जनता टाइम्स

२२ आश्विन २०७७, बिहीबार ११:५२

नेकपा नेता लेखराज भट्टको खुलासा : पार्टीमा मैले के पद पाउने भन्ने अन्तरविरोध मात्रै देखें (अन्तर्वार्ता)


तपाईंलाई प्रचण्डलाई छाडेको आरोप लागेको छ नि ?

(मुस्कुराउँदै) त्यो आरोपका लागि मात्र आरोप हो । मैले प्रचण्डलाई होइन माओवादी ‘लिगेसी’ छाडेको हुँ । कसैले मलाई ओलीतिर ढल्कियो पनि भन्छन् । ओलीलाई चिनाउने त तिनै प्रचण्ड नै हुन् । प्रचण्डले पार्टी एकता गरेर ओली पहिलो अध्यक्ष, आफू दोस्रो अध्यक्ष भनेका होइनन् ? अनि हामी दुवै अध्यक्ष पालोपालो चलाउने भनेका होइनन् ! अनि म कसरी कसैतिर ढल्केको भनेर आरोप लगाउने ? अहिले पार्टी एकीकरण भएर नेकपा भएको छ । नेकपामा न त्यतिबेलाको नेकपा माओवादी (केन्द्र) को लिगेसी छ न त तत्कालीन एमालेको नै ।

प्रचण्डलाई आफ्नो घरको हतियार लगेर बुझाएका व्यक्ति, बाह्रबर्से संघर्षमा प्रचण्डका विश्वासपात्र मानिने तपाईं अहिले फेरि ढल्मलाएको हो र ?

हो, हतियार पनि दिएकै हो । बाह्र वर्षसम्म सँगै लडेको पनि हो । म २०२८ सालदेखि नै राजनीतिक आन्दोलनमा होमिएको व्यक्ति हुँ । मेरा लागि व्यक्तिभन्दा विचार प्रधान हो । दुई पार्टी एकीकरणपछि बनेको नयाँ पार्टी नेकपा हो । म नेकपाको जिम्मेवार कार्यकर्ता हुँ । मैले नेकपाको विचारमा चल्नुपर्छ । पार्टी एकीकरण प्रचण्डले नै गरेका होइनन् र ! फेरि यताउता गएको कुरा कहाँबाट आयो ? मलाई त्यो आरोप लगाउने माओवादी र एमालेको लिगेसी कायमै रहोस् भन्ने सोच भएका व्यक्ति हुन् ।

पार्टी एकतामा कहिलेसम्म हो अलमल ?

पार्टी एकता प्रक्रिया टुंग्याउन स्थायी कमिटीको बैठकले एउटा दिशानिर्देश गरेको छ । पार्टी, जनवर्गीय, शुभेच्छुक संगठनहरूलाई अधिवेशनमा लैजाने कुरा भएको छ । अब पार्टी महाधिवेशन प्रक्रियामा जाने गरी तयारी भएको छ । महाधिवेशनभन्दा पहिला सबै कुरा सहमतिमै गर्ने भन्ने पनि समझदारी भएको छ । अब एकतामा खासै अलमल हुँदैन ।

चरम गुटबन्दीमा रहेको पार्टीको एकता प्रक्रिया कसरी सम्पन्न होला ?

हरेक पार्टीभित्र अन्तरसंघर्ष र अन्तरविरोध हुन्छन् । समयसमयमा ती देखा पर्छन् । हाम्रो पार्टीमा पनि त्यो छैन भन्न मिल्दैन । अन्तरसंघर्ष र अन्तरविरोधलाई बहसमा लगेर समाधान खोज्नुपर्छ । तर पार्टीमा वैचारिक, संगठनात्मक अन्तरविरोधभन्दा पनि स्वार्थका लागि के पाउने ? भन्ने खालको अन्तरविरोध पाएँ मैले । पार्टी एकता दरो बनाउन दुई अध्यक्ष एक ठाउँमा आउनुपर्छ । सहमतिबाटै सबै विषय टुंगोमा पुर्‍याउनुपर्छ । २००७ सालपछि कुनै पनि सरकार पाँच वर्ष चलेको छैन, त्यसैले अहिलको दुईतिहाइको सरकारलाई पाँच वर्षसम्म चल्न दिनुपर्छ पनि भन्दै आएको हुँ । म पार्टीभित्रका गुट भत्किनुपर्छ भन्ने पक्षमा छु । (अन्नपूर्ण पोष्ट)