जनता टाइम्स

११ माघ २०७७, आईतवार ११:००

प्रधानमन्त्री बन्न प्रचण्डले बारम्बार ज्ञानेन्द्रसँग बार्ता गरेको यो तथ्य छोप्न सकिन्छ र ?


प्रचण्डले आफू प्रधानमन्त्री हुन बारम्बार ज्ञानेन्द्रसँग बार्ता गरेका कुरा मितेरी अस्पतालका संचालक बिरेन्द्र झापाली र डिआर लामिछाने साक्षी छन् । लामिछानेको मृत्यु भैसकेपनि झापाली छन् । दोस्रो वार्ताकालमा सिधै ज्ञानेन्द्र र प्रचण्डको वार्ता गराउने मध्यस्थकर्ता यी दुइ थिए । जब प्रचण्ड बसेको ठाउँमा राजा ज्ञानेन्द्रबाट सैनिक परिचालन भयो, त्यसपछि बाबुरामको शरणमा पुगेर प्रचण्ड बाबुरामको लाइनमा पुगेका हुन्

महेन्द्र पौडेल

कुनैपनि ब्यक्तिलाई बिचार, क्षमता र योग्यतामा पराजित गर्न सकिएन भने उसको चरित्रमा प्रहार गर्नुपर्दछ । यदि चरित्र पनि ठिकै छ भने उसको भनाईलाई समाउनु पर्दछ । उसको स्वभावलाई केलाउनु पर्दछ । यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिढिएकाहरुले ओलीको अभिब्यक्त वा भनाईहरुलाई मिसनमा हालेको पाइन्छ । कुनैबेला ब्यक्त गरेका आफ्ना भनाईलाई टार्गेट गरेर बारबार ओलीको मर्ममा प्रहार गर्दा उनीहरु नांगिएको कमैले मुल्यांकन गरे होलान ।

प्रसंग हो समृद्धि र राष्ट्रियताको अडानमा दृढतापुर्वक खडा हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रहार गर्न क्वाइन गरिएको एउटा भनाई । बिहिबार माधव–प्रचण्ड समुहले फेरि पनि ओलीलाई बयलगाडा शब्दले प्रहार गरे । कमरेड प्रचण्डले बारम्बार भनिरहे ‘जब हामी राजसंस्थाको बिरुद्धमा आन्दोलन गर्दा’ उहाँले ‘बयलगाडामा चढेर अमेरिका पुगिन्न’ भन्नुभयो । उहाँ गणतन्त्र बिरोधी हो भन्नुभयो । यसो भन्दैगर्दा प्रचण्ड आफैं कति खुइलिए भन्ने उहाँलाई हेक्का छैन । अब धेरै उता नगइकन २०५७ देखि यता गणतन्त्र, संघीयता र बयलगाडामा विश्लेषण गरौं ।

२०५७ सालमा तत्कालिन माओवादीको दोस्रो राष्ट्र्रिवय सम्मेलनमा पार्टीको बिचारका रुपमा ‘माक्सवाद–लेनिनबाद र प्रचण्डपथ’ पारित गरियो । प्रचण्डपथ र प्रचण्डका बिचारहरु भनेर किताबहरु छरपष्ट निस्किए । त्यतिबेलासम्म प्रचण्ड जंगलका सिंहजस्ता थिए । मिडियामा उनको तस्बिर सार्वजनिकसमेत भएको थिएन । प्रचण्ड एउटा अनुमान मात्र थिए सबैका लागि । ०६२।०६३ को जनआन्दोलनपश्चात प्रचण्ड सार्वजनिक भए । वालुवाटारमा सार्वजनिक हुँदा प्रचण्डको राप र तापले देशले न्यानो महशुस गर्न थालेको थियो । भाषण गर्दागर्दै वालुवाटारमा लाइन गएपछि प्रचण्डले देशको हालत यस्तो भनेर कटाक्ष गरेका थिए ।

२०६४ सालमा संविधानसभाको निर्वाचन भएपछि ६०१ स्थानमध्ये माओवादीले प्रत्यक्ष र समानुपातिक गरी २२९ स्थान प्राप्त गरी सवैभन्दा ठुलो दल बन्यो । संविधानसभाको पहिलो बैठकले लोकतान्त्रिक गणतन्त्र स्थापना गरियो । ०६५ साल श्रावणमा संविधानसभाको बहुमतले प्रचण्डलाई गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री चुन्यो । प्रचण्ड प्रधानमन्त्री भएपछि कर्मचारी बृत्तमा सर्तकता छायो। कालाब्यापारीहरुको भागाभाग भयो। मेनपावरहरुले अफिसमा पासपोर्टहरु नराख्ने । प्रहरी प्रशासनहरु सबै डराएका थिए । अव देशमा प्रचण्डले कहाँ कहाँ छापा हानेर देश कसरी हाँक्छन् भनेर सबैक्षेत्र त्रासमय भएको मैले अनुभव गरेको थिएँ । हामी केही सरकारी गैरसरकारी क्षेत्रमा पुगेर प्रतिक्रिया लिँदा त्यो थाहा पाउँथ्यौं । तर प्रचण्ड त तिनै कालाबजारियादेखि बदमासहरुको संरक्षक पो बने ।

अस्थिरतामा खेल्न रमाउने प्रचण्ड

मान्छेले एउटा उचाई कायम राख्नु र राखिरहनु फरक कुरा हो । सगरमाथामा झण्डा गाडिरहन सकिँदैन । प्रचण्डले आफ्नो उचाई घटाउँदै लगे । ०६५ सालमा प्रधानसेनापतिको अवकाशलाई लिएर नेपाली सेनामाथि प्रचण्डको प्रहार तुहाइयो । तत्कालिन सेनापति रुक्मागत कटुवाललाई प्रचण्डले हटाइदिए । तर राष्ट्र्रपति डा. रामवरण यादले असंवैधानिक कदम भनेर पुर्नस्थापना गरेपछि नैतिक संटक आइलाग्यो र प्रचण्डले प्रधानमन्त्रीबाट चैत्र २२ गते राजीनामा दिए । संसदबादी दलदलमा प्रचण्ड फस्न पुगेँ । उनले चुनाव हारेका माधव नेपाललाई ल्याएर एमालेसँग मिलेर प्रधानमन्त्री बनाइदिए । फेरि माधवकुमार नेपाललाई फालेर उनले झलनाथ खनाललाई प्रधानमन्त्री बनाइदिए । एमालेभित्र प्रचण्ड ‘किंगमेकर’ बनेर खेल्नुसम्म खेले ।

आफ्नै सहकर्मीलाई प्रधानमन्त्री बनाउने खेलमा नलागेको भन्दै चारैतर्फ उनको आलोचना भएपछि उनले ०६८ सालमा बाबुराम भटृराईलाई प्रधानमन्त्रीमा प्रस्ताव गरे । रामचन्द्र पौडेललाई हराएर बाबुराम भटृराई संविधानसभाबाट प्रधानमन्त्री चयन भए । सोही वर्ष २०६९ साल जेठ २ गते बाबुराम भटृराइको समितिले संविधान जारी गर्दैथियो । देव गुरुंगले सबै ड्र्राफ्ट गर्दैथिए । प्रचण्डको लोकप्रियता घट्दै थियो र बाबुराम लोकप्रियताको शिखर चढ्दै थिए, अब संविधान बाबुरामले ल्याउनेछन् भन्ने भयबाट रातरात असफल बनाइयो र ०६९ कै जेठ १४ मा संविधानसभा भंग गरियो । यो भंग हुनुमा प्रचण्डको हात छ । इतिहासमा दुर्भाग्यका रुपमा यो घटनालाई लिइन्छ । बाबुराम भटृराईले संविधान जारी गर्न नसकेपछि राजीनामा दिए । यस घटनाभन्दा अघि फेरि एकपटक पछाडि फर्कौ ।

कसरी छाडे प्रचण्डले माओवाद ?

०६५ मंसिर ६ देखि ११ गतेसम्म भक्तपुरस्थित खरिपाटीमा चलेको राष्ट्रिय भेलामा प्रचण्डले पेश गरेको राजनैतिक दस्ताबेजमा ‘प्रचण्डपथ’ समेटिएको थियो । त्यो सम्मेलनमा प्रचण्डपथलाई पुर्नबिचार गर्नुपर्ने भनेर मोहन बैद्यले फरक दस्ताबेज पेश गरे । सोही वर्षको पुष ३० गते नारायणकाजी श्रेष्ठको नेतृत्वमा रहेको नेकपा एकता केन्द्रसँग पार्टी एकता गर्दै प्रचण्डपथ र माओवादी छाडिए । प्रचण्डले लिखितरुपमै प्रचण्डपथलाई स्थगित गर्दै ‘माक्सवाद–लेनिनवाद–र माओवाद विचारधारालाई पार्टीको पथप्रदर्शक’ सिद्धान्त मान्ने प्रस्ताव थियो । यसबाट के प्रष्टहुन्छ भने माओवाद र प्रचण्डपथ छाडेर हामी बिचारधारामा मात्रै मान्ने भए सिद्धान्त होइन ।
प्रचण्ड कसरी गणतन्त्रबादी भए ?

पहिला प्रचण्ड गणतन्त्रबादी थिएनन, होइनन । उनीचाँहि ज्ञानेन्द्रसँग बार्ता गरेर प्रधानमन्त्री हुने लाइनमा थिए । ज्ञानेन्द्रले गणतन्त्रबादी र ननगणतन्त्रबादी बीच कित्ताकाट हुनपरयो भनेपछि प्रचण्डले गणतन्त्र भएकै आधारमा बाबुराम र दिनानाथ शर्मालाई कारवाही गरे । ज्ञानेन्द्रले अब माओवादी सिद्दियो । प्रचण्ड बसेकै घरलाई ताकेर हेलिकप्टरबाट वमवर्षा भएपछि बाबुरामको शरणमा गणतन्त्रको लाइनमा गए प्रचण्ड । यसलाई बहुचर्चित चुनवांग बैठक भनिन्छ । सो बैठकको लोकतान्त्रिक गणतन्त्र कार्यनीति पासगर्दै संसदबादी दलहरुसँग सहकार्य गर्ने भनियो र १२ बुँदे सहमति कायम भयो । माओवादीले जनयुद्ध सुरु गर्दा गणतन्त्रको कुनै श्वरनै थिएन । जब राजा बिरेन्द्र मारिएपछि मात्र गणतन्त्रको श्वर उर्लेको हो । ०५२ सालमा ४० सुत्रीय मागहरुमा बुझाएर माओवादीहरु जंगलपस्दा स्पष्ट रुपमा गणतन्त्र लेखिएको थिएन ।

प्रचण्डले बिगतमा भारतलाई निम्त्याएका हुन

नारायणकाजीको साथ पाएपछि प्रचण्डले कहिले मोहन बैद्यलाई कहिले बाबुरामलाई पेल्ने गरेपछि ०६९ सालमा बैद्यहरु फुटे । बाबुरामले पार्टी पुर्नसंरचना गरौं भन्दा प्रचण्डले पार्टीलाई पारिवारिक लिमिटेड बनाइदिए । सबै परिवार नातागोतालाई केन्द्रीय समिति बनाइदिए । पहिलो संविधानसभा पनि प्रचण्डकै कारण भाँडिएको पीडा एकातिर बाबुरामहरुलाई थियो । त्यसअघि बाबुरामको राजीनामापछि पार्टी महाधिवेशनतिर लाग्यो भने प्रचण्डले भारतलाई गुहारेर खिलाराज रेग्मीलाई प्रधानमन्त्री र चुनावी सरकार वनाउन सहयोग गर्न लगाए ।

यस पंक्तिकारलाई एकदिन बाबुरामका राजनीतिक गुरु मानिने एसडी मुनीले भने–‘तिम्रो देशमा अबको पीएम सीजे हो ।’ मुनीले एकमहिनाअघि बताएका थिए यी कुरा । मैले तत्कालिन सौर्य दैनिकका प्रधानसम्पादकलाई भनेको पनि थिएँ । मेसेजसहित पठाएको थिएँ यस बारेमा । यसरी प्रचण्डले त्यतिबेला भारतलाई देश चलाउन आव्हान गरे । जसबाट नेपालको इतिहासमा खिलाराज रेग्मी नेपालको कार्यकारी भएर आए । यही प्रवृति यसपटक पनि गर्न खोजेका थिए । श्रीमतीको उपचारका नाममा तर भारतको मौनता देखेपछि उनी नेपाल आएर भारतको मौनता रहस्यमय भन्दै भारतको इशारामा केपी ओलीले संसद विघटन गरेको उल्टै आरोप लगाए ।

यसरी पार्टी पतनतर्फ उन्मुख ?

खिलाराज रेग्मीको नेतृत्वले ०७० मंसीरमा दोस्रो संविधानसभाको निर्वाचन गरिदिएपछि समानुपातिक र प्रत्यक्षगरी पार्टी ८० सीटमा खुम्चिन पुग्यो । संविधानसभामा तेस्रो भएपनि बाबुरामलाई संविधान निर्माणको जिम्मेवारी थियो । ०७२ असोज ३ गते नयाँ संविधान जारी गरेर बाबुराम निक्लिए । असोजमै बाबुराम पार्टीबाट निक्लिएर नयाँ शक्ति पार्टी बनाए । एमालेले शुसील कोइरालालाई प्रधानमन्त्री बनायो । संबिधान घोषणापछि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री चुनिए प्रचण्डको सहयोगमा । सरकारमा माओवादी पनि सामेल भयो । फेरि आफैंले बनाएका प्रधानमन्त्रीको बिरुद्ध काँग्रेससँग मिलेर अविश्वासको प्रस्ताव लगेर केपी ओलीलाई फालेर आफैं प्रचण्ड प्रधानमन्त्री बने । प्रचण्डले राजनीतिक सहमती अनुसार शेरवहादुर देउवालाई हस्तान्तरण गरे । शेरवहादुर देउवाले चुनाव गराए ।

गणतन्त्र र संघियता कसको लाइन ?

यसरी बैचारिक बिचनल देखिएका प्रचण्डको कुनै राजनीतिक लाइन छैन । संघीयताको लाइन र देशमा संघीयता कार्यान्वयनमा ल्याउन देन उपेन्द्र यादवको छ भने गणतन्त्रको देन बाबुराम भटृराईको हो । गणतन्त्रको वकालत बाबुराम भटृराइले पहिल्यैदेखि गरेका हुन । उनको दुइदशकअघिको बिजयकुमारसँगको अन्र्तवार्ता गहिरिएर हेर्दा हुन्छ । प्रचण्डले आफू प्रधानमन्त्री हुन बारम्बार ज्ञानेन्द्रसँग बार्ता गरेका कुरा मितेरी अस्पतालका संचालक बिरेन्द्र झापाली र डिआर लामिछाने साक्षी छन् । लामिछानेको मृत्यु भैसकेपनि झापाली छन् । दोस्रो वार्ताकालमा सिधै ज्ञानेन्द्र र प्रचण्डको वार्ता गराउने मध्यस्थकर्ता यी दुइ थिए । जब प्रचण्ड बसेको ठाउँमा राजा ज्ञानेन्द्रबाट सैनिक परिचालन भयो, त्यसपछि बाबुरामको शरणमा पुगेर प्रचण्ड बाबुरामको लाइनमा पुगेका हुन् । भने तराई नरसंहारबाट संघीयता आएको हो यसको देन उपेन्द्र यादवमाथी जान्छ । राजनीतिक विश्लेषणहरुले यी कुरा बुझेका छन् ।

बयलगाडा भनाईको अर्थ के हो ?

०६२ । ०६३ को जनआन्दोलन चलिरहेको थियो । काँग्रेसमा गुरु घिमिरे र गगन थापाले गणतन्त्रको श्वर सडकमा ल्याएका थिए । तर काँग्रेसको विधानमा ‘संबैधानिक राजतन्त्र’ भन्ने थियो भने एमालेको बिधानमा पनि संबैधानिक राजतन्त्रसहितको प्रजातन्त्र भनिएको थियो । यस्तोमा दुइ चार जनाले सडकबाट गणतन्त्र र पार्टीमा दुइ चार जनाले गणतन्त्र भनेर पाखुरा मुर्सादा पार्टीको लाइन एकातिर गणतन्त्र अर्कोतिर हुने हुँदा यसरी आन्दोलन गरियो भने कहिँ पुगिन्न । त्यसकारण यस्तो किसिमको आन्दोलनले ‘बयलगाडा चढेर अमेरिका जान खोज्नु जस्तो हो ।’ पार्टीको लाइन, बिचार र दृष्टिकोण एकातिर यात्रा अर्कोतिर भयो भनेर उहाँले यस्तो भन्नुभएको थियो । त्यसपश्चात एमालेले राजसंस्था उन्मुलन गर्दै गणतन्त्रमा जाने पार्टीका नीति र विधान बनायो । सँगसँगै केपी ओली र नरहरी आचार्य मिलेर महाराजगंजमा गोप्य बैठकले एउटा प्रतिवेदन बनाए ।

सो प्रतिवेदनलाई गिरिजा बाबुलाई दिइयो । गिरिजा बाबुले पार्टीको बिधानबाट संबैधानिक राजतन्त्र हटाएर गणतन्त्र भनेर लेख्न लगाए । त्यो कुरालाई वयोवृद्ध नेता कृष्णप्रसाद भटृराइले विरोधसमेत गरेपनि काँग्रेसले टेरेन । अन्ततः दुइटा पार्टीले गणतन्त्रमा जाने जोड दिए जसको श्रेय केपी ओलीमा जान्छ । र त्यसपछि बल्ल नीतिगत रुपमा दुवै पार्टीले गणतन्त्रको लागि आन्दोलन गरे । त्यसपछि बल्ल सडकमा जनता उर्लेका हुन । इतिहासमा सही र तथ्य कुरालाई लेख्न भन्न डराउनु हुँदैन । बयलगाडाले नै गणतन्त्र ल्याएको हो । यसरी बल्ल बयलगाडाबाट गणतन्त्र आएको हो भन्दा अत्युक्ति हुँदैन ।