काठमाडौं, बैशाख २ । भाषणको सधै समाचार बन्छ, कविता भने बिरलै बन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बर्षको दिन काठमाडौंमा आयोजित लोकतान्त्रिक योद्धा सम्मान कार्यक्रममा जे भाषण गर्नुभयो, त्यसभित्र भने एउटा दर्दनाक कविता फेला परेको छ ।
प्रधानमन्त्री ओलीको अभिव्यक्ति सुन्दै जाँदा भाषणभित्र एउटा कविता फेला परेको छ । जुन कविता यस्तो छ :
आन्दोलनको टुप्पामा बसेर
दुःखकष्ट नगरिकन
एकदिन जेल नपरीकन
एकदिन भूमिगत नगईकन
विदेशका राम्रै प्रवन्धका ठाउँमा बसेर
आफूले आन्दोलनको नेतृत्व गरेको भन्ने
अरु बेहाल भइरहँदा
तिनीहरुको वास्ता नगर्ने ।
आन्दोलनमा दुःख भोग्दै नभोगेको
न कहिल्यै पिटाई खाएको छ
न कहिल्यै जेल गएको छ
कहिल्यै नेल हतकडी लगाएको छैन
कहिल्यै भोकै बस्न परेको छैन
क्रान्तिकारी कुरा गरेको छ
अरुलाई बहकाएको छ, भड्काएको छ, होमिदिएको छ,
त्यस्ता मान्छेहरुले यो पीडा बुझ्दैनन् ।
तर, हामीले पीडा भोगेका छौं
खानै नदिएर डेढ महिनासम्म तुरुङमा थुनेर
लगातार कुटपिट गर्दा कस्तो हुन्छ भोगेका छौं
कोही मान्छे देख्न भेट्न नपाउने गरी
चार वर्ष अँध्यारो कोठामा थुन्दा कस्तो हुन्छ
हामीले भोगेका छौं
परिवारसँग विछोडिएर
आफन्तबाट विछोडिएर
१४–१५ वर्ष जेल बस्दा कस्तो हुन्छ ?
पीडा कस्तो हुन्छ
आँशुको महत्व के हुन्छ
यातना र दमन कस्तो हुन्छ
हामीले भोगेका छौ ।
युवाहरुलाई आवेशमा ल्याएर होमिदिने
परिवर्तनको आकांक्षा जगाएर होमिदिने
उनीहरुको जीवन बरवाद हुने
परिवार वरवाद हुने
उनीहरु मारिने
उनीहरु सहिद हुने
उनीहरुको लाशमाथि टेकेर आफू चाहिँ माथि जाने ।
जसले बलिदान गर्यो
उसको परिवारलाई केही प्राप्त नहुने
अंगभंग र क्षतविक्षत हुनेलाई केही प्राप्त नहुने
तिनका बाआमा वृद्धावस्थामा बेसहारा हुने
तिनका बालबच्चा बेसहारा हुने ।
नेपाली सेना बलिदान भएका छन्
प्रहरी र सशस्त्र प्रहरी बलिदान भएका छन्
माओवादी लडाकूहरु बलिदान भएका छन्
चुपचाप घरमा बसेकाहरुले मारिनुपर्यो
विद्रोही, सरकारी र तटस्थ तीनवटैको पीडा एउटै हो
पीडाका यी घाउहरु अब मेटाउँदै जानुपर्छ
मल्हम लगाउँदै जानुपर्छ
समाधान गर्दै जानुपर्छ
आँशु पुछ्दै जानुपर्छ ।
प्रतिक्रिया दिनुहोस्