जनता टाइम्स

६ मंसिर २०७७, शनिबार १४:५७

नेकपा ! भावावेशमा कतै आफ्नै कन्चटमा गोली नदाग


पार्टी र सरकारका फरक र विशिष्ट प्रकारका भूमिकाहरूलाई घोलमेल पारेर शक्तिको अभ्यास गर्ने खेल बन्द नगरिए, अबको दुई वर्षपछि राजनीतिक परिदृश्य बदलिन सक्छ । त्यसैले पार्टी विवादको प्रभावकारी व्यवस्थापनका लागि आ–आफ्नो हैसियतको ख्याल गर्नु नै उचित हुनेछ

श्यामल अधिकारी

म सानै हुँदा हाम्री निरक्षर आमाले ‘बा त बा हुन तरुलको नाश’ भन्ने एक लोककथा सुनाउनुभएको थियो । त्यसले हामीलाई उपयोगितावादी सोच र मानवीय मूल्यको अबहेलनाको परिणामबारे गम्भीरतापूर्वक सोच्न प्रेरित गर्छ । गधापच्चिसे छोरा र बुढ्यौलीतिर लाग्दै गरेको उसको बाबु नजिकैको जङ्गलमा वनतरुल खन्न गए । तरुलको लहरो भेट्टाएपछि उत्साहित हुँदै छोरो क्रमशः खन्न थाल्यो । जति भित्र गयो, उति बढी ठूला र राम्रा तरुल भेटिन थाले । ऊ खनेकै ठाउँमा तरुल थुपार्दै अझ भित्रभित्र जान थाल्यो । खाल्डो दुई जना मानिस तेर्सिन मिल्नेसम्म भयो । अझै राम्रा र सग्ला तरुल भेटिँदै थिए । यसरी ऊ लोभिएको थियो ।

छोरालाई थकाइ लाग्यो होला भन्ठानेर बाबुले उसलाई बाहिर निकालेर आफूभित्र जाने मनसायले छोरालाई बोलायो । थकाइ लागेको हुनाले ऊ पनि बाहिर निस्क्यो । ‘तरुल अझै धेरै छन, बा, भेटेजति लैजानुपर्छ,’ स्वाँ–स्वाँ र फ्वाँ–फ्वाँ गर्दै उसले बाबुलाई भन्यो । बाबु भित्र पसेर अझ भित्र खन्दै गयो । तरुल अझै भेटिँदै थिए । केही छिनपछि खाडलको माथिको भाग भत्केर उसको बाबुमाथि बज्रियो । ऊ यस्तो दृश्य हेरिरहेको थियो । ‘बा–बा,’ ऊ चिच्यायो । तर यतिन्जेल बाबु निष्प्राण भइसकेको थियो । खाडलबाहिर थुपारिएको थोरै मात्र तरुलतिर करुणामय दृष्टिले हेर्दै उसले सोच्यो, ‘बा त बा हुन, तरुलको नाश भो ।’ बस, कथा यत्ति हो ।

देशको भविष्यलाई दुई चार जना नेताको घरमा लगेर थुनिएको छ–मैले ४६ सालताकाको दृष्टिको कुनै अंकमा प्रसंगवश मेरो गृहजिल्ला दैलेखमा प्रचलित एक लोककथामा आधारित एक लेख लेखेको थिएँ । यो कथा मेरी आमाले उहाँकी आमाबाट र उहाँकी आमाले पनि आफ्नी आमाबाट सुन्नुभएको थियो । अर्को एक कथा मेरा बाले आफ्ना बा अर्थात मेरा बाजेबाट र बाजेले जिज्युबुवाबाट सुन्नुभएको थियो । लोकविवेकका यस्ता अनगिन्ती कथाहरूले हाम्रो समृद्ध सभ्यता र संस्कृति निर्माण गरेका छन । तिनमा ठाडै केही भनिएको हुन्न, पात्र र परिवेशको सहारामा हामीलाई विवेक दिइएको हुन्छ ।

अहिले सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको रडाकोका सन्दर्भमा ती दुईटै कथा सान्दर्भिकजस्ता लाग्छन मलाई । सत्तारुढ नेकपा अहिलेको अवस्थामा माक्र्सवादी पार्टी रह्यो कि रहेन, लामै बहस गर्न सकिन्छ । कम्तीमा पनि माक्र्सवादीहरू परिस्थितिको ठोस विश्लेषण गर्नमा रुची राख्छन । अहिलेको परिस्थितिमा भने ऊ सत्तासीन छ । तर, क्रमशः मनोरोगग्रस्त, कर्तव्यच्यूत, विवेकले नचल्ने, भावुकता र भावावेशमा जे पनि गर्न तम्सने र अन्ततः गहिरो विषादले घेरिएर आफ्नै कन्चटमा गोली दाग्न लागेको सिपाहीजस्तो छ । टाढाबाट यस्तो भद्रगोल अवस्था देखिरहेकाहरू भन्छन– भावावेशमा उसले कतै कन्चटमा गोली नदागोस ।

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति निकै आक्रामक छन–उहाँकै कामरेडहरू भन्छन । उहाँलाई गरिएका गल्तीका लागि त राजावादी, राप्रपा, काँग्रेस र राजपाले पनि क्षमा दिने छैनन र तिनका ऐतिहासिक भुलहरूबाट आत्तिएर तिनलाई भर्याङको फेदैमा रोक्ने महान नेपाली जनताले पनि अन्ततः क्षमा दिने छैनन । तर, नगरिएको गल्तीका लागि कदाचित राम्रा कामका लागि समेत आफ्नै कामरेडहरूले कुनै पनि हालतमा काम गर्न नदिने कसम खाएजस्तो गरी पछि लागेको देखिनु उदेकलाग्दो विषय हो । पद्धति र अनुशासनका कुरामा विश्वास गर्नेहरूका लागि यो कमरेडली व्यवहार हुँदै होइन, बर्बर आखेटक व्यवहार हो ।

प्रधानमन्त्रीका रूपमा ओलीले गरेका तीन महत्वपूर्ण काम हुन : पहिलो, भारतको क्षेत्रीय प्रभुत्व अस्वीकार गर्नु र भारतले थोपरेको नाकाबन्दीका बेला नेपालको शिर ठाडो पारेर नेपाली जनभावनाअनुरूप दृढ रूपले उभिएर सामना गर्नु । दोस्रो, राजनीतिक संक्रमणका नाममा खस्कँदै गएको राष्ट्रिय मनोविज्ञानलाई उकासेर जनतालाई केही हुन्न भन्ने निरासाबाट माथि उठाएर केही हुन सक्छ भनी स्वप्नशील बनाउनु र तेस्रो, राजनीतिक अस्थिरताको अन्त्य गरी नेपाललाई स्थायित्वको सन्देश दिन बहुमत प्राप्त गर्नु । तर, उहाँलाई पार्टीका विधि र पद्धति नमानेको आरोप लगाएर दुई-चार महिनामै दुई–दुई पटक अपदस्थ गर्ने प्रयास भएको देखिन्छ । सरकार सञ्चालनका विधि, पद्धति संविधानले निर्धारण गरेको हुन्छ र पार्टी सञ्चालनका विधि, पद्धति पार्टी विधानले तय गरेको हुन्छ भन्ने कुरामा बहस गरिरहनुको कुनै अर्थ छैन । विडम्बना त के हो भने, यिनै कामरेडहरूसमेतले बनाएर लागू गरेको संविधान वेस्टमिन्स्टर ढाँचामा छ, कामरेडहरू त्यसमा सी चिनफिङको जस्तो ‘अब्सोलुट’ नेतृत्व खोजिरहेका छन ।

ओली बहुमतप्राप्त प्रधानमन्त्री हुनुहुन्छ भन्नेसम्मको हेक्का नराख्ने एक तप्का सके उहाँलाई सिंहदरबारबाट घिसारेर त्यहाँ अरू कसैलाई विराजमान गराउन चाहन्छ, नसके उहाँलाई रबरछाप बनाएर भए पनि आफ्नो तुष्टि पूरा गर्न चाहन्छ । अझ उनीहरू यसअघिको कुनै पनि वामपन्थी सरकार आरामदायी बहुमतसाथ सत्तामा थिएन भन्ने कुरालाई तपसिलमा समेत राख्न चाहन्नन । र, त्यसैले भनिरहेका छन– अमूक व्यक्ति नभएको भए ओली यसरी सत्तामा आउन पाउने थिएनन । ती माक्र्सवादको परिस्थितिको ठोस विश्लेषण गर्ने मौलिक अवधारणाबाट उछिट्टिएर तरल र मनोगत धारणा बनाउँदै प्रधानमन्त्रीका अवशिष्ट अधिकारहरूलाई समेत छिन्नुपर्छ भन्ने लाइनमा लागेका छन । उनीहरूले सोचेजस्तो गरी दुर्घटना त नहोला, कदाचित भइहाले तिनले स्वयं यसै नजिरको सिकार हुनुपर्नेछ ।

लोकले अकारण कथा बनाउँदैन । त्यतिबेलाको समाजमा बलवती भएकैले हो, हाम्रो समाजमा प्रचलित कथामा यस्तै भष्मासुर नामक पात्रको सिर्जना भएको । अन्धविश्वास नै सही, भूतप्रेतहरू पनि समाजमै बन्ने र ब्युँतने हुन । तिनको उपचार गर्ने क्षमता पनि समाजले नै राख्छ । माक्र्सवादको आवरणमा झाँगिएको गहिरो अन्धविश्वासको उपचार अहिले गर्न सकिएन भने त्यो दुःखान्तमा जानेछ । मानव जगतमा सुन्दर सपनाको अन्त्य त हुनेछैन, त्यसले अचिन्त्य दुःख भने निम्त्याउनेछ । भावुकताजन्य र कब्जावादी सोचबाट प्रेरित मोडलको पतनडिएन अदित, पोलपोट, खिउ सामफान र गोन्जालोका पार्टीको जस्तो हुन्छ । पुँजीवादी मुलुकका दुष्प्रचारका बाबजुद पनि तिनका सैद्धान्तिक प्रस्थापना व्यवहारतः गलत र आत्मघाती साबित भएका छन । जनता सङ्गठित हुनुको अर्थ छ, जनमतको अर्थ छ र कुनै पनि बहानामा जनमतको अबहेलना गर्ने दल वा व्यक्ति जनताबाट अस्वीकृत हुँदै जान्छ भन्ने कुरा सबैलाई थाहा छ ।

आज ती देशका कम्युनिस्ट आन्दोलन थला परेका छन, किनभने ती पार्टी नोकरशाहीको सिकार भए र विश्वासिलो मिजासले जनताका आकांक्षाहरूसँग तिनले आफ्ना कार्यक्रमलाई जोडन सकेनन । इन्डोनेसियाको कम्युनिस्ट पार्टी त अझ वैधानिकताप्राप्त सबैभन्दा ठूलो पार्टी भइसकेको थियो । त्यसमा सङ्गठित सदस्यहरूको संख्या मात्रै पनि २० लाख थियो । त्यत्रो ठूलो सङ्गठित जनमतलाई रचनात्मक कार्यक्रम दिन सकेको भए अमेरिकाको डिजाइनमा सरकारी सेनाले यसरी उठ्नै नसक्नेगरी सिध्याउन सक्ने थिएन । पार्टीभित्र हुर्केको नोकरशाहीले यो वास्तविकता बुझेन र सोभियतहरूको निर्माण र युद्धको रचनामा मात्र ध्यान दियो । फलतः पार्टीकै कतिपयले अमेरिकी दूतावासलाई मुख्य–मुख्य नेताहरूको सूची बनाउन मद्दत गरे । अन्ततः त्यत्रो ठूलो कम्युनिस्ट आन्दोलनको दुखद पतन भयो । जनमत र कार्यकर्ताहरूका आकांक्षाहरूको व्यवस्थापनभन्दा नेताहरूको अहमको व्यवस्थापनले प्राथमिकता पाएपछि हुने यही नै हो ।

मेरा पिताजीले म बालखै छँदा सुनाउनुभएको कथा हो, भटमासको गेडो खोज्दा आफ्नै सर्वनाश । एकजना भेडा गोठालो दुई÷तीन सय भेडाको बथान चराउन जङ्गल गयो । दिनभरि भेडा चराउनुपर्ने हुनाले भोक मेट्न दुई-चार मुठी भुटेको भटमासलाई गोजीमा राखेर गएको थियो ऊ । भेडाहरूलाई भोक लागेपछि उसले गोजीबाट भटमास निकाल्दै खान थाल्यो । खाँदै गर्दा एउटा गेडो उछिट्टिएर नजिकै कतै झारभित्र खस्यो । उसले झार पल्टाउँदै खोज्यो, फेला परेन । खोज्दै अलि टाढासम्म पनि झार पल्टाइ–पल्टाइ हेर्यो, अझै पनि फेला परेन । उसले भटमासको त्यो गेडो भेटाइछाड्ने विचार गर्यो । ऊ एकोहोरियो । कसरी पाउन सकिएला भनी सोच्तै गर्दा उसलाई एउटा उपाय सुझ्यो । झारमा आगो लगाएपछि भेटिन्छ भन्ने लागेर उसले झारमा आगो लगायो । आगो विस्तारै सल्कँदै जङ्गलतिर बढ्दै गयो । तर, भटमासको गेडो कसै गरे पनि भेटिएन । आगोले जङ्गल पूरै लपेटेपछि उसका भेडा जलेर नष्ट भए । ऊ भाग्दै–भाग्दै, रुँदै–रुँदै घर फर्कन लाग्दा आगोले उसलाई पनि लपेट्यो । जाबो एउटा भटमासको गेडाका लागि उसको सर्वनाश भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति निकै आक्रामक छन–उहाँकै कामरेडहरू भन्छन । उहाँलाई गरिएका गल्तीका लागि त राजावादी, राप्रपा, काँग्रेस र राजपाले पनि क्षमा दिने छैनन र तिनका ऐतिहासिक भुलहरूबाट आत्तिएर तिनलाई भर्याङको फेदैमा रोक्ने महान नेपाली जनताले पनि अन्ततः क्षमा दिने छैनन । तर, नगरिएको गल्तीका लागि कदाचित राम्रा कामका लागि समेत आफ्नै कामरेडहरूले कुनै पनि हालतमा काम गर्न नदिने कसम खाएजस्तो गरी पछि लागेको देखिनु उदेकलाग्दो विषय हो । पद्धति र अनुशासनका कुरामा विश्वास गर्नेहरूका लागि यो कमरेडली व्यवहार हुँदै होइन, बर्बर आखेटक व्यवहार हो 

पार्टीका लाखौं कार्यकर्तालाई एकताको सन्देशसम्म पनि प्रवाहित गर्न नसकेका नेतागण पार्टीका महत्वपूर्ण बैठकका अनौपचारिक ख्यालठट्टालाई समेत सूचना प्रविधिको चरम दुरुपयोग गर्दै आफ्ना निकटका वा आफूद्वारा सञ्चालित र प्रायोजित अनलाइनमा पठाइरहेका हुन्छन । भद्दा गाली, भजन, स्तुति र आलोचनाबीचको भेद समाप्त हुँदै गएको छ । नेताका फ्यान क्लबहरू बनिरहेका छन् । पार्टी संस्कृति कतै दृष्टिगोचर हुँदैन । यस्तो लाग्छ– एक मानसिक महाभारतको मञ्चन भइरहेको छ । यस्तो भद्रगोलमा कर्मचारीतन्त्र अब के हुन्छ ? भनेर थरीथरीका अनुमान गर्दै हात बाँधेर बसेको छ । नेता रिझाएर आकर्षक पदमा नियुक्ति हातमा पार्नु नै उपल्ला तहका कर्मचारी र पार्टी नेताका वरिपरि घुम्नेहरूको अन्तिम गन्तव्य बनेको छ । तिनले ‘प्रभावशाली’ नेताहरूलाई स्वस्ती गरेर सेवा प्रवाहका कामलाई जनताको पहुँचभन्दा बाहिर पुर्याइरहेका छन । सरकार र पार्टीका विभिन्न तहमा हुनुपर्ने सार्थक संवादका मञ्चहरू निष्क्रिय बनाइएका छन र देशको भविष्यलाई दुई-चारजना नेताको घरमा लगेर थुनिएको छ । यस्तो अवस्थाको सिर्जनाका लागि कुनै एक व्यक्तिलाई जिम्मेवार बनाउनु युक्तिसङ्गत हुँदैन ।

यस्तो परिस्थितिमा पार्टी र सरकार दुवै प्रभावकारी हुनु सम्भव छैन । किनभने यहाँ बाको चिन्ता छैन, तरुलको चिन्ता बढी झाँगिएको देखिएको छ । किनभने यहाँ त्यत्रो जङ्गल र सयौँ भेडाको चिन्ता छैन, हराएकोे एक गेडा भटमास खोज्ने चिन्ता छ । बा र जङ्गलमा चरिरहेका भेडा पार्टी र सरकारका मूल्य प्रणाली हुन, विधि र पद्धति तरुल र भटमासको गेडो हो । छँदाछँदैको आरामदायी बहुमत गुमाएर गएपछि, पार्टीका उपल्ला प्राधिकारहरूले खोजेको तरुल र भटमासको गेडो पनि तिनका हातमा पर्ने छैन । अहिलेको चिन्ता त निकट विगतको जनादेशलाई सम्मान गर्दै आमजनता र विश्व समुदायलाई स्थायी र प्रभावकारी सरकारको अनुभूति दिलाउनु हो ।

अहिलेको प्रमुख चिन्ता राजनीतिक अस्थिरताका कारक तत्वको पहिचान गर्दै तिनलाई उठ्नै नसक्ने गरी धुलिसात गर्नु हो । सरकार फेर्ने होइन, अहिलेको काम त जनतालाई सामाजिक न्यायसहितको अत्यावश्यक सेवा कसरी सुनिश्चित गर्ने हो, त्यसका रणनीतिक उद्देश्य र ती उद्देश्य प्राप्त गर्न सरकारलाई आवश्यक पर्ने सहयोगी संयन्त्र र संसलमार्फत कानुनी प्रबन्ध उपलब्ध गराउनु हो । तर, त्यसो भएको देखिन्न । पार्टी र सरकारका फरक र विशिष्ट प्रकारका भूमिकाहरूलाई घोलमेल पारेर शक्तिको अभ्यास गर्ने खेल बन्द नगरिए, अबको दुई वर्षपछि राजनीतिक परिदृश्य बदलिन सक्छ । त्यसैले पार्टी विवादको प्रभावकारी व्यवस्थापनका लागि आ–आफ्नो हैसियतको ख्याल गर्नु नै उचित हुनेछ ।

(लेखक अधिकारी राष्ट्रिय समाचार समितिका अध्यक्ष हुनुहुन्छ ।)