जनता टाइम्स

२३ जेष्ठ २०७६, बिहीबार ०८:२७

काठमाडौं महानगरको एक्सन : सरकारी जग्गा फिर्ता ल्याउन शुरु


काठमाडौं ।

काठमाडौं महानगरको ३२ वटै वडाले अतिक्रमणमा परेका सार्वजनिक जग्गा फिर्ता ल्याउन थालेका छन् । महानगरका वडाहरूले एक सय ४६ रोपनी जग्गा फिर्ता ल्याइसकेका छन् । सबैभन्दा बढी वडा ३ ले ६४ रोपनी ८ पैसा अतिक्रमित जग्गा सरकारमातहत ल्याएको छ । वडाले सुकुमबासी बस्ती रहेको १६ रोपनी जग्गा पहिचान गरी उनीहरूलाई हटाउने काम पनि सुरु गर्न लागेको छ । यी जग्गा सरकारमातहत ल्याउन तयारी थालिएको वडाध्यक्ष दीपक केसीले बताउनु भयो ।

त्यस्तै, एक सय ३६ रोपनी अव्यवस्थित सरकारी जग्गा पहिचान गरी त्यसमा व्यवस्थित पार्कसमेत बनाइसकेको छ । वडा ३ मा काठमाडौं अस्पतालले ओगटेको ६ आना, बाँसबारीमा रहेको विश्वहिन्दू महासंघले मिचेको २४ रोपनी १२ आना, गायत्री परिवार नामक संस्था रहेको बाँसबारीस्थित ४२ आना सार्वजनिक गरिसकेको छ । वडा ४ ले पनि विभिन्न व्यक्ति र संस्थाले हडपेको ६० रोपनी जग्गा महानगर मातहत ल्याएको छ ।

धुम्बाराही मार्ग (शिवस्थलीदेखि चक्रपथसम्म) जोडिएको २५ रोपनी, कपन मार्गमा रहेको ६ रोपनी, ४ र ५ वडाको सीमामा रहेको धन्वन्तरी मार्गमा ८ रोपनी, धोबीखोला करिडोर क्षेत्रमा पाँच रोपनी, रारापार्क क्षेत्रमा तीन रोपनी, नयाँ कोलोनी कृष्ण गल्लीमा ११ रोपनी, टुसाल क्षेत्रमा दुई रोपनी दुई आना र अन्नपूर्ण मार्गमा नौ आना गरी कुल ६० रोपनी ११ आना जग्गा महानगरमातहत ल्याएको हो ।

अन्य वडाले भने ठूलो परिमाणमा जग्गा फिर्ता गर्न सकेका छैनन् । वडा ५ ले चार रोपनी, वडा ६ ले तीन रोपनी, वडा ७ ले अढाई रोपनी, वडा ९ ले साढे चार रोपनी, १० ले पाँच रोपनी १२ आना, वडा १५ ले तीन रोपनी, वडा ३१ ले एक रोपनी चार आना महानगरमातहत ल्याएको छ । वडा १ र २ ले भने आफ्नो वडामा अतिक्रमित जग्गा नभेटिएको जनाएका छन् । वडा ३० ले अतिक्रमणमा परेको राजकुलो मिचेर घर, टहरा बनाएका व्यक्तिहरूलाई पत्र काटेको छ ।

धेरै जग्गा व्यक्तिद्वारा अतिक्रमित

मिचिएका अधिकांश जग्गा व्यक्तिले आफ्नो नाममा नामसारी गरेको र कुनै व्यक्तिगत प्रयोजनमा भोगचलन गर्दै आएको अवस्थामा भेटिएको छ । ‘कतिले आफ्नो नाममा बनाइसकेका थिए भने कति व्यक्तिगत प्रयोजनमा प्रयोग हुँदै आइरहेका थिए,’ वडा ४ का अध्यक्ष मोहन विष्टले भन्नुभयो, ‘अझै केही ठाउँमा त्यस्ता जग्गा रहेको जानकारीमा आएको छ । हामी त्यसलाई तथ्यगत रूपमा खोजबिन गर्दै छौँ ।’

धोबीखोला करिडोरमै सात आना जग्गा रामनाथ मिश्रले अनधिकृत रूपमा भोगचलन गरिरहेको थाहा पाएपछि त्यसलाई फिर्ता गर्ने प्रक्रिया सुरु गरेको विष्टले बताउनु भयो । ‘मिश्रले सो जग्गा दानबापत पाएको भनेका छन्,’ उहाले भन्नुभयो, ‘तर हामीसँग बलियो प्रमाण छ । सरकारमातहत ल्याउँछौँ ।’ खुला स्थानमा परिणत गरिने वडा ४ ले सार्वजनिक गरेको धन्वन्तरी मार्गको आठ आना जग्गामा पार्क बन्दै छ । अत्याधुनिक पार्क बनाउन संयुक्त राष्ट्रसंघले सहयोग गर्दै छ । टुसालमा निरु थापाले मिचेको दुई रोपनी दुई आना जग्गालाई पनि खुला स्थानका रूपमा संरक्षण गरिनेछ । भविष्यमा वडामातहत आउने जग्गामा पनि बालबालिका, वृद्धवृद्धा, युवा सबैलाई हुने गरी पार्क र खेलकुद मैदान बनाउने योजना रहेको विष्टले बताउनु भयो ।

वडा ३ ले पनि सार्वजनिक गरेको जग्गामा पार्क, व्यायामस्थल बनाउन थालेको छ । ‘हाम्रोमातहत आएका सार्वजनिक जग्गालाई खुला ठाउँ बनाउँछौँ,’ वडा ३ का अध्यक्ष केसीले भन्नुभयो, ‘कतिलाई आवश्यकतानुसार प्रयोग पनि गर्छौँ । भविष्यमा विपत् पर्दा पीडितले ओत लाग्न र अरूले पनि मन बहलाउने ठाउँ पाऊन् ।’ वडा १५ ले भूकम्पमा ज्यान गुमाएकाहरूको सम्झनामा पार्क बनाउँदै छ ।