जनता टाइम्स

१८ फाल्गुन २०७७, मंगलवार १४:२५

प्रचण्ड–माधवले गरेको त्यो अक्षम्य अपराध


मुलुकमा बिकास हुँदैछ भन्दा किन माधव प्रचण्डका छाती भत्भती पोल्छ ? लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो हो भन्दा किन प्रचण्ड–माधवको मन रुन्छ ? राम नेपालका हुन भन्दा किन प्रमाण लेउ भन्दै उफ्रिन्छन प्रचण्ड ? पशुपतिमा गजुर फेरौं भन्दा भैंसी पूजा गर्ने प्रचण्डलाई किन डाह हुन्छ ? भारतसँग समान अस्तित्वमा व्यबहार गर्दा किन रुन्छन प्रचण्ड र माधव नेपाल ?

गुरु भट्टराई

जनताले कम्युनिष्ट पार्टीलाई दुई तिहाइ मतका साथ बिजय गराएपछी जनताको अपेक्षा थियो – मुलुक उन्नती र प्रगतिको बाटोमा द्रुत रुपमा दौड लगाउँछ । ७० बर्षदेखिको राजनीतिक अस्थिरताको चक्रब्युह अन्त्य हुन्छ । भनिरहनु पर्दैन, जनताका यी आशाको नेत्रृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो । केपी ओलीको राष्ट्रबादी चरित्र, मुलुकको बिकास र उन्नती गर्ने हुटहुटी, सबै खालका अतिबादबिरुद्ध चट्टान झै उभिने र मुलुकलाई बिदेशी हस्तक्षेपबाट मुक्त राख्ने छवी देखेका जनताले गत निर्वाचनमा दिएको मत कम्युनिष्ट पार्टीलाई भन्दा बढी केपी ओलीको निम्ति थियो भन्ने कुरामा द्विबिधा कसैसँग पनि छैन । निर्वाचनका बेला आफ्नो निर्वाचन क्षेत्रबाट अर्को निर्वाचन क्षेत्रको टोलसम्म टेक्न नसक्ने माधव नेपाल र प्रचण्डलाई निर्वाचन जिताउनु पर्ने जिम्मेवारी मात्रै ओलीले बोकेनन, बरु आफ्नो निर्वाचन क्षेत्रमा ३ दिन नबिताएका ओलीले मुलुकका ८० भन्दा बढी निर्वाचन क्षेत्रमा पुगेर जनताको भरोसा जित्ने र आफ्ना पार्टीका उम्मेद्वार जिताउने काममा लाग्नु भयो ।

तर जव नेकपाले निर्वाचनमा दुईतिहाइ नजिक जीत हासिल गर्यो र प्रधानमन्त्रीमा केपी ओली सर्वसम्वत निर्वाचित हुनुभयो, झिङाको जत्रो पित्तथैली भएका माधव नेपालको पित्तले तितोबाहेक केही उत्पादन गर्न छोड्यो । राजनीतिलाई षड्यन्त्र शास्त्र बुझ्ने प्रचण्डका तमासा कुन स्तरमा भित्रभित्रै झाङगिन थाल्यो भन्ने कुरा अहिलेको दृष्यबाट प्रष्ट हुन्छ । ओली प्रधानमन्त्री बन्नेबित्तिकै प्रचण्डले आधा–आधा कार्यकाल आलोपालो प्रधानमन्त्रीको बखेडा झिकेर मुलुकलाई पुन अस्थिरताको सन्देश दिनुभयो । यसलाई चिर्न ओलीले ठुलै कसरत गर्नु पर्यो । यसबाट प्रचण्ड ब्याक भएजस्तो त हुनुभयो तर अर्को षड्यन्त्रको बाटो खोज्ने मनसायका साथ आधा प्रधानमन्त्रीको दावीबाट ब्याक भएजस्तो देखिएको मात्रै थियो ।

माधव नेपाल र प्रचण्डको बुझाई थियो, केपी ओली कि त मृगौला फेर्ने बेलामै मर्छन, मरेनन भनेपनि उठ्न नसक्ने गरी थला पर्छन र हामी सरकार र पार्टीमा हालिमुहाली गर्छौं । तिनको यो चाहनामा तव बज्रपात भयो, जव प्रधानमन्त्री ओली मृगौला फेरेको दुई हप्ता नबित्दै नियमित काममा फर्किनुभयो र अझ सकृयता देखाउन थाल्नुभयो । आफुले चाहेजस्तो रुपमा ओलीको स्वास्थ्य नबिग्रिएपछि माधव नेपाल र प्रचण्ड निदाउन छोडे र अनेक खालका गुटबन्दी र कोठे बैठक गरेर प्रधानमन्त्रीलाई घेराउ गर्न थाले । सांसद सत्ता पक्षको बेन्चमा बसेर माधव प्रचण्ड ग्याङ्ले सामान्य राजनीतिक संस्कार भन्दा पर पुगेर आफ्नै प्रधानमन्त्रीलाई लल्कार्न थाले, दुत्कार्न थाले । लाग्थ्यो संसदमा प्रतिपक्षीको कुनै काम छैन । देशी बिदेशी स्वार्थी तत्वहरुको निर्देशनमा र पद अनि पार्टी कब्जा गर्ने नियतका साथ माधव–प्रचण्डले २ बर्षका अवधिमा झन्डै ५ सय वटा कोठे बैठक गरे कहिले हात्तीबनमा, कहिले खुमल्टारमा, कहिले झम्सिखेलमा, कहिले कोटेश्वरमा । अनि प्रधानमन्त्री ओलीलाई पटक पटक आरोप लगाए ओली बैठक बस्नै मान्दैनन ।

कोठे बैठक बसेर ओलीलाई कसरी पदबाट च्युत गर्ने भन्ने सल्लाह गर्ने र हुल बाँधेर बालुवाटारमा प्रधानमन्त्री घेर्न जाने अनि भन्ने प्रधानमन्त्रीले बैठक नै बोलाएनन । कुनै नेपाली जनताले कम्युनिष्ट पार्टीको बैठकमा देश, जनता, बिकास, कोरोना, बिदेश नीति, मुलुकलाई आवश्यक कानून निर्माणका बिषय उठाइएको थाहा पाए ? अहं कसैले थाहा पाइन । भन्ने बेलामा ओलीले काम गर्न सकेनन, बिकास गर्न सकेनन, बिधि, पद्धती टेरेनन भन्ने तर छलफल र बैठकको नाममा केवल प्रधानमन्त्रीलाई कसरी हटाउने, अध्यक्ष पदबाट कसरी गलत्याउने भन्ने कुरामा मात्रै केन्द्रित हुने दृष्य देखियो ।

सहकर्मीहरुबाटै यसखालको राजनीतिक रत्यौली देखेपछि प्रधानमन्त्री ओलीले भन्नु भो–म आगामी महाधिवेशनबाट अध्यक्ष पद पनि छोड्छु, आगामी निर्वाचनबाट प्रधानमन्त्री पनि हुन्न । ४ महिनापछि हुने महाधिवेशनसम्म कुर्न नसक्ने, २ बर्षपछि हुने निर्वाचनमा चुनाव जितेर प्रधानमन्त्री म बन्छु भन्ने विश्वास समेत नहुने माधव नेपाल र प्रचण्ड केपी ओलीलाइ आजै, अहिल्यै, नगदा नगदी, हाताहाती रुपमै पदबाट हुत्याउन अनेक षड्यन्त्र राच्दै रहे । केपी ओलीले सिङो कम्युनिष्ट पार्टीलाई एक बनाएर दुईतिहाइ नजिक पुर्याउनु पहिले प्रचण्डको पार्टीको हालत के थियो ? अनि १५ बर्ष पार्टी प्रमुख भएर कम्युनिष्ट पार्टीलाई संसदीय फोहोरी राजनीतिमा पौडी खेलाएर समाप्त पारेपछि ०६४ सालमा पद छोडेर आफुलाई नालायक घोषणा गर्दै माधव नेपाल कसरी भागेका थिए भन्ने कुरा एकपटक फेरि सम्झिनु आवश्यक हुन्छ । पार्टी र देश सञ्चालनमा यसअघि नालायक सिद्ध भैसकेका प्रचण्ड र माधव नेपाल जस्ताहरुले थलापरेको कम्युनिष्ट पार्टी उठाएर, जनतामा भरोशा जगाएर माथि उठाउने केपी ओलीले जोहो गरिदिएको भाग एक्लै खान नपाएका हुँडार प्रबृत्तिहरुको चर्तिकला यसबेला नेपाली जनता नियालिरहेका छन ।

केपी ओली नेतृत्वले चाहेको जसरी काम गर्न सकेन भनेर मात्रै पुग्दैन, यस पृष्ठभूमिमा लेखिएका तथ्यहरुको कसिमा जती काम भएका छन, ती कसरी भए होलान भनेर अचम्म मान्नु पर्ने चाँही हो । सुशासन अझ राम्रो बनाउन कानून बनाएर संसदमा पेश गर्यो, सभामुख लगाएर, संसदीय समिति लगाएर रोक्ने काम भए । अहिले पनि ४० भन्दा बढी कानून संसदमा अड्किएर बसेका छन । बिकासका नयाँ र ठुला अवधारणा ल्यायो, आफ्नै पार्टीका नेता र सांसद त्यसलाई हावादारी भन्दै उडाउने र असहयोग गर्ने काम भयो । देश र जनताका काममा तल्लिन हुनुपर्ने प्रधानमन्त्रीलाई सामान्य नियुक्ति, सरुवा, बढुवा, आफ्नो पद प्रतिष्ठाका निम्ति रातोदिन घेरेर राख्ने काम भयो । यसका बावजुद प्रधानमन्त्री ओली कालमा युगान्तकारी काम भएका छन, जुन बाटोमा अब आउने प्रधानमन्त्री वा सरकार नहिडी सुखै छैन ।

चीनसँगको पारवहन तथा ब्यापार सम्झौता, भारतसँग अतिरिक्त बन्दरगाहा प्रयोगको सम्झौता, भारतबाट समुन्द्रसम्म पुग्ने जलमार्गको सम्झौता, भारत चीनसँग जोड्ने रेलमार्ग निर्माणको सम्झौता जस्ता योजना मजाकका बिषय थिएनन र हैनन । जहासम्म परिणाम खै भन्ने प्रश्न छ, यति ठुला र दुरगामी महत्वका कुरा एक–दुई बर्षमा सम्पन्न हुने कुरै हैनन । लीक्वानले पनि सिंगापुर २–४ बर्षमा बनाएका हैनन, न महाथिरले ५ बर्षमा मलेसिया बनाएका हुन । युरोप, अमेरिकाको पनि बिकास यात्राको ईतिहास १०–२० हैन १००–२०० बर्षको हो । प्रधानमन्त्री ओलीले तराइका भुभाग सिंचाइ गर्न महाकाली आयोजना, भेरी बबइ, कालिगण्डकी–तिनाउ डाइभर्सन, सुनकोशी मरिण डाइभर्शनलगायत ठुला सिंचाइ आयोजना अघि सार्नुभएको छ, काम थालिएका छन । बिद्युत उत्पादनका क्षेत्रमा मुलुकले यसै अवधिमा फड्को मारिरहेको छ ।

मुलुक लोडसेडिङ मुक्त भएर बिद्युत निर्यात गर्ने ठाउमा पुगेको छ । यसका निम्ती भारतसँग बिद्युत ब्यापार सम्झौता भएका छन । बंगलादेशसँग ९ हजार मेगावाट बिद्युत निर्यात गर्ने सम्झौता भएको छ । नेपाल–भारत इनर्जी ब्याङ्कको सम्झौता भएको छ । महाकाली करिडोर, नेपालगन्ज करिडोर, भैरहवा करिडोर, ढल्केबर करिडोर, कोशी करिडोरमा हाइ भोल्टेज ट्रान्सशिशन लाइन बिकास र बिस्तार हुँदैछन । बिद्युत निर्यात गर्ने लाइफ लाइन तयार हुँदैछन । रेल्वे, पानीजहाज, ४–६ लेनका सडक, तराइ सदरमुकाम जोड्ने चौडा सडकका काम भैरहेका छन । भुकम्पले थलिएका, भत्किएका ७ लाख बढी घर यसैबेला निर्माण गरिएका छन । हजारौं पुरातात्विक भवन, मठमन्दिर, बिद्यालय, अस्पातालहरु यसै अवधिमा निर्माण भएका छन । नियमित रुपमा भैरहेने कामका बिषयमा यहाँ धेरै चर्चा गर्न चाहन्न । मुलुकलाई सुरुङ युगमा लाने, तुइन मुक्त मुलुक घोषणा गर्ने जस्ता काम सुन्दा सामान्य लाग्ला तर यी युगान्तकारी काम हुन।

तर प्रचण्ड र माधव नेपालहरु यो कामलाई आँखा छोपेर अफवाह फैलाउनमै ब्यस्त थिए, छन । मुलुकमा बिकास हुँदैछ भन्दा किन माधव प्रचण्डका छाती भत्भती पोल्छ ? लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो हो भन्दा किन प्रचण्ड–माधवको मन रुन्छ ? राम नेपालका हुन भन्दा किन प्रमाण लेउ भन्दै उफ्रिन्छन प्रचण्ड ? पशुपतिमा गजुर फेरौं भन्दा भैंसी पूजा गर्ने प्रचण्डलाई किन डाह हुन्छ ? भारतसँग समान अस्तित्वमा व्यबहार गर्दा किन रुन्छन प्रचण्ड र माधव नेपाल ? यी र यस्ता थुप्रै प्रश्नहरु छन, जुन नेपाली जनताले अब तिनलाई सोध्नु पर्ने छ । उत्तर खोज्नु पर्ने छ ।

क्रान्तिका नाममा हजारौं निर्दोश नागरिकको वली चढाएका प्रचण्ड आज छोरीलाई मेयर, बुहारीलाई मन्त्री, भाईलाई राजदूत, ज्वाँई, जेठान, सम्धी, नाती, नातिना भन्दा माथि किन उठ्न सक्दैनन । किन राजनीतिक स्थिरता पटक्कै मन पर्दैन प्रचण्ड–माधवलाई ? किनकी हुलमुलमै र अस्थिरतामै पद, प्रतिष्ठा र जीवन सुरक्षित हुन्छ भन्ने बुझाई यी दुबै नेतामा देखिन्छ । हुलमुल र अस्थिरता भए दुई ठाउबाट निर्वाचन हारेर पनि प्रधानमन्त्री भएको स्वाद माधव नेपालले बिर्सेका छैनन । प्रचण्ड र उनका आसेपासेलाई त प्रष्ट थाह छ, राज्य बलियो भन्दै गए मुलुकमा थिती बस्न थाले हाम्रो बास जेलको कोठरिमा हुन्छ भन्ने कुरा ।

त्यसैले आफू, आफ्नो परिवार र आसेपासेको ज्यान जोगाउन र लुटेको सम्पत्ति पचाउन प्रचण्डलाई चाहिएकै मुलुकको अस्थिरता हो, कमजोर मुलुक हो, बेथिती, बिसंगती हो, हुलमुल हो । त्यसैले उनी अहिले राष्ट्रिय सरकारको राप अलाप्दै छन । त्यो भनेको मुलुकमा कमजोर सरकार स्थापित गर्न सक्ने भारतको चाहना पनि पूरा गर्न सकिने र आफ्नो बार्गेनिङ पावर पनि बढ्ने । जसले गर्दा उनी, उनका परिवार, आसेपासे सुरक्षित रहन सकुन र यिनले लुटेका कुरामा कसैको ध्यान जान नपाओस ।