जनता टाइम्स

३१ बैशाख २०८२, बुधबार १७:५३

ऐन महरबिरुद्ध उत्रिएकी रश्मिला धामीको प्रश्न : जघन्य अपराधमा पनि बाहिरै राखेर अनुसन्धान गर्न मिल्छ ?


काठमाडौं, बैशाख ३१ । ऐन महरबिरुद्ध निरन्तर आक्रमणमा उत्रनु भएकी सुदुरपश्चिमकी चेली रश्मिला धामीले अदालतले ऐन महरमाथि मुद्दा चलाउन आदेश दिए पनि सरकारले नै जोगाइरहेको आरोप लगाउनु भएको छ ।

धामीले सरकारकै दबाबमा महरलाई बचाइरहेको आरोप लगाउनु भएको हो । बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरी धामीले आफूले सजायका लागि लामो प्रयाश गर्दा पनि महरलाई सरकारी वकिल कार्यालय र प्रहरी प्रशासनले उन्मुक्ति दिने तयारी गरेको आरोप लगाउनु भयो ।

२०८१ माघ ९ गते उच्च अदालत पाटनले आफ्नो पक्षमा फैसला दिए पनि महरको पक्षमा उच्च राजनीतिक संरक्षण तथा दबाबमा कार्यान्वयन नभएको धामीको दावी छ । मुद्दा अगाडि बढाई दोषीलाई कानुनी कारबाही गराउन आफूले रिट दायर गरेपछि र अदालतले न्यायको आशा जगाए पनि महर खुलेआम हिँडिरहेको भन्दै धामीले सरकारप्रति आक्रोश पोख्नुभयो ।

फैसला भएको ४ महिना बितिसक्दा पनि महरलाई पक्राउ नगरिएको बताउँदै धामीले भन्नुभयो, ‘ऐन महरलाई बाहिरैबाट अनुसन्धान गर्ने भन्दै सरकारी प्रशासनले पहुँचको आधारमा आलटाल मात्रै गरेको छैन, गैरजिम्मेवार जवाफ पनि दिने गरिरहेको छ । मैलै जघन्य अपराधको विषयमा न्याय खोजिरहेको छु, के यस्तो अपराधमा पनि बाहिरै राखेर अनुसन्धान गर्न मिल्छ ?’

एमाले नेता महरका फ्यान धामी एक बर्षदेखि उहाँबिरुद्ध निरन्तर अभियानमा लाग्नुभएको छ । आफूमाथि यौन शोषण गरेको आरोप लगाउँदै आउनु भएकी धामी र महरबीच ५ करोड नदिए घरवार र राजनीति नै सकाइ दिने भन्दै गरेको कुराकानीको अडियो सार्वजनिक भएको थियो ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको सो अडियोपछि एमालेले महरलाई केन्द्रीय सदस्यबाट राजीनामा दिन लगाएको थियो । अदालतले महरलाई दोषी करार नगरेपछि पुनः पदमा बहाल गरेको छ । यता धामीले भने सरकार नै महर जोगाउन लागेको भन्दै पत्रकार सम्मेलन गर्नुभएको हो ।