जनता टाइम्स

२३ भाद्र २०७७, मंगलवार ०९:३४

साक्षर नेपाल अभियान समृद्ध नेपाल-सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने आधारभूमि हो : प्रधानमन्त्री


काठमाडौं, भदौ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले साक्षर नेपाल निर्माण गर्ने अभियान समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने आधारभूमि रहेको प्रष्ट पार्नुभएको छ । ५४ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस अभियानलाई सफल पार्न सम्बन्धित सम्पूर्ण तह रचनात्मक र सिर्जनात्मक रुपमा सक्रिय रहने विश्वास ब्यक्त गर्नुभएको छ ।

यस्तो छ प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको शुभकामना सन्देश

५४ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मी र सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । साक्षर नेपाल निर्माणको अभियान सफल तुल्याई साक्षरोत्तर शैक्षिक भविश्य सुनिश्चित गर्ने सफलताका लागि समेत यस अवसरमा शुभकामना दिन चाहन्छु ।

हाम्रो संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निस्शुल्क तथा माध्यमिक तहको शिक्षा निशुल्क पाउने हक सुनिश्चित गरेको छ । यस्तो संवैधानिक सुनिश्चिततालाई हामीले कार्यान्वयन गरेका छौं । विद्यालय जाने उमेर नाघेका नागरिकहरुका निमित्त जीवन उपयोगी शिक्षाका अवसरहरु प्रदान गर्दै जीवन पर्यन्त सिकाइका अवसरहरु जुटाउने विषय समेत सरकारको प्राथमिकतामा छ । यसका निमित्त साक्षरता तथा साक्षरोत्तर कार्यक्रमका साथै स्वअध्ययनलाई प्रवद्र्धन गर्ने कार्यक्रमहरु सञ्चालनमा रहेका छन् । साक्षर तथा साक्षरोत्तर कार्यक्रमहरुको सञ्चालनमा स्थानीय तहको भूमिका अत्यन्त महत्वपूर्ण रहन्छ र सामुदायिक अध्ययन केन्द्रहरुको परिचालनबाट टोल टोलसम्म यी कार्यक्रमहरु पुर्याउन सम्भव भएको छ । अर्कातिर आर्जित ज्ञानको प्रमाणीकरण र समकक्षता निर्धारणका सन्दर्भमा भरपर्दो पद्धति बनाउने कुरा पनि उत्तिकै महत्वपूर्ण छ ।

नेपालको संविधान, २०७२ को अनुसूची ८ मा अनौपचारिक शिक्षा साक्षरता लगायतका विद्यालय शिक्षाको व्यवस्थापनको विषय स्थानीय तहको अधिकारक्षेत्र अन्तर्गत समावेश गरिएको छ । यस अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा आधारभूत र माध्यमिक शिक्षा लगायत अनौपचारिक खुला तथा वैकल्पिक निरन्तर सिकाइ, विशेष शिक्षा र समुदायमा सञ्चालन हुने सिकाइका कार्यक्रम सम्वन्धी नीति, कानुन, मापदण्ड, योजना कार्यान्वयन, अनुगमन मूल्याङ्कन नियमन लगायतका कार्यहरु स्थानीय तहले गर्ने गरी तोकिएको छ । यसलाई प्रभावकारी बनाउन सम्बद्ध सबै तहहरुलाई हार्दिक आह्वान गर्दछु ।

नेपाल सरकारले १५ वर्ष र सोभन्दा माथिको उमेर समूहका सबै नेपाली नागरिकहरुलाई न्यूनतम साक्षरताको अवसर प्रदान गर्ने र जीवन पर्यन्त सिकाइको आधार तयार गर्ने उद्देश्य राखेको छ । यसका लागि हामीले साक्षर नेपाल वर्षको अवधारणा पत्र २०७६ स्वीकृत गरेका छौं । यसको सफल कार्यान्वयनमा प्रभावकारिता, सहजता, स्पष्टता र एकरुपता ल्याउन स्थानीय तह प्रदेश लगायत सम्वन्धित निकाय, संघ संस्था र सरोकारवालाहरुको अझै सक्रिय भूमिका आवश्यक छ । साक्षर नेपाल निर्माणको उद्देश्य पूरा गर्न यी सबै निकायहरुको रचनात्मक र सक्रिय भूमिका मैले अपेक्षा गरेको छु ।

हामी मुलुकलाई अविकासबाट विकासतिर, बिपन्नताबाट सम्पन्नतातिर, आंशिक साक्षरताबाट पूर्ण साक्षरतातिर अग्रसर गराइरहेका छौं । यस मार्फत सम्मृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांङ्क्षा पूरा गर्ने हाम्रो संकल्प छ । साक्षर नेपाल निर्माण गर्ने हाम्रो अभियान समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने आधारभूमि हो । तसर्थ यस अभियानलाई सफल पार्न सम्बन्धित सम्पूर्ण तह रचनात्मक र सिर्जनात्मक रुपमा सक्रिय रहने छन् भन्ने विश्वास लिएको छु ।

यतिबेला विश्वजगत कोभिड– १९ को महामारी सामना गरिरहेको छ । संसारसँगै हामी पनि कोभिड– १९ को संङ्क्रामक रोग, त्यसबाट उत्पन्न मानवीय क्षति ब्यहोरिरहेका छौं । जनता र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा यसले पुर्याएको क्षतिबाट माथि उठ्ने चुनौति हाम्रा सामु छ । त्यसैले दीगो विकास सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको लक्ष्य हासिल गर्न हामीले कामको रफ्तार बृद्धि गर्नु पर्ने छ । नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिवद्धता कार्यान्वयन गर्न उद्देश्य उनुरुप साक्षर नेपालको अभियान अगाडी बढाइरहेका छौं । निरक्षर नेपालीलाई साक्षर बनाउनु हाम्रो मूख्य लक्ष्य हो । हालसम्म ५३ जिल्ला पूर्ण साक्षर घोषणा भैसकेका छन् । आगामी दिनहरुमा वाँकी रहेका जिल्लाहरुको साक्षरता अभियान सञ्चालन गरी साक्षर नेपालको घोषणा गर्नेतर्फ सरकार केन्द्रित छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसको यस अवसरमा मेरो आग्रह छ– हामी सवै मिलेर साक्षर नेपाल अभियानलाई सफल पारौं ।

अन्त्यमा, आजको संङ्कट सँगै ५४ औँ साक्षरता दिवसको अवसरमा साक्षरता र सामाजिक सचेतनाका साथ कोभिड १९ को संङ्कट सामना गरौं । तत्पश्चात् साक्षरता, शिक्षण तथा सिकाइमा शिक्षार्थीको भूमिका (Literacy teaching and learning in Covid 19 crisis and beyond with focus on the role of educators and changing pedagogies ) भन्ने मुख्य मान्यताका साथ अगाडी बढ्न यस दिवस सफल रहोस् भन्ने शुभेच्छासाथ हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

२३ भदौ २०७७