व्यक्तिगत शुभलाभका लागि लाग्नेले आफ्नै आराध्य देवकै थात ठेगान धर्मराएको थाहा छ कि छैन । त्यसैले घनश्याम भुसालले आफ्ना वरपरका ढोडका तोक्माका मात्र भरमा नपरे हुन्छ । तर तिनलाई पनि अर्को कित्तामा पर्न दिनबाट बचाउनु पर्छ, मानिस त कहिल्यै कुनै जुनीमा बुद्धि विवेक नपलाउने पशु होइन, यो नरपशु हो । नरपशुको ढिलो चाँडो अवश्य बुद्धि विवेक पलाउँछ । त्यसैले अलि धैर्य गर्नुपर्छ तर संकटको सराथी बन्ने हो भने भुसाल कमरेडले सबै विषय र क्षेत्रमा सही अडान लिन सक्नुपर्छ
प्रा.डा. बद्रीविशाल पोखरेल
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा कृषिमन्त्री घनश्याम भुसालले एक प्रसंगमा नेकपा विवादलाई कम्युनिष्ट आन्दोलनको भाग्य र भविष्यसित गम्भीर रुपमा सम्बन्धित रहेको हुँदा यसमा आफू बढी चिन्तित रहेको बताउनुभयो । यो अत्यन्त महत्वपूर्ण दूरदर्शी सोच, समझ र मान्यता हो भन्ने यस लेखकले ठानेको छ । तर यो लेखकचाहिँ विश्वको भूराजनीतिक अत्यन्त संवेदनशील भूभागमा अवस्थित नेपालको स्थिरता, शान्ति र समृद्धि जस्ता विषयलाई सर्वोपरि ठानेर कर्तव्य निर्वाहका खातिर बौद्धिक भूमिका निर्वाह गरिरहेको छ । सेवानिवृत्त प्राध्यापक भएर पनि देशको महँगो नून खाइरहेको हुँदा संगीन अवस्थामा तमासे भएर बस्न पटक्कै मन मानेन र कुनै आग्रहरहित भएर तपाईंलाई सुझाव स्वरुप यो लेख लेखेको छु ।
भुसाल कमरेड, कुनै पनि नेताको सही पहिचान संकटका बेला मात्र हुन्छ । पार्टीको अन्तरिम विधानविपरीत बसेको स्थायी समितिको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भए पनि बहुमतले सदस्यले ओलीविरुद्ध अप्रिय निर्णय गर्न थाल्न तत्पर हुँदा तपाईं कमरेड घनश्याम भुसालले लिएको अडानले तत्कालका लागि संकट समाधान भएको आम कार्यकर्ता र जनताबीच जगजाहेर भएको विषय रहेको छ । बरु त्यही बैठकमा तपाईविरुद्ध एकाध नेता ज्यान फालेर लागेको पनि थाहा भएकै बिषय हो । त्यसैगरी विगत ३ मंसिरमा बस्ने बैठकका पूर्वसन्ध्यामा भुसालसहितले वरिष्ठ नेता माधवकुमार नेपालसित भेटेर पार्टी विभाजनको चरम स्थितिमा पुगेको विवाद समाधान गर्न गम्भीर चासो, पहल र प्रयत्न गरेको अखवारबाट अवगत भयो । यसरी भविष्यप्रति चासो राख्ने भनेकै युवा उमेर र आँटले हो ।
केही वर्षअघि तत्कालीन नेकपा एमाले पार्टीका उपाध्यक्ष अशोक राईसित विराटनगरमा भेट हुँदा नेता गुरु बरालकासामु यस लेखकले राईलाई तपाईंहरुले कम्युनिष्ट आन्दोलनमा लागेबापत सोचेभन्दा धेरै शुभलाभ प्राप्त गरिसक्नु भयो, नाम, दाम, मान र प्रतिष्ठा पाइसक्नु भयो । अब तपाईहरुलाई देश र जनताका हितमा केही गर्नुपर्छ भन्ने नै छैन भनेको थिएँ । सक्षम नेताले सक्षम उत्तराधिकारी तयार पार्ने कुरामा पटक्कै ध्यान नदिने झलनाथ खनाल, माधव नेपाल र पुष्पकमल दाहाल, प्रचण्डले आफू प्रधानमन्त्री हुँदा तुइनमार्फत दूरदराजका जनताको सकस र संकट किन देखेनन ? किनकि तिनै जना नेतामा त आफैँ मात्र सत्ता, शक्ति र सम्पत्तिको केन्द्रमा टाँसिन मात्र हत्ते हाल्ने प्रवृत्ति मात्र छ, थियो । त्यसैले अहिले विद्यमान पूर्वप्रधानमन्त्री भइसकेको कुनै नेतालाई देश र जनताका लागि केही गर्नुपर्छ भन्ने अन्तर हृदयमा होला भन्ने यस लेखकले पटक्क ठानेको छैन । त्यसैले घनश्याम भुसालले पार्टीमा देखापरेको सबै संकट र समस्या समाधान गर्ने कुरामा विशेष ध्यान दिनु जाती हुन्छ । किनभने जसको देश र जनताका लागि केही गरौँ भन्ने उमेर र उम्मीद छ, त्यसैले यस्ता विषयमा गम्भीर चासो र चिन्ता लिने हो । त्यसका लागि भुसालले आफूलाई सैद्धान्तिक, वैचारिक र सांगठानिक आदि हर हिसावले सही ठाउँमा उभ्याउनुपर्छ र आफूलाई तदनुसार तयार राख्नु पर्छ जस्तो लाग्छ ।
घनश्याम कमरेड, तपाईं कहिले जनताको बहुदलीय जनवाद –जबज) लाई सिद्धान्त बनाउँछु भन्नुहुन्छ अनि कहिले जबजको च्याप्टर क्लोज भइसकेको कुरा सार्वजनिक रुपमा उल्लेख गर्नुहुन्छ । तपाईं जत्तिको वैचारिक तथा अध्ययनशील नेताले आफ्ना पहिलेदेखि लिखित र मौखिक अभिमतहरुका आधारमा दूरदृष्टि राख्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ । नेताको एउटा अत्यन्त महत्वपूर्ण पहिचान सैद्धान्तिक दूरदर्शिता हो । यो सब कोहीमा हुँदैन । जननेता मदन भण्डारीले भनेझैँ सिद्धान्तका सबालमा घुमाउरो कुराको कुनै अर्थ छैन ।
तपाईंले तत्कालीन नेकपा एमालेको आठौँ महाधिवेशनमा प्रस्तुत नेपाली क्रान्तिको बाटो भनेर छलफलका लागि ०६५ मार्ग ३० गते प्रस्तुत दस्तावेजको मुख पृष्ठमा जबजलाई सिद्धान्तमा विकसित गरौँ भन्नुभएको थियो । नवौँ महाधिवेशनमा विचार समूहको नेताका रुपमा जबजलाई अहिलेसम्म कसैले सिद्धान्त नबनाएको हुँदा हामी बनाउँछौँ भन्नुभएको थियो (पृ. ९५) । उक्त दस्तावेजमा तपाईंले तत्कालीन पार्टी नेतृत्वले ….राजाको सरकारमा समेत जान तयार हुनु, सरकार बनाउने खेलमा जोड दिनु, राजा ज्ञानेन्द्रलाई दाम चढाउनु, बहुदलीय जनवादलाई विकसित गर्न ध्यान नदिनु जस्ता तत्कालीन पार्टी नेतृत्वका गल्ती औल्याउनु भएको छ (पृ.५० । त्यसैगरी तपाईंले बहुदलीय जनवादप्रति भक्ति भाव मात्र व्यक्त गरेर हुँदैन पनि भन्नु भएको छ त्यही दस्तावेजमा ।
कमरेड भुसाल, तपाईंले माक्र्सवादको पुनः सृजित जबजलाई कासेढुङ्गो भन्नुभएको छ (पृ.४०) । त्यसैगरी तपाईले हिजो हामीले नेकपा बनायौँ… हामीले बनाउँदा बन्छ र बिगार्दा बिग्रन्छ भन्नुभएको छ, (पृ.५) । तपाईंको निश्कर्षअनुसार विश्व कम्युनिष्ट आन्दोलन र नेपालको कम्युनिष्ट आन्दोलनका अनुभवहरुका आधारमा प्रजातान्त्रिक प्रतिस्पर्धाबाट अगाडि बढ्दै समाजवादमा संक्रमण गर्ने विचारका रुपमा जबज आएको थियो । जवजले नेकपा माओवादी जस्तो उग्रवादी पार्टीलाई समेत एक्काइसौँ शताब्दीको जनवादमा आउनुपर्ने र आउन सक्ने वैचारिक भूमि दिएको थियो भन्नुभएको छ (पृ.८०) । माक्र्सवाद तथा जबज हाम्रो मार्गदर्शक सिद्धान्त बन्नजान्छ भन्नुभयो अनि यो मार्गदर्शक सिद्धान्त जबज इतिहासको सन्दर्भ नै नभएको मौलिक आविष्कार हो भन्ने कुरा गलत हुन्छ किनकि यो क्रान्तिका आजसम्मका अनुभवहरु समेत समाहित छन भन्दै त्यसैले यसमा विकास र परिवर्तनको कुनै गुन्जायस नै छैन भन्ने हिसावले जडसूत्रका रुपमा बुझ्नु हुँदैन पनि भन्नुभएको छ (पृ. ८१) ।
माओले सही सिद्धान्त भएर पनि हामी त्यसलाई खाली पाठ गर्छौं, दराजमा थन्क्याउछौं र कार्यमा प्रयोग गर्दैनौं भने त्यो सिद्धान्त जतिसुकै राम्रो भए पनि महत्वहीन हुन्छ भनेझैँ भयो भने त्यो भन्दा दुःखदायी के हुन्छ ? भुसाल कमरेड । घनश्याम भुसालले राजेन्द्र गौतमद्वारा सम्पादित नेपाली क्रान्तिको सिद्धान्त जनताको बहुदलीय जनवाद पुस्तकमा संग्रहीत ‘जबजसँगको मेरो यात्रा’ शीर्षक आफ्नो लेखमा जबज सम्बन्धि महत्वपूर्ण विचार व्यक्त गर्नुभएको छ । तपाईंले महाधिवेशन सकिएको केही दिनपछि एक भेटमा मदन भण्डारीले आफूसित कुरा गर्ने तत्परता देखाउनु भयो र भेटमा भण्डारीले …जीवनको यो सत्यलाई स्वीकार गरौं, यसमा म खुला छु भन्नुभयो तर फेरि मदनसित कुरा गर्नु भनेको आत्मसमर्पण ठानिने छ र स्वाभिमानविरुद्ध हुनेछ भन्ने ठानेर भेट्ने काम गरिएन भन्नुभएको छ । भुसालले जबज क्रान्तिकारी छ भन्ने विश्वास थिएन भन्दै … जबज पुष्टिका लागि अध्ययन आरम्भ गरेको थिइँन तर अध्ययन गहिरो बनाउँदै लगेपछि जबजलाई इतिहास र सिद्धान्तको प्रकाशमा विकसित गर्न सकिन्छ भन्ने लाग्दै गएको पनि बताउनु भएको छ । ‘… अन्ततः गहन अध्ययनबाट के टुङ्गोमा पुगियो भने शान्तिपूर्ण तथा प्रजातान्त्रिक बाटोबाट समाजको रुपान्तरण गर्ने सिद्धान्त नै आजको क्रान्तिको माक्र्सवादी सिद्धान्त हो । यसअनुसार सूत्रबद्ध गर्दा जबज नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त बन्छ भन्नुभएको छ (पृ.१२९ देखि १४६ ) ।
त्यसैगरी घनश्याम भुसालले आजको माक्र्सवाद र नेपाली क्रान्ति शीर्षक कृतिमा जनतालाई स्वतन्त्रतापूर्वक राजनीतिक र सामाजिक प्रक्रियामा सहभागी नबनाउँदा स्वयं समाजवादी राज्यहरु पनि ढल्ने स्थिति आउँदो रहेछ । तसर्थ राज्यद्वारा थोपरिएको एकात्मक शासन व्यवस्था अन्ततः जनताको शासन नहुँदो रहेछ । त्यसैले शासन व्यवस्थामा बहुलतालाई स्वीकार गर्नैपर्छ भन्नुभएको छ (पृ.२२३ ) । यसरी घनश्याम भुसालले जबजलाई जनवादी क्रान्ति पूरा गर्ने कार्यक्रम, कार्यदिशा र मान्यता मात्र होइन, यो पार्टीको रणनैतिक लक्ष अर्थात अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद निर्देश गर्ने सिद्धान्त हो भनेको देखिन्छ । तसर्थ उहाँले जबजको च्याप्टर क्लोज भनेको यसले निर्देश गरेको न्यूनतम कार्यक्रम बहुदलीय जनवादको एउटा अध्याय सम्पन्न भए पनि अर्को अध्याय अर्थात नेपाली विशेषताको समाजवाद स्थापना, विकास र सुदृढीकरण गर्ने अध्याय बाँकी रहेको भनेको हो भने यो कुरा अब खुलस्त रुपमा आउनुपर्छ ।
माओले सही सिद्धान्त भएर पनि हामी त्यसलाई खाली पाठ गर्छौं, दराजमा थन्क्याउछौं र कार्यमा प्रयोग गर्दैनौं भने त्यो सिद्धान्त जतिसुकै राम्रो भए पनि महत्वहीन हुन्छ भनेझैँ भयो भने त्यो भन्दा दुःखदायी के हुन्छ ? भुसाल कमरेड । घनश्याम भुसालले राजेन्द्र गौतमद्वारा सम्पादित नेपाली क्रान्तिको सिद्धान्त जनताको बहुदलीय जनवाद पुस्तकमा संग्रहीत ‘जबजसँगको मेरो यात्रा’ शीर्षक आफ्नो लेखमा जबज सम्बन्धि महत्वपूर्ण विचार व्यक्त गर्नुभएको छ
अहिले पार्टी विवादको पिँध जबजसितै सम्बन्धित छ र यसमा कसैले माथि र कसैले तल र कसैले तलवितल पार्ने गरी बहस सुरु हुन थालेको देखिन्छ । आजै वरिष्ठ नेता झलनाथ खनाल आफ्ना निकट विगतका पार्टी अनुशासन, सिद्धान्तलगायतका तमाम विचलन बिर्सिएर एक एफएममा अर्ती उपदेश गर्दै हुनुहुन्थ्यो । पूर्वमन्त्री तथा नेता कर्ण थापा, रमेश पौडेल, सुनिता बराल, बच्चन सिंह, आरसी लामिछाने जस्ता नेता कार्यकर्ता प्राप्त उपलब्धि र सरकारका कामबारे सन्तुलित तथा सैद्धान्तिक विषय राख्दै थिए । अर्कातिर सुरुदेखि नै ओलीविरुद्ध सक्रिय रहेका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे पार्टी विभाजनमा के कसरी सञ्चालित र सक्रिय रहँदै देश दौडाहामा हुनुहुन्छ भन्ने लेखो यस लेखकले राखेको छ । ओली सरकारलाई पूर्वराजाको शासन भन्दा कमजोर भनेर शत्रुवत कटाक्ष गर्ने पार्थ उपनाम थरिलाई नेता भन्न भारी सरम हुन थालेको छ ।
पार्टीको नवौैँ महाधिवेशनका सम्मुख स्वास्थ्य लाभ गरिरहनु भएका तर पार्टी अध्यक्षका प्रबल दावेदार ओलीलाई इहलोक छाडिसकेको भनेर सत्तोसराप गर्ने उदयपुरतिरका खतिवडा थरिका नेतालाई थाहा होस । त्यतिबेला ओच्छयानमा सुतीसुती अध्यक्षमा विजय हासिल गर्ने ओली अहिले देशव्यापी दौडाहामा आम जनता र कार्यकर्तासामु सरकार र पार्टीका तमाम सकार भन्दा तपाईंहरुको के हालत हुन्छ ? बेलैमा सोच्नु होला । यदाकदा सन्तुलित खालको अभिव्यक्ति दिने विष्णु रिजाल जस्ता अत्यन्त जिम्मेवार तहका नेता गुटगत निर्देशकै आधारमा होला राष्ट्रपतिप्रति नै अत्यन्तै आपत्तिजनक, असंयमित र अमर्यादित अभिव्यक्ति दिँदै हुनुहुन्थ्यो । फेक र पेड मिडियामा सदाबहार ओली विरोधी मजेदार चटपटे मसला बनेकी रामकुमारी झाँक्री पत्रकारले फुक्र्याएकै भरमा राष्ट्रपति, प्रधानमन्त्रीप्रति सदावर्त आरोप आक्षेपपूर्ण रोइलो गरिरहेकी छिन । तिनले प्रतिक्रियावादीको खिलौना बनेको अलि पछि थाहा पाउलिन तर हजार झुटलाई एउटै सत्यले सत्यानाश पारिदिन्छ झाँक्रीजी ।
पार्टी फोड्ने कुनियतका साथ गुटगत भेला गर्न प्रदेश नं. १ मा आउँदा बोली नबिकेर काठमाडौँ गएको झाँक्रीलाई सम्झना होस । उनले हिजोआज प्रचण्डलाई देवत्वकरण गरेको सुनिन्छ । व्यक्तिगत शुभलाभका लागि लाग्नेले आफ्नै आराध्य देवकै थात ठेगान धर्मराएको थाहा छ कि छैन । त्यसैले घनश्याम भुसालले आफ्ना वरपरका ढोडका तोक्माका मात्र भरमा नपरे हुन्छ । तर तिनलाई पनि अर्को कित्तामा पर्न दिनबाट बचाउनु पर्छ । मानिस त कहिल्यै कुनै जुनीमा बुद्धि विवेक नपलाउने पशु होइन, यो नरपशु हो । नरपशुको ढिलो चाँडो अवश्य बुद्धि विवेक पलाउँछ । त्यसैले अलि धैर्य गर्नुपर्छ तर संकटको सराथी बन्ने हो भने भुसाल कमरेडले सबै विषय र क्षेत्रमा सही अडान लिन सक्नुपर्छ । यसतर्फ तपाईंको पहल होस । संकटको सारथी बन्न सक्नुहोस ।
प्रतिक्रिया दिनुहोस्