जनता टाइम्स

८ आश्विन २०७७, बिहीबार १३:०४

प्रधानमन्त्री मातहत आएपछि राजस्व अनुसन्धानले दियो उत्कृष्ट परिणाम, सरकारी ढुकुटीमा आयो ३० अर्ब


काठमाडौं, असोज ८ । प्रधानमन्त्री कार्यालय मातहत आएपछि राजस्व अनुसन्धान विभागले कामबाटै उत्कृष्ट परिणाम दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिभागलाई आफू मातहत ल्याएर शक्ति केन्द्रिकरण गरे भन्दै आरोप लगाउनेहरुलाई बिभागको दुई वर्षमा कामबाटै जवाफ दिएको हो ।

राजश्व अनुसन्धान बभागले यस दुई बर्षको अवधिमा ३० अर्बको राजस्व चुहावट तथा वैदेशिक विनिमय अपचलनको मुद्दा टुंग्याएर जवाफ दिएको हो । विभागले भन्सार चोरी पैठारी, आयकर, मूल्य अभिवृद्धि कर छली तथा विदेशी विनिमय अपचलन प्रकरणको अनुसन्धान गर्ने क्रममा चालेको कदमबाट ३० अर्व बराबरको राजस्व सरकारी ढुकुटीमा आएको हो । राजश्व अनुसन्धान बिभाग २०७५ सालमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मातहत आएको थियो । प्रधानमन्त्री कार्यालय मातहत आएदेखि नै निकै सक्रिय बनेको विभागले अहिलेसम्म १ सय ९० वटा मुद्दामा २५ अर्ब ११ करोड १० लाख रुपैयाँ बिगो असुल, जरिवाना तथा कैद माग गरी अदालतमा मुद्दा दायर गरेको छ । विभागले १ सय ९० वटा मुद्दामा ११ जना राष्ट्रसेवक कर्मचारीसहित ६ सय २१ जनालाई प्रतिवादी बनाएको छ ।

यही अवधिमा विदेशी विनिमय अपचलन तथा अवैध हुण्डी कारोबारको कसूरको मुद्दा पनि तीब्रताका साथ अघि बढाइएको छ । यस अवधिमा विदेशी मुद्रा अपचलन तथा हुण्डी कारोबारको कसूरमा ४ सय १६ जनालाई प्रतिवादी बनाइएको बिभागका महानिर्देशक दीर्घराज मैनाली बताउनु हुन्छ । यस मुद्दामा पाँच अर्ब ९१ करोड ६९ लाख रुपैयाँ बिगो कायम गरिएको छ । अपचलन र हुण्डीमा भने बिगोको तेब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद माग गरी अदालतमा मुद्दा दायर गरिएको महानिर्देशक मैनालीले जानकारी दिनुभयो । मैनालीका अनुसार प्रधानमन्त्री कार्यालय मातहत आएको वर्ष बिभागले ९ अर्ब ८३ करोड रुपैयाँको मुद्दा टुंग्याएको थियो ।

आर्थिक वर्ष २०७६/०७७ मा राजस्व चुहावट कसूरमा ३ सय २० जनालाई प्रतिवादी बनाएर १५ अर्ब १५ करोड ८ बिगो असुल, जरिवाना र कैद सजाय माग गरी ९७ वटा मुद्दा अदालत लगेको थियो । सोही आर्थिक वर्षमा विदेशी विनिमय तथा हुण्डी कारोबारमा १ सय ४७ वटा मुद्दा दर्ता भएका थिए । जसमा २२६ जनाविरूद्ध एक अर्ब २२ करोड ९७ लाख रुपैयाँको बिगो दाबी गरिएको थियो ।

कोरोना महामारीकै समयमा पनि विभागले राजस्व चुहावटमा पौने एक अर्बको कारबाही अघि बढाएको छ । चालू आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा चार वटा मुद्दा अदालत पुगेका छन । जसमा १५ जनालाई प्रतिवादी बनाइएको छ भने ४० करोड ९ लाख बिगो कायम गरिएको छ । मैनालीका अनुसार हाल ३४ करोड ६ लाख बिगो कायम हुने चार वटा मुद्दाको फाइल उच्च सरकारी वकिलको कार्यालय पाटनमा रायका लागि पठाइएको छ ।

दुई वर्षको अवधिमा सबभन्दा ठूलो मुद्दा नेपालमा पेप्सी उत्पादन गरिरहेको वरूण वेभरेजको थियो । वरूणले नक्कली बिल प्रयोग गरी मूल्य अभिवृद्धि तथा आयकर छली गरेको अभियोगमा विभागले मुद्दा दायर गरेको छ । वरूणले करिब ६४ करोड ९६ लाख कर छली गरेको तथ्य अनुसन्धानबाट खुलेको छ । बरुणलाई ६४ करोड बिगो र त्यसको दोब्बर जरिवानासहित १ अर्ब ९४ करोड रुपैयाँ र ३ वर्षसम्मको कैद सजायँ माग गरी मुद्दा दायर गरिएको छ ।

बिभागले पछिल्लो पटक भदौ ५ गते उच्च अदालत पाटनमा राजश्व चुहावटमा तीन करोड १९ लाख ७७ हजार बिगो कायम गरी मुद्दा दायर गरेको छ । भारतीय ट्रकमा फल्स बटम (छुट्टै नदेखिने क्याविन कोठा) वनाई रजनिश कुमार गुप्तार र राजु थापा भन्नेट राजेन्द्र थापा समेत ६ जनाले भन्सार चोरी पैठारी गरी राजस्व चुहावटको कसूर गरेको अभियोगमा तीन करोड उन्नाईल लाख सतहत्तर हजार तीन सय बहत्तर विगो कायम गरी उक्त विगो असूल उपर गरी जरिवाना र कैद समेतको माग दावी लिई भदौ ५ गते उच्च अदालत पाटनमा बिभागले मुद्दा दायर गरेको हो ।