सर्वविदितै छ , तत्कालीन एमालेका निर्वाचित अध्यक्ष प्रधानमन्त्री के पी शर्मा ओली नै नेकपाको सबभन्दा शीर्ष र आधिकारिक नेता हुन् । पार्टीको आधिकारिकताको दावी प्रचण्डले गर्न सक्दैनन्, अरु नेताले सक्दैनन् । अरुले जति पार्टी विभाजनको हौवा फिंजाए पनि के पी शर्मा ओली नडग्मगाउदासम्म नेकपालाई कसैले फुटाउन सक्दैन । प्रचण्डकै शब्दमा पार्टी विभाजन गरेर पछाडि फर्कने पुल भाँचिइसकेको छ, फेरि फर्केर पुल बनाउन संभव छैन
निर्मल भट्टराई
विचार अनुसारको चरित्र हरेक मानिसमा अपेक्षा गरिएको हुन्छ । व्यक्तिले व्यक्त गर्ने विचार उसको कार्य, बानी वा चरित्रसंग मेल नखाए त्यो विचार नक्कली हुन्छ । निःसन्देह, विचार अनुसारको कार्य नगर्ने, बानी नसुधार्ने र चरित्र प्रदर्शन नगर्ने व्यक्ति अविश्वसनीय हुन्छ, कहिलेकहीं खतरनाक समेत हुन्छ ।
एक चिनियाँ दार्शनिकले भनेका छन्—आफ्ना विचारको ख्याल गर किनभने ती शब्द बन्दछन् । शब्दहरुको ख्याल गर, किनभने ती कार्य बन्दछन् । कार्यहरुको ख्याल गर किनभने ती बानी बन्दछन् । बानीहरुको ख्याल गर किनभने ती चरित्र बन्दछन् । चरित्रको ख्याल गर किनभने ती भाग्य बन्दछन् । र, भाग्य नै तिम्रो जीवन हुनेछ । कुनै नेताको विचार एकातिर र कार्य, बानी व्यवहार र चरित्र अर्कैतिर देखिंदा सो नेताप्रति जनताको विश्वासको पारो स्वात्तै घट्दछ ।
अहिले दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल“प्रचण्ड”को सवालमा त्यस्तै हुन लागेको आभाश हुन्छ ।प्रधानमन्त्रीलाई चौतर्फी घेराबन्दी गरेर काम गर्न नदिएका दाहालका पार्टी विभाजनका हालका गतिविधिले उनको विश्वसनीयतामा थप स्खलन भएको छ । पार्टी एकताका काम बाँकी हुदै पार्टीमा विभाजन गर्दै हिड्नु पर्ने वाध्यतामा पुगेका प्रचण्ड आफैचाहिँ ईतिहासमै गम्भिर संकटमा रहेको साँचो हो । जीवनमा पार्टी भत्काउदै हिडेका प्रचण्ड अब आफैं सम्पूर्ण रुपमा भत्कदैछन् । कम्युनिष्ट आन्दोलनका एक नकारात्मक पात्रको रुपमा खडा हुदैछन् ।
भत्काउने यावत् षणयन्त्रका बावजूद नेकपा त के पी शर्मा ओलीको नेतृत्वमा राष्ट्रव्यापी रुपमा झन सबल बन्दै गएको छ । एकताको नाममा पार्टीलाई माथि पनि चल्न नदिने, तल पनि चल्न नदिने चालवाजी तोडेर पार्टी जनताको घरदैलोमा पुग्न थालेको छ । कमरेड प्रचण्डको राजनीतिक उदय माओवादी विचारबाट भएको हो । भन्न परोइन, माओवाद दीर्घकालीन जनयुद्धको माध्यमद्वारा सत्ता कब्जा गर्ने विज्ञान हो । सत्ता कब्जा गर्ने उद्देश्य राखेर दस बर्षे जनयुद्ध सञ्चालन गरेका प्रचण्ड शान्तिपूर्ण जनआन्दोलन, दुई दुईवटा संविधानसभाको चुनाव, संसदीय प्रक्रियाबाट संविधान जारी, यही विचको अवधिमा लोकतान्त्रिक प्रक्रियाबाट दुई–दुई पटक प्रधानमन्त्री बनिसक्दा पनि माओवादी धङ्धङीबाट मुक्त हुन सकेनन् ।
२०४९ सालमा भएको तत्कालीन एमालेको पाँचौं महाधिवेशनबाट जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादी कार्यक्रम पास भएपछि र त्यसले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो समर्थन र ख्याती कमाए पछि त्यसको विकल्पमा २०५२ साल फागुनमा माओवादी सशस्त्र विद्रोह शुरु भएको थियो । मदन भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनको कार्यक्रममा प्रयोग गरेकोको “बहुदलीयता” शब्दप्रति तीव्र घ्रिणा नै तत्कालीन माओवादी आन्दोलनको वैचारिक प्रस्थानविन्दु थियो ।
२०५१ जेठ १६–२०सम्म चितवनमा सम्पन्न तत्कालीन माओवादी पार्टीको प्रथम राष्ट्रिय सम्मेलनमा कमरेड प्रचण्डद्वारा प्रस्तुत एवं पारित राजनीतिक प्रतिवेदनमा जबज र एमालेप्रति गरिएको टिप्पणी यसको सबभन्दा दह्रो प्रमाण हो । त्यहाँ भनिएको छ–“हाम्रो पार्टीको महाधिवेशन भएदेखि एताको अढाईबर्षको अवधिमा एमाले संशोधनवादी गूट सैद्धान्तिक रुपमा र व्यवहारिक दुवै अर्थमा प्रतिक्रियावादीको स्तरमा गिर्दै गएको छ । यसले संसदीय व्यवस्थाप्रतिको आफ्नो विश्वासलाई बहुदलीय जनवादको पूँजीवादी राजनैतिक दिशा निश्चित गरेर घोषितरुपमा जाहेर गरेको छ । प्रतिक्रियावादी सरकार र व्यवस्थाको रक्षाको निम्ति त्यसले जानीबुझी जनतालाई धोका दिएको छ । विभिन्न साम्राज्यवादी,विस्तारवादी एवं प्रतिक्रियावादी गुटहरुसंगको दावेदारी र तालमेलद्वारा यही प्रतिक्रियावादी व्यवस्थाअन्तर्गत सत्तामा पुग्ने दाउपेचमा यो गुट दिलोज्यानले लागिपरेको छ ।
सरकार बनाउने हौवा खडा गरेर यो गुटले कार्यकर्ता र जनतालाई भ्रम दिन पूरा कोशिस गरिरहेको छ । यसरी सिद्धान्त, राजनीति र व्यवहारिक आचरणको कुनै पनि हिसाबले एमालेगुटले अब निम्न पूँजीपतिबर्गको समेत प्रतिनिधित्व गर्न नसक्ने हुदै गएको छ । यो गुटको अब सामान्य देशभक्त र जनतान्त्रिक चरित्र पनि तीव्र गतिमा ह्रास भईरहेको छ । हामीले अगाडि एमाले संशोधनवादी गुटको यसप्रकारको चरित्रको व्यापक र व्यवस्थित भण्डाफोर गर्दै ….” जनताको बहुदलीय जनवादलाई यसरी तारो हान्दै राजनीति शुरु गरेका प्रचण्डलाई जीवनको उत्तराद्र्धमा घुमीफिरी आफ्ना पुराना सबै विचारलाई तिलाञ्जली दिएर जबजकै लाईनमा लाग्न पक्कै सहज छैन, संकटपूर्ण नै छ । त्यहीकारण कमरेड प्रचण्ड गम्भिर एवं संकटपूर्ण वैचारिक संक्रमणकालबाट गुज्रदैछन् । युद्ध-राजनीतिबाट उदाएका प्रचण्ड चुनाबी राजनीति गर्न नसकेर निकट भविष्यमा नेपाली राजनीतिबाटै अस्ताउने खतरामा छन् उनी ।उनको अहम् दौराविनाको खल्तीजस्तो भएको छ । उनले सिर्जना गरेको विरासतको लगभग विसर्जन भएको छ ।
उनलाई वैचारिक सहजीकरणको आवश्यकता थियो, उद्दारको आवश्यकता थियो । जबजले उनलाई गलाउने र वैचारिक संक्रमण हुने अपेक्षा थियो । तर त्यसो हुन सकेन । के पी शर्मा ओलीसंग मिलेर बस्न नसकेका प्रचण्ड अहिले माधव नेपालसंग मिलेर बाक्लो दाल पकाउने प्रयत्न गर्दैछन् । समयक्रममा उनलाई थाहा हुनेछ-माधव नेपाल कति अक्कर छन् । एकता प्रक्रिया नै नटुङ्गिएको नेकपा अहिले विभाजनको प्रक्रियामा पुर्याइदैछ । कमरेड प्रचण्ड लगायतका केही शीर्ष नेताहरु नै पार्टी विभाजनको रेखा कोर्दैछन् । ईतिहासमा फुट र विभाजनका ठूल्ठूला पीडा भोगेर आएको नेकपा यस्ता सानातिना षणयन्त्रबाट तहसनहस हुदैन भन्ने हेक्का शीर्ष नेतामै नहुनुचाहिँ अत्यन्त आश्चर्यजनक र विडम्वनायुक्त छ । बरु एकताको भागबण्डा र अन्योलका कारण लकडाउनलाई तोडेर नेकपालाई जनतासम्म पुग्न अब कसैले रोक्न चाहेर पनि सक्दैन । तृणमूल तहसम्मको नेकपाको संगठनलाई पदीय हिसाबकिताब सहितको पूँजीवादी स्वार्थले विभाजनमा लान सक्दैन । विगतमा सकेन, अब झन सक्दैन ।
सर्वविदितै छ , तत्कालीन एमालेका निर्वाचित अध्यक्ष प्रधानमन्त्री के पी शर्मा ओली नै नेकपाको सबभन्दा शीर्ष र आधिकारिक नेता हुन् । पार्टीको आधिकारिकताको दावी प्रचण्डले गर्न सक्दैनन्, अरु नेताले सक्दैनन् । अरुले जति पार्टी विभाजनको हौवा फिंजाए पनि के पी शर्मा ओली नडग्मगाउदासम्म नेकपालाई कसैले फुटाउन सक्दैन । प्रचण्डकै शब्दमा पार्टी विभाजन गरेर पछाडि फर्कने पुल भाँचिइसकेको छ, फेरि फर्केर पुल बनाउन संभव छैन ।
कमरेड प्रचण्डले तत्कालीन माओवादीको नेतृत्व गरेदेखि तत्कालीन एमालेसंग एकीकरणमा आईपुग्दासम्म एकल नेतृत्वको अभ्यास गर्दै आए । फरकमतलाई पार्टीभित्र नसहने बरु पार्टी छोड्न वाध्य पार्ने कार्यशैलीबाट अभ्यस्त प्रचण्डलाई तत्कालीन एमालेको सामूहिक नेतृत्वको शैलीमा अभ्यस्त हुन त्यत्तिकै संकट छ । “सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारी”को तत्कालीन एमाले परम्परा अँगालेको नेकपाका ‘कार्यकारी’ अध्यक्ष हुँदा पनि कमरेड प्रचण्डलाई कुनै ‘फिल’ भएन । सामूहिक नेतृत्वमा हुने त त्यही हो । माओवादी जनयुद्ध उत्कर्षमा पुगेको बखत आफ्नो तजविजले गरेका निर्णय र फर्माइएका आदेशको फिल अहिले सम्झेर त कसरी चल्छ र ? त्यो पैमानाको अध्यक्षको ‘फिल’ त नेकपामा कहिल्यै कसैलाई हुन सक्दैनथ्यो नै । एउटा लोकतान्त्रिक पार्टीमा यस्तो अपेक्षा राख्नु नै गलत छ ।
यसले त केवल सर्वसत्तावादी चरित्रको संकेत गर्दछ । ठूलो पार्टीमा आफ्नो एकलौटी आदेश फर्मान गर्न नपाएर पार्टी फुटाएर एकलौटी गर्ने उनको उदेश्य पनि पूरा हुने अवस्था छैन । तत्कालीन एमालेमा लामो लोकतान्त्रिक अभ्यास गरेर आएका र हाल दाहाल-नेपाल समूहमा रहेका नेताहरूले यो मान्ने वाला छैनन् । विगतको जस्तो एकलौटी गर्न त उनको पुरानो समूह लिएर त्यहाँबाट पनि छुट्टिनु पर्ने हुन्छ । पिण्डम् स्थाने पिण्डम् गर्नु पर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्