जनता टाइम्स

२० जेष्ठ २०७६, सोमबार ११:१९

सर्वोच्चका यी चर्चित न्यायाधीश, जो पद छाडन बाध्य भए


काठमाडौं, जेठ २०

पछिल्लो समय सर्वाेच्च अदालतका न्यायाधीशहरु धमाधम बिवादित हुँदै घर जाने क्रम बढन थालेका छन । तात्कालिन प्रधानन्यायाधीश खीलराज खेग्मीले मन्त्रिपरिषदको अध्यक्ष र प्रधानन्यायाधीश दुवै पद रोज्दा चुनाव सकिएसँगै राजीनामा दिएर घर फर्कनु परेपछि न्यायालयमा त्यही चक्र चलिरहेको छ । गोपाल पराजुली र दीपकराज जोशीले पनि बिवादकै बीच अदालतबाट बाहिरिनु परेको छ ।

पछिल्लो आधा दसक सर्वोच्च अदालतकै न्यायाधीहरु पनि बिवादमुक्त हुन सकेका छैनन । सर्वाेच्चको न्यायाधीश न्यायपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गर्छ । प्रधानन्यायाधीश भने प्रधानमन्त्री सम्मिलित रहेको संवैधानिक परिषद्को सिफारिसमा सुनुवाइ समितिले नै अनुमोदन गर्छ । तर, सर्वोच्चका न्यायाधीशहरू विभिन्न विवादमा मुछिएका छन । प्रधानन्यायाधीशसमेत विवादमा फसेपछि कार्यकालको बीचैमा राजीनामा दिएर हिँडेका छन ।

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली शैक्षिक प्रमाणपत्र, जन्ममितिलगायतको विवादमा फस्नुभयो । आफू सही रहेको जिकिर गरिरहँदा पराजुलीलाई न्यायपरिषदकै सचिवले उमेरहदका कारण अवकाश पाएको भन्दै ३० फागुन ०७४ मा पत्र काटनु भयो । आफू सही रहेको जिकिर गरिरहँदा पराजुलीले सावित गर्न सक्नुभएन । उमेर सच्याएर समयअवधी भन्दा बढी पदमा बसेको कारण प्रधानन्यायाधीशबाट पदमुक्त हुनुपर्यो । पराजुलीलाई परिषद सचिवले पत्र दिएको २४ घण्टा नबित्दै बरिष्ठ न्यायाधीश दीपकराज जोशीले सर्वाेच्च प्रशासन आफ्नो हातमा लिएर कायममुकायम प्रधानन्यायाधीश बन्नुभयो ।

लामो समयसम्म सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशका रूपमा जोशी रहनुभयो । तर उहाँ पनि राजीनामा दिएर बाहिरिनु पर्यो । जोशी पनि पराजुली जस्तै शैक्षिक प्रमाणपत्रलगायतका विवादमा फसेपछि कार्यकाल नसकिँदै बीचैमा अदालतबाट राजीनामा बुझाउन बाध्य हुनुपर्यो । संसदीय सुनुवाइ समितिले आचरण, इमानदारी र कार्यक्षमताको अभाव, शैक्षिण प्रमाणपत्र सन्देहात्मक रहनुका साथै जन्ममितिसमेत फरक–फरक रहेकोलगायतका कारण देखाउँदै जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गर्यो ।

संसदीय समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेपछि सर्वाेच्चमा न्यायाधीशकै हैसियतमा बस्ने जोशीको चाहनामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा बाधक बन्नुभयो । पदबहालीमै राणाले बिदा भएर अदालतको गरिमा बचाउने काम गर्न सुझाउनु भयो । आफ्नो शपथग्रहणमा समेत सहभागी नगराउनु भएका राणाले आफूपछिको बरिष्ठ न्यायाधीश तथा पहिला आफू भन्दा माथिल्लो बरियतामा रही कामु प्रधानन्यायाधीश बनेर पेश तोक्ने जोशीलाई कुनै जिम्मेवारी दिनुभएन । कारण केही समयपछि जोशी अदालतबाट बिदा हुनुपर्यो ।

प्रधानन्यायाधीश भएकै वेला खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको भन्दै लामो बहस चल्यो । प्रधानन्यायाधीश बहाल रहेकै वेला रेग्मीलाई संविधानको बाधा अड्काउ फुकाउमार्फत ०६९ सालमा मन्त्रिपरिषद्को अध्यक्ष बनाइएको थियो । न्यायाधीश, कानुन व्यवसायी, नागरिक समाजको दबाबपछि रेग्मीले ०७० माघमा मन्त्रिपरिषद्को अध्यक्षसँगै प्रधानन्यायाधीशबाट पनि राजीनामा दिनुपरेको थियो ।

पछिल्लो समय न्यायाधीशको कारण सर्वाेच्च अदालतमा बिवाद बढदै गएपनि यो इतिहास पुरानै हो । सर्वोच्चका न्यायाधीश तथा पूर्वउपराष्ट्रपति परमानन्द झा लागुऔषध मुद्दामा दोषीलाई सफाइ दिएपछि बीचैमा न्यायाधीश पदबाट राजीनामा दिनुपरेको थियो । सर्वोच्चकै राजेन्द्रनाथ नाक्पा, कृष्णजंग रायमाझी र बलिरामकुँवर शाहले पनि आफूले गरेको फैसला विवादित भएपछि बीचैमा राजीनामा दिनुभएको थियो ।

बिदा हुने बेला प्रधानन्यायाधीश सुशिला कार्की पनि बिवादमा पर्नुभयो । सरकारको काममा अति नै हस्तक्षेप गरेको भन्दै कांग्रेसले कार्कीबिरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरी केही समय काम गर्न दिएन । यद्यपी उहाँलाई अपमानपुर्वक घर पठाउने कांग्रेस सभापति शेरबहादुर देउवाको योजना पूरा भएन ।

प्रधानन्यायाधीश राणामाथि भने आम नागरिकको बिश्वास बढदै गएको छ । सर्वाेच्चको नेतृत्व लिएपछि अघि बढाएको सुधार योजना र सेटिङमा हुने फैसलामाथि कडाई गर्दै देश र जनताको पक्षमा निर्णय आउन थालेपछि राणामाथि नागरिकको भरोस बढनुका साथै न्यायालयप्रति बिश्वास बढन थालेको हो । तर राणा पनि अवकाश पाउनु अघिसम्म यही अवस्थामा रहने हुन कि होइनन भन्ने प्रश्न यथावत रहेको छ । यही शैली कायम रहे सवैले वाहवाही गर्ने प्रधानन्यायाधीशका रुपमा राणा बिदा हुने तर अघिल्ला प्रधानन्यायाधीशको सिको गरे उही अवस्था दोहोरिने सर्वाेच्च बारका एक पदाधिकारीको बुझाइ छ ।