जनता टाइम्स

१९ जेष्ठ २०७६, आईतवार १४:३६

२७ सय बचतकर्ता ठग्दै आफैं साहु र आफैं ऋणी बनिरहेको सिभिल सहकारी आंशिक बन्द


काठमाडौं,जेठ १९

आफैं साहु र आफैं ऋणी बनिरहेको सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ आंशिक बन्द भएको छ। चरम संकट बढेसँगै सहकारी नेतृत्वले गत जेठ १५ गतेदेखि सिभिल सहकारी बन्द भएको हो ।

संस्थाका नियमित काम प्रभावित भए पनि संस्थाले निक्षेपकर्तालाई बढीमा २ लाखसम्म निक्षेप फिर्ता दिने गरेको कर्मचारीले बताएका छन् । आफ्नो पैसा फिर्ताका लागि निक्षेपकर्ता धाउन थालेपछि नेतृत्वले संस्था बन्द गर्ने घोषणा गरेको अन्नपूर्ण पोष्टले समचार लेखेको छ । संस्थामा रहेका १७ जना कर्मचारी कार्यालय आउन छाडेका छन्।

सिभिलको आर्थिक वर्ष ०७४÷७५ को लेखापरीक्षण प्रतिवेदनअनुसार आठ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह भएकामा सिभिल ग्रुपका संस्थापक इच्छाराज तामाङको रियल स्टेट व्यवसायमा कुल कर्जाको ९० प्रतिशतभन्दा बढी लगानी छ। उक्त ऋण उठ्न नसक्दा सहकारी चरम समस्यामा परेको हो।

दुई हजार ६ सय ९० सदस्य बचतकर्ता रहेको सिभिल सहकारीको सिभिल होम्स प्रालि, सिभिल अपार्टमेन्ट प्रालि र सिभिल इस्टेट प्रालिमा सहकारीको ७ अर्ब ४२ करोड रुपैयाँ ऋण लगानी छ ।

सहकारीले निक्षेपकर्ताबाट ७ अर्ब ५१ करोड निक्षेप संकलन गरेको छ। कर्जा भने आठ अर्ब १३ करोड ६७ लाख प्रवाह गरेको छ। निक्षेपभन्दा कर्जा बढी हुनु सहकारीमा अति जोखिम मानिन्छ। सहकारीले आकर्षक अफर गरेर निक्षेप तान्ने गरे पनि सदस्यलाई ऋण दिन भने आनाकानी गर्दै आएको थियो।

सहकारी ऐन २०७४ अनुसार कुनै पनि सहकारीले कुल पुँजीकोषको १० प्रतिशतभन्दा बढी कर्जा एकै व्यक्तिलाई दिन मिल्दैन। यसरी आफैं सञ्चालक भएको सहकारीको ऋण निजी कम्पनीमा लगाउनु गैरकानुनी हो।

सिभिलले सर्वसाधारणको निक्षेप बटुलेर आफ्नो व्यापारमा अर्बौं प्रयोग गरिरहेको छ। सदस्यको पैसा आफूखुसी चलाउदाँ सहकारी समस्यामा परेको हो। संस्थाले आकर्षक ब्याजको प्रलोभनमा सदस्यबाट थप रकम उठाउन खोजेको थियो। तर, सदस्य निक्षेपकर्ताले पुरानै निक्षेपको ग्यारेन्टी नभएको भन्दै थप लगानी गर्दा इच्छुक नदेखिएपछि संस्था बन्द हुन पुगेको एक सदस्यले बताउनु भएको छ।

तर संस्थाका सदस्य राजु श्रेष्ठले ठूलो संस्थामा तलमाथि हुनु सामान्य भएको बताउनु भयो । उहाँले सदस्यलाई निक्षेप फिर्ता पाउन कुनै समस्या नभएको दाबी गर्नुभयो । ‘जसले जति पाउनुपर्ने हो, पाइरहेका छन्, संस्था बन्द भएको छैन्’, उहाँले भन्नुभयो । । राजु श्रेष्ठ संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठ का नातेदारसमेत हुनुहुन्छ । संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठले ऋण दिने आफ्नै संस्था, लिने आफ्नै परियोजना भएकाले कुनै समस्या नभएको बताउनु भएको थियो । तर, पछिल्लो समयमा सहकारी सदस्य आफ्नो पैसा फिर्ताका लागि कार्यालय धाउन थालेपछि संस्था संकटमा परेको हो। सिभिलले हाउजिङबाहेक १० प्रतिशत मात्रै अन्य क्षेत्रमा कर्जा प्रवाह गरेको छ।

सिभिल होम्सले लामो समयदेखि सहकारीको सावाँ र ब्याज तिर्न नसक्दा निक्षेपकर्ता मारमा परेका छन्।

सिभिल ग्रुपका अध्यक्ष इक्षाराज तामाङ सहकारी संस्थाको अध्यक्ष भएकै बेला रियल स्टेटमा कर्जा दुरुपयोग गर्नुभएको हो । उहाँ सहकारीका दुई कार्यकाल अध्यक्ष बन्नुभयो ।