मूख्य समाचारविचार / ब्लगशिक्षा / स्वास्थ्यसमाज

त्यसो गर्न नसक्नु हाम्रो कमजोरी हो 

कोरोना­ भाइरसलाई मार्यो भने आयुर्वेदले मार्छ, अरू कुनै विधाले मार्दैन । मैले डक्टरको भेलामा पनि भनेँ– गाउँघरमा साबुन नहुन पनि सक्छ । त्यसकारणले हामीले साबुन पानीले हात धोऔँ भनेर मात्रै पनि पुग्दैन । साबुन छैन भने खरानी पानीले हात धोऔँ भन्दियो भने खरानी पानी साबुन पानीभन्दा बढी प्रभावकारी हुन्छ । यतातिरको व्यापक ज्ञान किन नराख्ने ?

प्रधानमन्त्री केपी शर्मा ओली

आयुर्वेद र यसको महत्व, इतिहास र प्राथमिकताका बारेमा केही भनिरहन पर्दैन । योगको सुरुवातकर्ता ‘शिव’बाट शैव दर्शन अथवा शाङ्ख्य दर्शनबाट योगको सुरुवात गर्ने कपिलमुनि अथवा अरू वैदिक समयका कुरा गरौँ– उसैबेलादेखि हाम्रो विश्वमा गर्वलायकको परम्परा रह्यो । औषधि विज्ञानको प्रादूर्भाव यसै भूभागमा भयो । त्यतिबेला रासायनिक विधिबाट औषधि निर्माण र उपचार गर्ने विधि थिएन । जडीबुटीबाट औषधि निर्माण गर्ने विधि थियो । वास्तवमा रासायनिक विधिबाट बनाइने औषधिको अनिवार्य रूपमा ‘साइड इफेक्ट’ हुन्छ । प्रकृतिले सबै कुरा बनाएको हुन्छ ।

के खान हुने, के खान नहुने ? के कति खायो भने कसो हुने ?, के कति खायो भने के हुन्छ ? मौसम, अवस्था आदि अनेक कारणले विभिन्न स्वास्थ्य स्थिति उत्पन्न हुन सक्छन । कुन स्वास्थ्य स्थितिमा कुन चाहिँ प्राकृतिक उपजले निको पार्छ ? ढुङ्गाबाट निस्किएको सिलाजितले होस कि माटोको एउटा रूपमा आएको सिम्रिकले होस अथवा झारपातका रूपमा आएका विभिन्न जडीबुटीले होस्– माटो, ढुङ्गा सबैमा औषधीय गुण छ । कस्तो माटोको के, कहाँ माटोको लेप लगाउनेदेखि जडीबुटीमा अर्थ छ । माला, चन्दनमा अर्थ छन ।

इतिहास, इतिहासका मर्महरू वा हामीले हाम्रो प्रकृतिलाई नबुझीकन अथवा त्यो प्रकृतिलाई हाम्रा पूर्वजहरूले कसरी चिनेका– प्रयोग गरेका थिए ? त्यसो गर्न नसक्नु हाम्रो कमजोरी हो । हाम्रा पुर्खाहरू यस्ता इनोभेटिभ (नवप्रवर्तक) थिए, जसले नचाखेको कुनै रूख बिरुवाको जरा, पात, बोक्रा, पूmल, फल पनि छैन । यसैकारण रस, गन्थ, स्वाद, गुण, पाकमा केके हुन्छ भन्ने प्रयोग गरेका छन् । धन्वन्तरी, चरक संहिता, अश्विनीकुमार अथवा पतञ्जलि जे सम्झनुहोस– हजारौँ वर्षको एउटा औषधि विज्ञानको आफ्नो परम्परा रही आयो ।

एउटा मात्र हाम्रो कमी थियो । त्यसलाई आयुर्वेदमा अभाव भन्न मिल्दैन । ‘मेसिन’ एलोपेथिक होइन, मेसिन मानवनिर्मित यन्त्र वस्तु हो, चाहे एलोपेथिक वा आयुर्वेदले प्रयोग गरोस । त्यसकारण हामीले प्रयोग÷परीक्षणका लागि मेसिनको प्रयोग गर्नु आयातीत होइन, विकसित वस्तु हो । प्रयोगशाला (ल्याब­­) हरू विकसित हुन् । जसले प्रयोग गरेर अनुभव हासिल गर्छ, त्यही हो विधि । एलोपेथिकबाट वा ल्याबबाट सापटी लिएको भन्ने कुरा गर्ने होइन । आयुर्वेदलाई यो खलको समस्या भनेर भन्ने थियो नि । त्यो खल आधारित होइन । त्यसभन्दा माथि उठाउनुपर्छ हामीले । अब हामीले खलमा पिसेर होइन कि त्यसभन्दा माथि उठाउनुपर्छ । खल त गाउँघरमा प्रयोग गर्छन । हाम्रा अस्पताल खलभन्दा माथि उठ्नुपर्यो । विधि माथि उठ्नुपर्यो । यसका लागि मेसिनहरू सबै एलोपेथिक रूपमा होइन भन्ने थाहा पाउनुपर्यो । मेसिन आयुर्वेदले पनि प्रयोग गर्न सक्छ, अरूले पनि प्रयोग गर्न सक्छन् ।

कसरी हामी मेडिसिन उत्पादन गर्न सक्छौँ ? कसरी हामी मेडिसिन प्राप्त गर्न सक्छौँ ? भन्ने कुरा मात्रै हो त्यो । मेसिन आयुर्वेदले पनि प्रयोग गर्न सक्छ, अरूले पनि प्रयोग गर्न सक्छन् । मेडिसिन (औषधि) को विधि मात्रै एलोपेथिक, आयुर्वेदिक हो । मेडिसिन उत्पादन गर्ने विधि अलग कुरा हो । कसरी हामी मेडिसिन उत्पादन गर्न सक्छौँ, कसरी हामी मेडिसिन प्राप्त गर्न सक्छौँ भन्ने कुरा मात्रै हो त्यो । प्राकृतिक हिसाबले प्राप्त गर्छौं भने आयुर्वेदिक हो । आर्टिफिसयल (कृत्रिम) ढङ्गले उत्पादन गर्छौं भने एलोपेथिक हो । त्यो मात्रै फरक हो अरू मेसिन, औजार, ल्याब, इक्युपमेन्ट, एक्सरे सबै कुरा एलोपेथिक होइनन् ।

यो आयुर्वेदिक भनेको प्रयोगशाला नभएको, ‘एक्स रे’ नभएको भन्ने गरिन्छ । एक्स रे भन्ने चाहिँ कहाँ एलोपेथिक हो त ? रासायनिक विधिबाट निर्माण गरिएको औषधिलाई हामी एलोपेथिक भन्छौँ । तर यो त आयुर्वेदभन्दा पृथक्, आयुर्वेद विरोधी, आयुर्वेदसँग नमिल्ने कुरा त होइन । त्यसकारण यसलाई हामीले समायोजन गर्नुछ । ऋषिमुनिहरू यसका प्रयोगकर्ता हुन । तिनीहरूको उदगम स्थल हेर्यो भने कोसी, कालीगण्डकीका किनारतिरैका आसपासका छन् । आयुर्वेदमा हामीले ठूलो विकास गरेका थियौँ । दुर्भाग्यवश, अनेक कुरामा हामी केही शताब्दी पछाडि पर्यौँ । यसलाई हामीले समयानुकूल विकास गर्नुछ । अझ बढी प्रयोग, परीक्षण, अनुसन्धान, थप पहिचान, जडीबुटीको संरक्षण, उत्पादन, सङ्कलन, प्रशोधन गर्न जरुरी छ । आयुर्वेदिक औषधिलाई हामीले ट्याब्लेट, क्याप्सुल बनाउन नहुने भन्ने छैन । निश्चित मात्रा मिलाउँदा त्यो झन् ‘ओरिजनल’ औषधि हो– प्रकृतिबाट उत्पन्न भएको शरीरसँग मिल्ने ।

हामीले अहिले स्वास्थ्यसम्बन्धी नीतिलाई दुई भागमा बाँडेका छौँ । मूल नीति ‘निरोगी नेपाल’ हो । निरोगी नेपाल आयुर्वेदले निर्माण गर्छ । रोग लागिहाल्यो, बिरामी भइयो भने उपचार गर्ने आयुर्वेद, होमियोप्याथी वा युनानी वा प्राकृतिक विभिन्न चिकित्सा प्रणाली छन । आयुर्वेद महत्वपूर्ण छ । हाम्रो नियमित खानपिन औषधिमय छ । हाम्रा पूर्वजले अनुभवजन्य प्रयोग सिकाएका छन– जिराले ज्वरो आउन दिँदैन । बेसारले रोगको ‘एन्टिबायोटिक’को काम गर्छ । त्यसले आरोग्यता, निरोगिताको विकास गर्छ । बारीबाट फर्सीको मुन्टा, रायोको साग टिपेर ल्याउने, दाल, भात, अचार खाने हो । ‘फ्रिज’मा राखेर खाने हाम्रो परम्परा होइन । बासी खानुहुँदैन भन्ने हाम्रो परम्परा हो । यसैले निरोगी नेपाल बनाउने कुरामा आयुर्वेद विधाको असाधारण महत्व छ ।

 कसरी निर्माण गर्ने त निरोगी नेपाल ?

भविष्यमा पनि भाइरस आउन सक्छन । हामीले निरोगी नेपाल, स्वस्थ नागरिक कसरी बनाउने ? प्रतिरोधी क्षमता ज्यादै बलियो भएका नागरिक कसरी बनाउने ? यसै पनि नेपालीसँग प्रतिरोधी क्षमता राम्रो छ, दह्रो छ । हामी लसुन, प्याज, अदुवा, मरिच, बेसार, टिमुर खाने गर्छौं, जसले शरीरलाई प्रतिरोधी क्षमता दिने, औषधि दिने, औषधीय गुणको काम गर्छ । मैले औषधि विज्ञानको कुरा गर्दा कतिपय मान्छेलाई चित्त दुख्छ । आयुर्वेदको प्रचार गर्यो, बेसार, अदुवाको प्रचार गर्यो… बेसार खाएर हुन्थ्यो भनेदेखि किन केही गर्नुपथ्र्यो ? भन्छन् । भोलि तिनले भात, रोटी खाएर हुन्थ्यो भने किन औैषधि खानुपथ्र्यो भन्न बेर लगाउँदैनन् ।

अहिले मलाई भुटेको मकै र भटमास खायो भने दाँत त्यसैसँग जाला कि भन्ने पीर हुन्छ । हाम्री हजुरआमाले नीमको डाँठले बिहानबेलुका दुई पटक ब्रस (दाँत माझ्ने) गर्नुहुन्थ्यो । नीमको डाँठले ब्रस गर्यो भने सम्भवतः अरू कुनै औषधिले भन्दा बलिया दाँत हुन्छन होला । हजुरआमा एकपटक पनि डाक्टरकहाँ जानुभएन । अलिकति ज्वरो आयो भने जिरापानी, टिम्मुरपानी केही उमालेर खानुहुन्थ्यो । यसले निको हुन्थ्यो । आफ्नै अनुभव घरेलु औषधिमा मान्छेलाई विश्वास नभएको देख्दा मलाई छक्क लाग्छ ।

आफ्नै अनुभव

म आफैँलाई एक हप्ता रुघा लाग्थ्यो । अनि ‘एन्टिबायोटिक’ नखाईकन निको हुँदैनथ्यो । सात दिन खायो अनि निको हुन्थ्यो । फेरि सात दिनपछि फेरि रुघा… । म गाउँमा जाँँदा एक जनाले भने– तपाईंको यो ‘एलर्जिक’ रुघा हो । बिहान, बेलुका दुई पटक, सक्नुहुन्न भने बिहान एक पटक नत्र बेलुका सुत्ने बेलामा धाराबाट पानी हातमा लिने, हल्का रूपमा स्वाट्ट नाक भित्रसम्म पुर्याउने होइन कि हल्का लिने र स्याक्स्याक् गर्ने र फ्याँकिदिने । त्यसो गरेर २०/२५ पटक नाक सफा गर्यो भने तपाईंलाई रुघा लाग्न छाड्छ । होला र ? त्यही पनि गरिहालौँ भनेँ । अहिले रुघा लाग्दैन । त्यो नियमित गर्छु म । अब त्यसो नगर्दा रुघा लाग्छ कि लाग्दैन थाहा छैन । त्यो एलर्जी भागेको ३०औँ वर्ष भयो । त्यस्तो घरेलु साधारण कुरामा स्वास्थ्यका कुरा निर्भर हुँदा रहेछन् । त्यसकारण दीर्घकालीन रूपमा निरोगी नेपाल बनाउन आयुर्वेदको विश्वास, विकास र प्रचार नै मुख्य कुरा हो ।

सम्भावना

उपचार त गर्नैपर्छ । त्यसकारण हामीलाई एलोप्याथिक उपचार प्रणाली पनि चाहिन्छ । खुट्टा भाँचिएला, दुर्घटना होला, प्रसूति सेवाका केस होलान, सर्जरी गर्नुपर्ला । आयुर्वेदमा सर्जरी विधा छैन । अब अहिले यो कोभिड–१९ मा दुईवटा पक्ष छन् । एउटा आयुर्वेद औषधि यस्तो बेलामा नितान्त प्रयोगात्मक मात्र गर्नुहुँदैन । मान्छे ‘गिनीपिग’ (प्रयोग मुसा) होइन । त्यसलाई प्रभावकारी हुने खालका, त्यसको पृष्ठभूमिमा अहिले प्रयोग गरिएर राम्रो नतिजा दिने प्रयोग गर्न जरुरी छ ।

मैले धेरै ठाउँमा सुनेको छु– थुप्रै कुराको उपचार एलोपेथिकभन्दा बढ्ता आयुर्वेद इफेक्टिभ (प्रभावकारी) छ । मेरो भाइ मृगी रोगले ग्रस्त थियो । दिनमा चार/पाँच पटक हुन थालेको थियो । डाक्टरलाई देखाउँदा, औषधि खुवाउँदा केही गर्दा पनि भएको थिएन । अब अप्रेसन गर्नुपर्छ भन्ने स्टेजमा थियो । अप्रेसन गर्ने मात्र उपाय हो भन्ने थियो । एउटा सामान्य जोगी आइपुग्यो ऊ (भाइ) लडेर फट्याक फट्याक गरिराखेको बेलामा । अनि जोगीले भने बमोजिमको औषधि (बुटी ख्वाउँदा) ले ठीक भयो । त्यस बेलादेखि २०औँ २५औँ वर्ष भयो, अहिलेसम्म एक पटक पनि उसलाई छारे रोग, मृगी भएको छैन । यो कुरा एलोपेथीले गर्न सक्दैन । जुन आयुर्वेदले प्रामाणिक रूपमा हाम्रै अगाडि गरेको छ । ती साधु को थिए ? कहाँबाट आएका थिए ? के औषधि थियो ? त्यो उनले बताएनन पनि ।

अब हामीले यति बेला दुईवटै काम गर्नुपर्ने छ । एउटा, संस्थागत, संरचनागत रूपमा अथवा विभिन्न ढङ्गले जडीबुटीको खेती, सङ्कलनका रूपमा । दीर्घकालीन रूपमा अस्पतालको निर्माण अथवा यसको शिक्षाको विस्तार गर्ने । आयुर्वेद तर्फमा निरोगी राख्ने एउटा जीवन प्रणाली हो– योग । शारीरिक रूपमा तन्दुरुस्त राख्ने प्रणाली । योग जस्तो प्रणाली अरू कुनै विधामा छैन । जुनसुकै व्यायाम सिकाओस् तर स्वाँस्वाँ, फ्याँफ्याँ गर्ने हुन सक्छ तर प्राण नियन्त्रण गरेर नियन्त्रित ढङ्गले लाने प्राणायामको विधि अन्यत्र छैन । हामी योगमाया विश्वविद्यालय खोल्दैछौँ यसै सन्दर्भमा । त्यो विश्वका लागि एउटा नमुना हुन सकोस् । त्यसले विश्वको ध्यानाकर्षण मात्रै होइन, विश्वलाई त्यस विधि, प्रणालीमा नतमस्तक हुने स्थिति बनोस । हामी जीवनका संरक्षक हौँ । त्यसकारण आयुर्वेदले त्यो भूमिका खेल्ने, अहिलेको कोभिडमा के गर्ने, कसरी जाने, कसरी त्यस अभियानलाई अगाडि लैजाने र तपाईंहरूले जुन सफलता प्राप्त गर्नुभएको छ त्यसलाई कसरी लाने भन्ने कुरामा ध्यान जानु जरुरी छ ।

यी कुरा सञ्चार माध्यमबाट प्रचार प्रसार गर्न जरुरी छ । कोरोना­ भाइरसलाई मार्यो भने आयुर्वेदले मार्छ, अरू कुनै विधाले मार्दैन । मैले डक्टरको भेलामा पनि भनेँ– गाउँघरमा साबुन नहुन पनि सक्छ । त्यसकारणले हामीले साबुन पानीले हात धोऔँ भनेर मात्रै पनि पुग्दैन । साबुन छैन भने खरानी पानीले हात धोऔँ भन्दियो भने खरानी पानी साबुन पानीभन्दा बढी प्रभावकारी हुन्छ । यतातिरको व्यापक ज्ञान किन नराख्ने ? अलिअलि युट्युबमा पाइन्छन् । के खाँदा के हुन्छ, के खाँदा के हुन्छ भन्ने । अलिअलि आचार्य बालकृष्णले पनि प्रचार गर्नुहुन्छ । हाम्रोतर्फबाट धेरै प्रचार भइराख्या छैन । त्यसकारण हाम्रो सङ्गठित विश्वसनीय, एक ढङ्गले प्रयोगबाट परीक्षित र प्रमाणित भइसकेको त्यस्तो विधिलाई हामीले पनि प्रचार गर्नुपर्छ ।

सरकारका तर्फबाट आयुर्वेद क्षेत्रको विकासका लागि अहिले विश्वविद्यालयको गठन आदेश गरेर त्यसलाई अगाडि बढाएका छौँ । सरकारले रकम निकासा, जमिन उपलब्ध गराउन, भवन बनाइदिन सक्छ । त्यसमा ज्ञान र विकासको काम तपाईंहरूले गर्नुपर्ने हुन्छ । एउटा कुरा के ख्याल राख्नुपर्छ भने यो पनि मेरो, त्यो पनि मेरो भन्ने नहोस् । हाम्रो देश जडीबुटीको देश हो । हामीले रामायणमा हेर्यौँ भने पनि लक्ष्मण बेहोस हुँदा सञ्जीवनी बुटी खोज्न हिमालय पर्वतमा पठाइएको थियो । हिमालय भनेको औषधिको थलो हो । नेपाली भूमि नै औषधिमय छ । यो ज्ञानमय छ, ध्यानमय छ, औषधिमय छ । त्यसैकारण यसलाई ज्ञानभूमि, ध्यानभूमि, पुण्यभूमि, देवभूमि भन्ने गरिन्छ । केही शताब्दी यता हामी बन्द समाजमा पर्यौँ– लकडाउन (बन्दाबन्दी) जस्तै । त्यसले हामीलाई शिक्षा, स्वास्थ्य, विकासका सारा पक्षमा हामीलाई पछाडि पारिदियो तर यही देशका विद्वान्ले अक्षर, अङ्क र शून्य आविष्कार गरे, बाँकी भूभाग अन्धकारमा हुँदा धर्तीको मात्रै होइन, अन्तरिक्षका ग्रह नक्षत्र गनेर खगोलको अध्ययन गरेका थिए । के अधिक मासको याद हामीले गरेका थियौँ कि पुर्खाले ? चन्द्र ग्रहण, सूर्य ग्रहण आजको आविष्कार होइन ।

बाँकी दुनियाँ अन्धकारमा हुँदा हाम्रा पुर्खा अन्तरिक्षका तारा, नक्षत्र गनेर हिसाब किताब गर्दथे । गुरुत्वाकर्षणको सिद्धान्त न्युटनले पत्ता लगाए भन्छौँ । उनीभन्दा अगाडि ग्यालिलियोले धेरै प्रयास गरे भन्छन् तर त्योभन्दा धेरै वर्ष अगाडि, पाँच÷छ सय वर्ष अगाडि भाष्कराचार्यले गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाएका थिए, पृथ्वी गोलो छ भन्ने कुरा पत्ता लगाएका थिए । उनले आफ्नो गणितबाट पृथ्वीको व्यास कति छ, पृथ्वीको गोलाइ कति छ ? निकालेका थिए । उतिबेला वैज्ञानिकले गणित भनेको नौ ग्रह, साइन्स (विज्ञान)ले पछि सात ग्रहभन्दा बढी मानेन । अलिक पछि आठ वटा रहेछन भनेर मान्यो, पछि नौ वटा रहेछन भनेर मान्यो । नवग्रह छन भनेर विज्ञानले पछि मानेको हो ।

भाष्कराचार्यले ११५० मा नै ग्र्याभिटेसनको सिद्धान्त पत्ता लगाएका थिए र पृथ्वी गोलो छ भन्ने पत्ता लगाएका थिए । पृथ्वीको गोलाइ कति छ, चन्द्रमासँग दूरी कति छ ? ग्र्याभिटेसनको कारणले समुद्रको पानी किन ज्वार भएर उठ्छ आदि कुरा पत्ता लगाएका थिए । किन माथिबाट तल वस्तु झर्छ ? त्यो पत्ता लगाएका थिए । उनको ‘सिद्धान्त शिरोमणि’ भन्ने पुस्तक १२१० मा प्रकाशित भएको थियो । विचित्र के भने आज त्यसको विश्वभरि पढाइ हुन्छ, १२१० मा त्यसले भनेको कुरा दुनियाँ सुन्दैन । स्विजरल्यान्डमा जुन ‘ब्ल्याक होल’ भन्ने समयसम्बन्धी तीन वटा सिद्धान्त प्रतिपादन गरिएका छन्, त्यसमा सहमति हुनु/नहुनु आफ्नो ठाउँमा होला, त्यसमा भाष्कराचार्य लेखेको भेटियो । देवनागरी लिपिमा भाष्कराचार्य द्वितीय भनेर लेखेको छ । उनको नाम त्यहाँ लेखियो तर उनको योगदान के हो त ? खोइ त्यो योगदान ? अझै पनि हामी ग्र्याभिटेसनको नियम पत्ता लगाउने न्युटन भनिराखेको छौँ, जो छ सय वर्ष पछिको कुरा हो । हामीकहाँ जो छ त्यो प्रकट भएर पनि प्रकट हुन पाएन ।

हो, उम्रिएर पनि हाम्रै धर्तीभित्रै छ किनभने हाम्रोमा उम्रियो । हाम्रोमा उम्रिएको हुनाले उम्रिएको मानिएन ! जसले थाहा पायो त्यसले छोपछाप पार्यो । त्यो उसको ठाउँको होइन, हाम्रो ठाउँको हो । आजको जमाना हामीले आविष्कार गरेका ‘कपिराइट क्लेम’ गर्ने कुरा गर्न सक्छौँ । जस्तो चुरे शृङ्खलाको फेदमा पाइने कुचिला औषधीय गुण भएको ‘मेडिकल प्लान्ट’ हो भन्ने मानिन्छ । अन्यत्र दुनियाँमा पाइँदैन । यसको उत्पादन र व्यापार गर्यौँ भने असाधारण उन्नति गर्न सक्छौँ भन्ने केही अनुसन्धानकर्ताको भनाइ छ । यार्सागुम्बा अन्यत्र पाइँदैन । यार्सागुम्बा औषधि नै हो । यो परम्पराबाट हामी आयौँ । प्रकृतिले दिएको चुरेको फेददेखि हिमालको हिउँ हुने स्थानसम्म औषधिमय भूमि, वातावरण हामीसँग छ । अब यसलाई कसरी अगाडि बढाउने ? भन्ने सन्दर्भमा तपाईंहरूका सुझाव छन्– योगमाया विश्वविद्यालय, नरदेवी, अरू आयुर्वेद कलेजको सम्बन्धमा पनि । यसमा बजेटको अभाव वा न्यून रहेको सम्बन्धमा, अनि वैकल्पिक चिकित्साको कुरा छ ।

आयुर्वेदिक ओरिजिनल (खास्सा–रैथाने) चिकित्सा प्रणाली हो । त्यसकारण यसलाई वैकल्पिकमा राख्न हुन्न । आयुर्वेदिक प्रणालीभित्र योग पनि पर्छ । आयुर्वेद औषधि विज्ञान मात्र होइन, आरोग्य विज्ञान पनि हो । यी दुई पक्षलाई सुदृढ गर्ने काममा अलिकति अन्डरमाइन्ड (बेवास्ता) भएको छ । शिक्षा बजेटको वा चिकित्सा बजेटको दुई प्रतिशत बजेट छुट्याइन्छ । ९८ प्रतिशत अरू विधामा छुट्याइन्छ । बजेटको यस प्रकारको वितरणले हाम्रो निरोगी नेपालको सपना पनि पूरा हुँदैन । त्यस कारणले यसलाई सच्याइनुपर्छ, नत्र निरोगी नेपाल बनाउन हामी सक्दैनौँ । अस्पताल भनेको अपरिहार्य परिआउँदा जाने ठाउँ हो । नत्र साधारणतया हामीले जनतालाई निरोगी राख्ने हो । अङ्ग प्रत्यङ्ग शिथिल हुँदै जान्छन्, प्राकृतिक नियम हो । त्यसको उपचार पनि खोज्दै जानुपर्छ । आकस्मिक रूपमा कतिपय दुर्घटना होलान, यस्ता ट्रमाका कुरामा पनि ध्यान दिनुपर्छ । अस्पताल चाहिन्छ, परीक्षण गर्ने मेसिन चाहिन्छ । त्यसका निम्ति विशेषज्ञ, प्राविधिक चाहिन्छन् ।

आयुर्वेदलाई यो खलको समस्या भनेर भन्ने थियो नि त्यो खल आधारित होइन । त्यसभन्दा माथि उठाउनुपर्छ हामीले । अब हामीले खलमा पिसेर होइन कि त्यसभन्दा माथि उठाउनुपर्छ । खल त गाउँघरमा प्रयोग गर्छन् । हाम्रा अस्पताल खलभन्दा माथि उठ्नुपर्यो । विधिमाथि उठ्नुपर्यो । यसका लागि मेसिन सबै एलोपेथिक रूपमा होइन भन्ने थाहा पाउनुपर्यो । मेसिन आयुर्वेदले पनि प्रयोग गर्न सक्छ, अरूले पनि प्रयोग गर्न सक्छन् । कसरी हामी मेडिसिन उत्पादन गर्न सक्छौँ ? कसरी हामी मेडिसिन प्राप्त गर्न सक्छौँ ? भन्ने कुरा मात्रै हो त्यो । प्राकृतिक हिसाबले प्राप्त गर्छौं भने आयुर्वेदिक औषधि नै हो । कृत्रिम ढङ्गले उत्पादन गर्छौं भने एलोपेथिक हो । अरू मेसिन, औजार, ल्याब, इक्युपमेन्ट, एक्सरे सबै कुरा एलोपेथिक होइनन् । रेडियम पत्ता लगाउँदा क्युरीले यो एलोपेथिक हो है भनेकी थिइनन् । ‘म्याटर अफ रेडिएसन’ । त्यो रेडिएसनमा न एलोपेथी न आयुर्वेदिक । त्यसकारण यसलाई हामीले प्रयोग गर्न सक्छौँ, गर्नुपर्छ । आधुनिक कुरालाई पनि यसमा मिसाउनुपर्छ ।

आयुर्वेदिक अस्पतालमा आएपछि नागरिक फर्किन नपरोस् । ट्याब्लेट, झोल आदिको गुणस्तर उपयुक्त होस् । यसमा सर्जरीको क्षेत्र (आस्पेक्ट) पनि हामी विकास गर्न सक्छौँ । सर्जरीको आस्पेक्ट मैले अघि हाम्रा शास्त्रीय परिकल्पना, मिथ जे होस्, परम्परागत कुरा हुन– त्यसलाई पनि विकास गर्न सक्छौँ । समय लाग्छ । अहिले हामी जहाँ छौँ, त्यहीँबाट अगाडि बढ्नुपर्यो । बालकृष्णकोमा जाँदा सबै ल्याब, मेसिन, इक्युप्मेन्ट राम्रा छन् । नाम नै पतञ्जलि आयुर्वेदका महर्षिको नाममा राखिएको छ । आयुर्वेद आचार्य भन्ने आयुर्वेदका गुरु हुन तिनी । जसले आयुर्वेदलाई खास गरेर पछिल्लो समयमा चरक संहितापछि त्यस ढङ्गले विकास गरेको भनेर यिनलाई मानिन्छ । हामी पनि वेल इक्युप्ट हुनु जरुरी छ । आयुर्वेदिक अस्पतालमा आएपछि सामान्यतया मान्छे फर्किन नपरोस । ट्याब्लेट, झोल आदिका गुणस्तर मात्रै फरक होउन । त्यसको बनावटको विधि मात्रै फरक हो । त्यो कुरा हामी सबैले पनि प्रयोग गर्न सक्छौँ ।

यो हाम्रो सभ्यता हो, इतिहास हो, परम्परा हो, गौरव हो र हाम्रा पुर्खाको सफल मिहिनेतको परिणति हो । त्यसकारण यसलाई हामीले अगाडि लानुपर्छ । यो हाम्रो गौरव हो । यो गौरव फेरि यत्तिकै अँध्यारोमा ढुङ्गा हाने जस्तो होइन, यो यथार्थ गौरव हो । यसलाई अगाडि बढाउन हामी सबैले सक्रियपूर्वक ध्यान दिनुपर्छ । तपाईंहरूले कोभिड–१९ का सम्बन्धमा जे उपचारका काम गर्नुभएको छ त्यो ज्यादै राम्रो छ । मैले घरेलु विधि, आयुर्वेदिक विधि अपनाउने गर्छु । सुत्ने बेलामा बेसार पानी अनिवार्य खान्छु । मेरो सुगर भएको हुनाले गुर्जो अलिक खान्न । मरिच, तुलसीका पात अरू कुरा खान्छु । घाँटीमा बाफ लिन्छु । गार्वेल (घाँटीमा कुलुलु) गर्दा मनतातो पानीमा नुन राखेर गर्ने । मेरो ‘इम्युन’मा अत्यन्त ‘सप्रेस’ गरेको छ । त्यसकारण मैले इम्युन बढाउने औषधि पनि खानुहुँदैन । आफ्नो शरीरले एडप्ट गरिआएको ‘इम्युन डेभलप सिस्टम नेचुरल डेभलपिङ सिस्टम’ मात्रै हो । त्यसकारण यो सन्तुलन मिलाउन मलाई निकै गाह्रो छ ।

म सामान्यतः यत्रोयत्रो बैठक यति दूरीबाट, नजिकबाट मान्छेसँग भेट्ने, बैठक गर्दिन किनभने ‘इम्युन सिस्टम’ अलि कमजोर छ । त्यसकारण म अलि सतर्क हुनुपर्छ र यो सतर्क हुने कुरा एलोपेथिकमा होइन, आयुर्वेदिकमा हो । त्यही विश्वासका साथ म हिँडिराखेको छु । अब बाँकी हामी आफ्ना उद्देश्यमा अगाडि बढ्ने छौँ । हामीले जे सफलता पाइराखेका छौँ, जे औषधि बनाइराखेका छौँ, प्रभाव प्रचार प्रसारमा जुटौँ ।

(प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ भदौ २५ गते आयुर्वेद विज्ञसँगको परामर्शको क्रममा व्यक्त गर्नुभएको विचारको सम्पादित अंश ।)

Comment here