शास्त्रमा लेखिए झै आफ्नो स्वास्थ्यमा ख्याल गरी विरामी, वृद्ध र अशक्तले उपवास बस्नु पर्ने यथार्थलाई कहिल्यै भुल्नु हुँदैन । धर्म र परम्पराका नाममा स्वास्थ्य प्रतिकूल हुने अवस्थामा जो कोही पनि व्रत बस्नु हुँदैन । आफ्नो जीवन वलिदान गरेर व्रत बस्नुको औचित्य पनि हुँदैन। फलफूल, शुद्ध भोजन, भजन कीर्तन, पूजाआराधना, ध्यान तथा शुद्ध आचरणले पनि श्रीमान श्रीमतीले एक आपसमा दीर्घायुको कामना गर्न सकिन्छ
शिला पोख्रेल
सायदै संसारमा एउटा समाजभित्र धेरै किसिमका संस्कार, संस्कृति र परम्पराहरू रहेको र त्यस अन्तर्गत मनाइने धेरै चाड पर्वहरू भएको देश नेपाल नै हो भन्दा अतिसयोक्ती नहोला। नेपाल बहुभाषिक, बहुसाँस्कृतिक र बहुजातीय देश भएकोले नेपालीका आफ्नै मौलिक तथा परम्परागत चाडपर्वहरू धेरै छन् । ती मध्ये तीज अर्थात हरितालिका पर्व विशेष गरेर हामी हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण पर्व हो । तीज पर्व हिन्दु महिलाहरूले मात्र मनाउने नेपाल र नेपालीहरूको मौलिक पर्व हो।नेपालीहरूको बसोबास भएको हरेक देशमा नेपाली महिलाहरूले यो पर्व मनाउँदै आएका छन ।
विशेषगरी तीज पर्व भन्नासाथ चेली बेटी भेटघाट गर्ने, रमाइलो गर्ने, मिठो मिठो पकवान्नहरू पकाएर दर खाने अवसरको रूपमा बुझ्ने गरिन्छ। रातो, हरियो, पहेंलो रङ्गको पहिरनमा सजिने चुरा, पोते लगाउने र विशेष शृंगार गरेर व्रत बसी भगवान शिवको पूजा आराधना गर्ने गरिन्छ। तीज सम्बन्धी विशेष गीतहरू गाउने र नाचगान गर्दै गीतका माध्यमबाट मनका बहहरू पोख्ने पनि गरिन्छ। खासगरी तीजमा महिलाहरू निराहार व्रत बसी पूजाआजा गर्ने चलन कहिलेदेखि सुरु भएको, कसरी सुरु भएको हो र यसको महत्त्व किन छ ? समाजमा यस्को प्रभाव कस्तो रहेको छ भन्ने बारे सानो विवेचना गर्न खोजेकी छु।
कहिले र कसरी मनाइन्छ तिज पर्व ?
हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन तीज मनाउने गरिन्छ भने त्यसको अघिल्लो रात भोलिपल्ट व्रत बस्दा भोक नलागोस भनी द्वितीयाका दिन रातमा मिठा मिठा पकवान्न बनाएर दर खाने गरिन्छ। तीजको दिन निराहार व्रत बसी शिवमन्दिर गई पूजा गरिन्छ भने भोलिपल्ट चौथीका दिन स्नान गरी व्रतको पारायण गरिन्छ । तीजको तेश्रो दिन अर्थात ऋषिपञ्चमीको दिन व्रतालु महिलाहरूले बिहान व्रत बसी ३६५ वटा अपामार्गको दतिवनले दाँत माझेर अपमार्ग तथा माटो लेपन गरी स्नान गरी दिउँसो अरुन्धती सहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, यमदग्नि तथा वशिष्ठ ऋषिहरूको पूजाआजा गर्दछन । सो दिन हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलोको तरकारी खाने चलनको साथै अपमार्गको लेपन गरी नुहाउँदा छालामा हुने रोग भए निको हुने भनाइ रहेको छ । साथै त्यस दिन श्रीमानले पकाएको खाना खाए आपसी आत्मीयता, माया प्रेम एवम् सद्भाव अझै बढ्ने विश्वास पनि गरिन्छ। यसरी दर खाने दिन अर्थात प्रतिपदादेखि पञ्चमीसम्म पूर्ण रूपमा तिज पर्व मनाइन्छ ।
कहिलेदेखि किन मनाउँदै आइएको छ तीज पर्व ?
कहिलेदेखि तीज पर्व मनाउने गरिएको हो भन्ने बारे एकिन तिथिमिति किटान गरिएको नभएपनि पौराणिक कालदेखि मनाउदै आएको भन्नेकुरा धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको पाइन्छ । त्यसैगरी किन मनाइन्छ भन्ने सन्दर्भमा धार्मिक कथनहरूलाई हेर्ने र पढने हो भने हिमालय पुत्री पार्वतीको विवाह भगवान विष्णुसँग गरिदिने पिता, माताको वचन पार्वतीलाई चित्त बुझेको थिएन र उनीमा सानै उमेरदेखि शिवलाई पति पाउँ भन्ने दृढता थियो । सोही कारण माता पार्वतीले शिवलाई मनले पति वरण गरिसकेकी थिइन। सो कुरा उनले आफ्ना सँगी साथीहरूलाई पनि सुनाएकी थिइन्। ती साथीहरूकै सल्लाहमा उनी जङ्गलमा गएर कठोर तपस्या गर्न थालिन । दिव्य एकसय वर्ष तपस्या गर्दा पनि तपस्याको फल प्राप्त नभएपछि पार्वतीले शिवलिङ्ग स्थापना गरी तपस्यालाई थप उचाइमा पुर्याउनको लागि, कठोर र एकाग्र चित्तले तपस्या गरेको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनेर आशिर्वाद दिए र पार्वतीले शिवलाई पति प्राप्त गर्न सफल भइन् भन्ने कुरा उल्लेख गरिएको छ।
तीज वा हरितालिका नाम कसरी रहन गयो ?
तीज पर्व भाद्रशुक्ल पक्ष तृतीयाका दिनमा पर्दछ । यस दिनमा हस्ता नक्षत्र र सोमवार परेमा तीजको महत्त्व बढ्छ । यी तीन चीजबाट जन्मिएको हुनाले त्रीज भन्ने संस्कृत शब्दबाट तीज शब्दको प्रयोग भएको देखिन्छ भने हिमालय पर्वतले छोरी पार्वतीलाई विष्णुस़ँग विवाह गरिदिने कुराको विद्रोह गर्दै पार्वतीका सँगीसाथीहरूले जङ्गलमा लगेर लुकाएर राखेको हुनाले यसलाई हरितालिका भनिएको हो। हरिता ंआलिका हरितालिका भएको र हरिता भन्नाले हरण गरिएको र आलिका भन्नाले साथी अर्थात साथीहरुले हरण गरेर लुकाएकोले हरितालिका नाम रहन गएको भन्ने धार्मिक किम्बदन्ती समेत रहेको छ।
तीज पर्वको धार्मिक, सांस्कृतिक र परम्परागत महत्त्व :
तीज एउटा धार्मिक आस्था र विश्वासमा परापूर्वकालदेखि मान्दै आएको पर्व हो। विवाहित महिलाले श्रीमानको दीर्घायु तथा सुस्वास्थ्यको कामनाको लागि दिन भर निर्जल, निराहार उपवास बस्नुपर्ने धार्मिक मान्यता छ भने पवित्र मन वचनका साथ व्रत बस्दा अविवाहितले समेत चिताएको योग्य वर पाइने धार्मिक मान्यता रहेको छ। त्यस्तै हरितालिका तिजको व्रत सकिएपछि मनाइने पञ्चमीको परम्परागत महत्त्व भने अलि भिन्न रहेको छ। चाहे विवाहित हुन वा अविवाहित सम्पूर्ण नारीले यो दिनलाई आफ्नै लागि मनाउने गर्छन् । पञ्चमीमा टोकिने ३ सय ६५ वटा अपामार्गका दतिवनका डाँठले वर्षभरि जान अन्जानमा भए गरेका कायिक, वाचिक एवं मानसिक गल्तीबाट मुक्ति पाइन्छ भन्ने भनाइ छ। त्यसैगरी यो दिनलाई महिलाको रजस्वलासँग प्रत्यक्ष जोडेर हेर्ने परम्परा पनि रहेको छ । युवतीहरू प्रथम रजस्वलापछि मात्र पञ्चमी पूजामा सरिक हुन्छन् भने विवाहित प्रौढ एवं महिलाहरू रजस्वलाका बखत छुन नहुने चीज वा देवीदेवतालाई भूलवश छोइएको भए पनि दतिवन टोकेपछि सम्पूर्ण पाप पखालिने कुरामा धार्मिक विश्वास रहेको छ।
वास्तवमा तीज हामी महिलाहरूको एउटा महत्त्वपूर्ण पर्व हो। यसलाई महत्त्वपूर्ण पर्वको रूपमै मनाउनु पर्छ भन्ने मेरो धारणा रहेको छ। हाम्रो संस्कृति र परम्परा अनुसार यसको वैज्ञानिक पाटोलाई पनि बुझेर मनाउनु जरुरी छ। यथार्थमा व्रत बसेर श्रीमानको आयु बढने त होईन, यसमा कुनै वैज्ञानिक आधार प्रमाण पनि छैन तर यस पर्वको परम्पराले श्रीमान श्रीमतीबीच अझै आत्मीयता बढने, माया प्रेम झनै प्रगाढ हुने, घर परिवारमा पर्वले उल्लासमय वातावरण बन्ने, साथी सँगीसँग भेटघाट हुँदा मानसिक रूपमा दुःख पीडाहरू भुलाउने आदि यसका व्यावहारिक पक्ष हुन
लेखक शिला प्रोख्रेल
त्यस्तै वैदिक षडदर्शनले स्त्रीलाई प्रकृति मानेको छ। यसर्थ तीजको सम्बन्ध प्रकृति तत्त्व (जड तत्त्व) सँग छ। एक प्रकारले प्रकृति सम्मान, महत्त्व र सामिप्यतालाई यो चाडले आत्मसात् गरेको छ।तात्त्विक रूपमा प्रकृति र पुरुष (आत्मा) तत्त्वको मिलनको चाड हो। प्रकृति र परमात्माको संयुक्त स्वरूपलाई नै हाम्रा दर्शनले ब्रह्म भनेका, मानेका छन् । समस्त जडतत्त्वको समुचित उपयोग, उपदेयता , ज्ञान र संरक्षण जस्ता कुराहरूलाई हाम्रा दर्शनले महत्त्व दिएको पाइन्छ । यसर्थ यो पर्व तात्त्विक दृष्टिकोणले पनि त्यतिकै महत्त्वपूर्ण भएको मानिदै आएको छ । हरेक समाजमा अहिले आफ्नो संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्नुपर्छ भन्ने मान्यता बढदै आएको छ। सायद सामाजिक सञ्जालको प्रयोगले पनि होला चाड पर्व आउनु भन्दा धेरै पहिलेदेखि पर्वहरू आएको छनक दिई रहेको हुन्छ। तीज त महिलाहरूको यस्तो पर्व हो, जस्को महिनौ अगाडिदेखि उत्साहित हुँदै तयारी गर्दै योजनाहरू बनाउने गरिन्छ। यो पर्वमा विशेष गरी चेलीबेटीहरुले रमाईलो गर्ने मिठो मिठो खाने कुराहरू खाने नाचगान गर्ने भएकोले अहिले करिव एक महिना अगाडिदेखि तिजका गीतहरू घरघरमा बज्न थाल्छन् । साथीसँगी, चेलीबेटीहरू एक आपसमा भेट्ने, दर खाने ,नाचगान गरेर रमाइलो गर्ने गर्छन्।
पहिले पहिले गाउँ घरमा कुनै सुविधाहरू हुँदैनथ्यो । न कुनै यातायातको साधन हुन्थे न कुनै सञ्चार सुविधाहरू । चेलीबेटीले आफ्ना दाजुभाइ, बुवा आमालाई भेटन कि तिज आउनु पर्थ्यो कि दसैँतिहार आउनु पर्थ्यौ । बुहारी भएपछि घरको सासूससुराको आदेशमा घरमा केही फुर्सद भएको बेला पारेर मात्र माइत जान पाइन्थ्यो । त्यसैले हरेक वर्ष खेतीपाती सकिएपछि अलि फुर्सद पनि हुने भएकोले तीजको निहुमा माइत जाने साथीसँगी भेट्ने नाच गान गरी रमाइलो गर्ने र माइत जान नपाउनेले गीतमार्फत आफ्ना वेदना पोख्ने परम्परा बस्दै आएको हुनाले तीजका गीतहरूको महत्त्व समेत बढेको हो र यही परम्पराले निरन्तरता पाऊदै आएको देखिन्छ ।
त्यसैगरी हाम्रा सामाजिक सञ्जालहरूले समेत हाम्रो धर्म, संस्कृति तथा परम्पराहरू बचाउन प्रवर्द्धन गर्न धेरै ठुलो भूमिका निर्वाह गरेका छन्। चाड पर्वबारे समयमा सूचनाहरू दिने, साथी सँगीहरूसंग भेट घाट गराउने अबसर जुराउने, तस्बिर खिच्ने, भेटघाट लाइभ गर्ने, चाड पर्वका गीतहरूको टिकटक बनाएर सञ्जालमा राखेर रमाउने आदि कारण सामाजिक सञ्जालले चाड पर्व मनाउन प्रेरित गर्ने गरेका छन। साथ साथै बढी फेसनयुक्त, आडम्बरी र खर्चालु पनि बनाई दिएको कुरो समेत कतै छिप्न सकेको छैन । तीज पर्व एक दुई महिना अगाडिदेखि चेलिबेटी भेटघाटका नाममा सहरका पार्टी प्यालेसहरूमा कार्यक्रमहरू गर्ने महङ्गा फेसनका पहिरहन गहनाहरू प्रदर्शनले कतिलाई सकी नसकी खर्च गर्नु पर्ने बाध्यता परेको हुन सक्छ भने गाउँ घरमा गरिने विभिन्न उत्सवका नाममा अतिरिक्त खर्च गर्ने परिस्थितीको सिर्जना पनि भएको देखिन्छ्।
अन्तमा,
वास्तवमा तीज हामी महिलाहरूको एउटा महत्त्वपूर्ण पर्व हो। यसलाई महत्त्वपूर्ण पर्वको रूपमै मनाउनु पर्छ भन्ने मेरो धारणा रहेको छ। हाम्रो संस्कृति र परम्परा अनुसार यसको वैज्ञानिक पाटोलाई पनि बुझेर मनाउनु जरुरी छ। यथार्थमा व्रत बसेर श्रीमानको आयु बढने त होईन, यसमा कुनै वैज्ञानिक आधार प्रमाण पनि छैन तर यस पर्वको परम्पराले श्रीमान श्रीमतीबीच अझै आत्मीयता बढने, माया प्रेम झनै प्रगाढ हुने, घर परिवारमा पर्वले उल्लासमय वातावरण बन्ने, साथी सँगीसँग भेटघाट हुँदा मानसिक रूपमा दुःख पीडाहरू भुलाउने आदि यसका व्यावहारिक पक्ष हुन । यस व्रतकथाले एउटी महिलाको त्याग, तपस्या र दृढताले आफ्नो चाहना तथा कामना पूरा गर्न सक्छे भन्ने दृष्टान्त तथा शिक्षा दिएको छ।
तीज पर्व महिलाले मात्र होइन, पुरुषले पनि मनाउनु पर्छ भन्ने मान्यता मैले राखेकी छु किनकि धार्मिक मान्यतालाई विश्वास गर्दा पनि श्रीमतीलाई अर्धाङ्गिनी मानिन्छ अर्थात् श्रीमान श्रीमती आधा आधा अङ्ग हुन्, आधा अङ्गको मात्र आयु बढेर कहाँ हुन्छ र पूरा अङ्गको आयु बढाउनु पर्ने हुन्छ। हाम्रो दाम्पत्य जीवन आरोग्य दीर्घायु हुन श्रीमान श्रीमती दुबै व्रत बस्नु आवश्यक देख्दछु। साथै शास्त्रमा लेखिए झै आफ्नो स्वास्थ्यमा ख्याल गरी विरामी, वृद्ध र अशक्तले उपवास बस्नु पर्ने यथार्थलाई कहिल्यै भुल्नु हुँदैन । धर्म र परम्पराका नाममा स्वास्थ्य प्रतिकूल हुने अवस्थामा जो कोही पनि व्रत बस्नु हुँदैन । आफ्नो जीवन वलिदान गरेर व्रत बस्नुको औचित्य पनि हुँदैन। फलफूल, शुद्ध भोजन, भजन कीर्तन, पूजाआराधना, ध्यान तथा शुद्ध आचरणले पनि श्रीमान श्रीमतीले एक आपसमा दीर्घायुको कामना गर्न सकिन्छ।
(लेखक पोख्रेल पाटन संयुक्त क्याम्पस उपप्राध्यापक हुनुहुन्छ )
प्रतिक्रिया दिनुहोस्