काठमाडौं, जेठ २२
बूकवर्म फाउण्डेसनको योजनामा महिनावारी स्वच्छता दिवसको उपलक्ष्यमा रजस्वला उत्सव मनाइएको छ । यस कार्यक्रमको आयोजना गरिनुको उद्देश्य महिनावारी प्रति रहेको नकारात्मक मानसिकतामा परिवर्तन ल्याई यसलाई हेरिने घृणाभावलाई उत्सवमा बदल्नु रहेको थियो । कार्यक्रमको शुरुवात् नेपाली समाजमा व्याप्त रजस्वला सम्बन्धी अन्धविश्वास उपरको अन्तरक्रियात्मक छलफलबाट गरिएको हो ।
यस अन्तरक्रिया कार्यक्रमको संयोजन कानून व्यवसायी तथा लेखिका दुर्गा कार्कीले गर्नुभएको हो । जसमा सहभागी वक्ताहरु यस क्षेत्रमा दशर्कौंदेखि कार्यरत एसआरएचआर विज्ञ डा।लक्ष्मी तामाङ्ग, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुश्री मोहना अन्सारी र पश्चिम नेपालमा प्रचलित एक रजस्वला सम्बन्धी प्रथामा आधारित उपन्यास छाउघरका लेखक राजसरगम गौतम हुनुहुन्थ्यो ।
यसरी कार्यक्रम अन्तरक्रिया मात्र नभई सो कार्यक्रममा वर्डवारियर तथा नवराज पराजुलीबाट रजस्वला सम्बन्धी विषयलाई सेरोफेरो बनाई कविता वाचन गरिएको थियो । कार्यक्रम आईएमइ नेपाल लिटरेचर फ्यस्टीभलको काठमाण्डौंमा विस्तारित कार्यक्रम थियो भने वाई वाई बनौ आर्दश नागरिक अभियान अन्र्तगत मुल नाराका साथ कार्यक्रमलाई समर्थन गरिएको थियो ।
संयोजकले उक्त कार्यक्रमको आरम्भ गर्दै नेपालमा पनि सन् २०१५ देखि महिनावारी स्वच्छता दिवस मनाउन थालिएको सन्दर्भलाई औंल्याएका थिए । यसै क्रममा उहाँले ढिलै भएपनि अन्ततः नेपालले पनि महिनावारी स्वच्छतालाई अन्य वातावरण दिवस वा एचआइभी विरुद्धको दिवस जसरी नै मान्यता दिएर मनाउने प्रचलनको थालनी गर्नु, एक राम्रो संकेत भएको समेत बताउनुभयो ।
नेपालमा किन महिनावारी र रजस्वला सरसफाई केवल स्यानिटरी प्याडहरुमा सीमित रहेको छ भनी संयोजकले राख्नु भएको जिज्ञासाको जवाफ दिंदैं डा. तामाङ्गले भन्नुभयो, ‘नेपाल जस्तो देशको परिप्रेक्ष्यमा स्यानिटरी प्याडमा नै भएपनि जनचेतना बढ्नु र यसको चासो राख्नु एक राम्रो लक्षण हो तर महिनावारी स्वच्छता स्यानिटरी प्याडमा मात्र केन्द्रित रहनु चाहिं अस्थायी विकास हुन सक्नेछ ।
यो दिगो नहुन सक्छ । अतः हामीले अझ व्यापकरुपमा बुझेर र बढी स्थायी पहलहरुका साथ आउनु जरुरी छ ।’ उहाँले यस कुरामा जोड दिनुभयो कि हामीले महिनावारीलाई कलँकको रुपमा लिनुभन्दा एक उत्सवको रुपमा बुझेको तथा यो जिन्दगी र सुस्वास्थ्यपनाको एक प्रक्रियाको रुपमा ग्रहण गरेको कुरालाई यकिन गर्नु जरुरी छ । हाम्रो दिमागमा हाम्रो परम्परागत संस्कार र धर्मले जरा गाडेर बसेको छ, त्यसैले यदि हामी स्थायी रुपमा परिवर्तन ल्याउन चाहन्छौं भनें त्यो जरा गाडेर बसेको सोचमा पनि परिवर्तन ल्याउनु जरुरी छ उहाँले भन्नुभयो ।
“महिनावारी हुनु भनेको सुस्वास्थ्यपनाको एक संकेत हो । यसले केटी स्वस्थ रहेको र बच्चालाई जन्म दिन सक्षम रहेको जनाउँदछ । जुन केटीले उचित पोषण प्राप्त गरेको हुन्छ उसको महिनावारी पनि समयमै हुन्छ तर उचित पोषणको अभावमा केटीहरुको महिनावारी पनि समयभन्दा ढिला हुन जान्छ । यसरी महिनावारी नहुनाले अन्य स्वास्थ्य समस्याहरु जस्तैः रक्त अल्पता वा पाठेघर सम्बन्धी समस्याहरु देखापर्न सक्दछन् ।” डा. तामाङले भन्नुभयो ।
गौतमले छाऊ परम्पराको बारेमा आफ्नो उपन्यासमा लेखिएको विषयहरुमाथि प्रकाश पार्नुका साथै आफ्नै छरछिमेकका महिलाहरु महिनावारी बार्न छाऊमा जाने गरेको देखेर त्यसबाट प्रत्यक्ष अनुभव गरेकोले नै उक्त उपन्यास लेख्नमा प्रेरणा मिलेको बताउनुभयो । यसै क्रममा उहाँले आजसम्म पनि डोटी र अछाम जस्ता जिल्लाहरुमा यो प्रथा व्यापक रुपमा प्रचलनमा रहेको बताउँदै सबैभन्दा अचम्मलाग्दो कुरा त स्थानीय तहका राजनैतिक नेतृत्वहरु र स्थानीय सरोकारवाला प्रतिनिधिहरु नै यही कुप्रथाको पक्षमा रहेको र यो परम्परालाई परिवर्तन गर्न अनिच्छुक रहेको समेत जानकारी गराउनुभयो ।
यसै परिप्रेक्ष्यमा, आमनागरिकहरुबाट उनीहरुको धारणामा परिवर्तनको अपेक्षा राख्नु एक दिवास्वप्नमात्र हुने पनि उहाँको तर्क रहेको छ । कार्यक्रममा मोहना अन्सारीले पश्चिम नेपालमा हालै मात्र आफूले छाऊ गोठ र छाऊ प्रथाको रोकथामको लागि बनाइएका कानूनी व्यवस्थाहरुको अवस्थाको सम्बन्धमा बुझ्न जाँदाको अनुभव सुनाउनुभयो । त्यहाँको अवस्था कानून आउनुभन्दा अघि जस्तो थियो त्यस्तै नै आज पनि छ । कार्यान्वयन पक्ष अत्यन्त फितलो रहेको पाएँ ।
वास्तवमा भन्ने हो भनें समुदायका मानिसहरु र स्थानीय नेताहरु छाऊको बारेमा राष्ट्रिय सञ्चार माध्यम र उपत्यकामा भैरहेको छलफलहरुलाई लिएर क्रोधित भैरहेको अनुभव मेरो रह्यो उहाँले सुनाउनुभयो । उनीहरुका अनुसार सञ्चार माध्यमहरुले आफ्नो संस्कृति र परम्परालाई पालना गरिरहेको विषयलाई लिएर र छाऊ परम्पराको चित्रण राष्ट्रिय बहस बनाएर अनावश्यक रुपमा लान्छना लगाइएको छ भनें । उनीहरुको समुदाय प्रतिको छवि र संस्कृतिलाई धमिल्याएको आरोप समेत लगाउने गरेका छन् ।
तर, नेपालका धेरै समुदायहरु जस्तै मुस्लिम समुदाय, आदिवासी समुदाय र मधेशी समुदायहरुले यसप्रकारको परम्परा पालना गर्ने नगरेको बताउँदै यो परम्परा पालना गर्ने समुदायहरुमा पनि क्रमशः परिवर्तन आउँदै गएको अन्सारीले बताउनुभयो । यो मुद्दालाई लिएर स्थानीय नेताहरु लगायत धामी झाँक्रीहरु र राजनैतिक नेतृत्वहरु समेत आ–आफ्नो समुदायमा सक्रिय रहेकै कारण उल्लेख्य परिवर्तन आउन सकेको जानकारी दिनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीलाई छाऊ प्रथासँग सम्बन्धित मुद्दा उपर अघि बढेर कारवाही गर्न निर्देशन दिएको छ र यसले गर्दा कसैले उजुरी दर्ता नगरेपनि प्रहरीलाई त्यस्तो प्रथा चलाउने व्यक्तिहरुका विरुद्धमा कारवाही प्रक्रिया अघि बढाउन मद्दत पुग्ने विश्वास गरिएको छ । उहाँले स्थानीय राजनैतिक नेतृत्वहरुले यसप्रकारको कुप्रथाहरुका बारेमा आवाज नउठाएको विषयले आफूलाई उदेकमा पारेको समेत जानकारी दिनुभयो ।
जे भएपनि, आफू आजका नयाँ युवा पुस्ताहरुले रजस्वला रुढीवादी परम्परा विरुद्ध र जैविक दृष्टिकोणले नारीहरुलाई पर्न जाने हानी नोक्सानीका बारेमा सशक्त ढँगले आवाज उठाउने गरेको हुँदा उनीहरुबाट आशावादी रहेको पनि बताउनुभयो । यसरी उक्त कार्यक्रममा वक्ताहरुले महिनावारी विरुद्धको रुढीवादी परम्परा शहरी क्षेत्र र ग्रामीण भेगहरुमा उत्तिकै मात्रामा प्रचलनमा रहेको बताउँदै त्यसको लागि उनीहरुको मानसिकतामा नै परिवर्तन ल्याउन जरुरी रहेको जानकारी गराउनुभयो ।
“भौतिक रुपमा छाऊ गोठहरु भत्काएर मात्र पर्याप्त हुँदैन, हामीले हाम्रो दिमागमा बनेको छाऊ गोठहरु पनि भत्काउनु जरुरी छ,” कार्कीले भन्नुभयो । सबैले ठोस, देखिने एवं दिगो परिवर्तन प्राप्त गर्न तथा प्रचलित मानसिकतामा परिवर्तन ल्याउन नेतृत्वकर्ताहरु र अभियन्ताहरुको सक्रिय भूमिका हुनेमा जोड दिएका छन् ।
त्यसैगरी, युवाहरुले पनि यस्तो रुढीवादी परम्पराको विरुद्धमा आवाज उठाउन र प्रगतिशील कानूनहरुको सुनिश्चित कार्यान्वयन गर्न मुख्य भूमिका खेल्नुपर्छ भन्नेमा युवाहरुको ध्यानाकर्षण गराएका छन् । महिनावारी देवीको रुपमा कामाक्षा देवीको सकारात्मक उदाहरण प्रस्तुत गर्दै युवाहरुको दृष्टिकोण परिवर्तन गर्न जोड दिए ।
प्रतिक्रिया दिनुहोस्