरदृष्टि र सामुहिक भावनामा आफूलाई ढाल्न भन्दा वर्गबैरीको सिको गर्ने कार्यकर्तालाई कज्याउने मनोवृत्ति नेपालका कम्युनिस्ट नेतामा रहिआएको दीर्घ रोग हो । आलोचना आत्मालोचनाबाट भाग्ने, ठूला कमिटी बनाएर एकोहोरो निर्देशन दिने शैलीले पार्टी चलाउने कुराले व्यवहारमा पिठ्युपछि कुरा काट्ने, कमिटीमा आलोलनालाई बिरोध ठान्ने चाकरी रूचाउने अघोरी बानी बिकास भएको पाइन्छ नेताहरूमा ।

हिजोको एमालेका कार्यकर्ता होऊन् वा हिजोका माआवादी केन्द्रका कार्यकर्ताहरू घर डढाएर खरानीको भाग लगाउने मतिभ्रष्ट नेताका लहैलहैमा पार्टी फोरेर फुलमाला पहिर्याउँछन् भन्ने लागेका भए भ्रम नपाले हुन्छ । जनचाहनामा पाँच वर्षको स्थिर सरकार पनि चल्न दिन्नौँ ! पार्टीलाई महाधिवेशनसम्म पनि चल्न दिन्नौँ भनेर उखर्माउलो मच्चाउने, त्यसलाई विधि प्रकृयाको जलप लगाएर पार्टी फूटको संदेश प्रवाह गर्ने कुरा आजको मात्र गम्भिर विषय होइन

यस्तो परिवेशले आफ्नै नेतालाई निन्दा गर्दै हिँड्ने शैली बढेको छ नेकपामा । एउटा नेताका पछि लाग्ने अवसरवादीहरू अरूलाई ‘तिमी’ सम्म भन्न छाडेको दशकौँ भए । यस्तैबाट नेतालाई उल्क्याउने, पार्टी अलग गर्न लगाउने हुँदैआएको छ भने जनता र देशप्रति निष्ठावान कार्यकर्ताले जहिले पनि पार्टी एकतालाई बलियो बनाउन, नेताले गल्ती गर्न खोज्दा सहीबाटोमा एकताबद्ध गराउने भूमिका निर्वाह गर्दै आएका छन् । मैले सत्तरी वर्ष लागेपछि कुनै पार्टीमा नरहने गरी नवौ महाधिवेशनको अर्को वर्ष नेकपा एमालेबाटै पार्टीका कमिटी र सदस्यता परित्याग गरेको अवस्थामा पनि हिजोका परिचित कार्यकर्ताहरू फोन गरेर नेकपाभित्रको सवालमा भनिदिन, लेख्न अनुरोध गरेको गरेका छन् ।

असी वर्ष लागेका पुराना समर्थकको पीडा सुन्दा ‘कामै गर्न दिएनन ओलीलाई’ भन्ने आक्रोश छ । गाउँशहरका कार्यकर्ताले पनि यो गुनासो सुनेका छन् । उनीहरूको मात्र होइन, जनताले नचाहेको लामो गनगनपछि गणतन्त्र कार्यान्वयनमा सघाउने काम छाडेर अन्तर कलहले जनजीविका र राष्ट्रियता प्रबर्धनमा धक्का लग्ने खतरा बढेको छ । यो जनसरोकारको मुद्दा पनि हो । यसपटक फेरि निजी हित भन्दा माथि सोच्ने बहुसंख्यक कार्यकर्ताको काँधमा नेकपालाई सही बाटोमा, एकताको बाटोमा हिडाउने अतिरिक्त साहसिक काम गर्ने अवस्था आएको छ ! कार्कर्ताको एकताले मात्र अहिले देखापरेको समस्यालाई टालटुल मात्र होइन, दीर्घकालीन ढंगले समाधान निस्कन सक्छ ।

(पुराना कम्युनिष्ट नेता घिमिरे राष्ट्रिय सभाका पूर्वसदस्य तथा जीवराज आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ)