१७ बैशाख २०७८, शुक्रबार ००:००

सम्पादकहरुले कामबाटै पुष्टि गरिदिएको प्रधानमन्त्री ओलीको त्यो बोली


सदैव निराशा भर्ने, असीमित तथा चरम खण्डन गर्ने अनि समाजका विसङ्गतिलाई मात्र विषय मान्ने भ्रममा समाजमा हुँदै गरेका राम्रा तथा सकारात्मक कदममाथि पनि निर्मम अपव्याख्या गर्ने अथवा स्वार्थी निसन्देहताको प्रदर्शन गर्ने सञ्चार गृहहरूको अविछिन्न अभ्यासका कारण पत्रकारिताको दुरुपयोग भएको त होइन भन्ने प्रश्नसमेत आउँछ । मिसन पत्रकारिता कतै कमिसन पत्रकारितामा गएको त छैन, शङ्का जन्मन्छ 

डा. अतीन्द्र दाहाल

बेलाबेलामा प्रधानमन्त्री केपी ओलीका सार्वजनिक मन्तव्यबाट एक दुई वाक्य मात्र राखेर उहाँको विचारको सामुल आशय नै बङ्ग्याउने गरी समाचार सम्प्रेषणको गलत अभ्यास हावी हुने गरेको छ । आफूलाई मात्र मूलधार मान्ने केही आमसञ्चार माध्यममा निकै निकृष्टतासाथ त्यस्तो हासीमजाक बनाउने गरिएको देखिन्छ । सरकार निर्माणको केही समय अन्तरालमा प्रधानमन्त्री ओलीले सम्पादकहरूमाथि गर्नुभएको टिप्पणीलाई त्यसैगरी प्रस्तुत गरियो । उहाँको भनाइको आशय थियो कि ‘सरकारका थुप्रै कमजोरी होलान, कतिपय अवस्थामा चाहँदा चाहँदै पनि अपेक्षित काम गर्न आवश्यक वातावरण तथा सहयोगको अभावले अप्ठ्यारो महसुस भएको होला । तर गरिएका केही राम्रा कामको पनि यथोचित र सकारात्मक प्रचारप्रसार हुने सकेन । सम्पादकज्यूहरूको राम्रो काम देख्ने मुटु भएन ।’ जुन प्रसङ्ग तथा प्रवाहमा प्रधानमन्त्रीले टिप्पणी गर्नुभयो, त्यसको प्रतिउत्तरमा एकाएक स्वघोषित स्थापित सम्पादक तथा सिद्धहस्त व्यक्तिहरूबाट प्रधानमन्त्रीलाई मर्माहत हुनेगरी शब्द भेदन भयो ।

प्रधानमन्त्रीको उक्त टिप्पणी अघि र पछिसमेत यस्ता घटनाहरू उजागर भए कि अधिकांश आम मूलधार भनिने सञ्चार गृह र यसका सम्पादकहरू साँच्चै सरकारप्रति योजनाबद्ध रूपमा नै बहिष्करणको अभ्यास अनि प्रतिशोधका भावना साधिराख्नु भएको त होइन ? कोरोना नियन्त्रण तथा न्यूनीकरणमा अपनाउनुपर्ने आहार बिहार तथा व्यवहारको अनुरोधमा होस अथवा अन्य सामाजिक एवं सांस्कृतिक कार्यक्रममा होस्, उहाँका मन्तव्यलाई गलत अर्थ लगाइदिने र खिसी टिउरी गर्ने घोर प्रयास नभएका होइनन । हालै पनि वैशाख १२ गते ६ वर्ष पहिलेको विनाशकारी भूकम्पले भत्काएको धरहराको उद्घाटन भयो तर आफूलाई भिमकाय ठान्ने सञ्चारमाध्यमबाट सकारात्मक समाचार खासै बनेनन । सञ्चारले सरकारका नराम्रा र अनपेक्षित कामको जमेर बर्खिलाप गर्ने त हो तर विषम परिस्थितिबीच पनि भएका केही सकारात्मक कामको समेत त्यत्तिकै गहनतासाथ समचार सम्प्रेषण गर्न किन सकिँदैन ? कतै सम्पादकहरूको मुटु नभएको (लाक्षणिक रूपमा) नै त होइन ?

गतवर्ष पनि हामीलगायत संसार कोरोना भाइरससँग हायलकायल थियो । यस्तो दुःखको समयमा एकअर्कामा सहअस्तित्व, सहकार्य, सम्मान तथा आदरभाव अनि मित्रतापूर्ण व्यवहार गर्नुपर्नेमा असहजताको मौका छोपेर छिमेकी देशले नेपालको भूमिबाट अर्को देशसँग पारवहन कायम गर्नेगरी बाटो निर्माण र उद्घाटनसमेत गर्यो । कानुनकी एक विद्यार्थी निर्मला योञ्जनले सामाजिक सञ्जाल फेसबुकमार्फत २०७७ वैशाख २७ गते परिस्थितिलाई यसरी टिप्पणी गर्नुभयो, ‘बिरामीले थला परेका बाउ आराम गर्दैगर्दा मेरी आमाका शरीरमा जेठाजु र देवरले कुदृष्टि लाउँदैछन ।’ उहाँको भनाइमा हामीमाथि छिमेकीको गलत मनशायको सशक्त तथा सटिक यथार्थ लुकेको थियो । उक्त गलत नजरियाको सरकारले प्रतिवाद गर्यो । राजदूतमार्फत कूटनीतिक नोट पठायो । हाम्रो पूर्ण नयाँ नक्सा सार्वजनिक भयो, देशभर उमङ्ग छायो । कम्तीमा सरकारले नागरिकको भरोसा, आशाअनुसारको एक महत्वपूर्ण कार्य गरेकोमा प्रशंसा बटुल्यो । सरकारको गौरवपूर्ण काम भनेर सर्वत्र चर्चा चुलियो । केही अनलाइनले यसबारेमा सकारात्मक समाचार लेखे । तर अपवादबाहेक स्थापित भनिएका, मूलधारमा गनिएका, विभिन्न अरू बेला सम्पादक समूह भनेर वक्तव्यबाजी गर्ने मौसमी अनुहारहरू सबै लापत्ता भए ।

हालै मेलाम्चीपछि धरहराको निर्माण भयो, भूकम्पछिको पुनर्निर्माण लगभग सकिँदै गएको सूचकसमेत हो यो । एउटा अर्को सकारात्मक सन्देशको स्रोत हो । तर समाचारका शीर्षकहरू यस्ता देखिए–‘पैसा तिर्नु नपर्ने तीन आना जग्गामा २० तले व्यापारिक भवनको उद्घाटन’, ‘पेस्की उद्घाटन’, ‘धरहरामा कोरोना लाग्दैन ?’ आदि इत्यादि । सकारात्मक सन्देश नभई आग्रह देखिने गरी एक दुई समाचारसम्म त लेखिए तर सरकारको सङ्कल्प र दृढतामाथि सामान्य मानवीय अनुग्रह पनि देखिएन । सिमाना विवादमा सरकारको कदमपछि भारतीय सार्वजनिक सञ्चारहरू जसरी नेपालविरुद्ध सङ्गठित रूपमा लागिरहेका थिए, त्यसको जबाफी सञ्चारमा नेपालका सम्पादक तथा सञ्चार गृहहरू गुमनाम भए, धरहराको समाचार सम्प्रेषणमा समेत समान स्थिति विद्यमान बन्यो ।

सञ्चारगृहमा देशको कार्यकारीको हरेक भनाइलाई हरसम्भव तोडमोड गर्ने, सकेसम्म उछित्तो काड्ने, विग्रह तथा विखण्डनलाई प्रोत्साहन दिने अभिव्यक्तिलाई बढी प्रायोजन गर्नेबाहेक सकारात्मक पनि समाचार हुन्छन् भन्ने किन आभाष हुँदैन ? असहजताको परिस्थितिमा आफ्नै ज्यानसमेत जोखिममा राखेर आम मानवको सेवा गर्न लागिरहेका भगवान्रूपी स्वास्थ्यकर्मीलाई बीच बाटोमा हुल हुज्जत गर्ने मार्काका स्वनामधन्य सञ्चारकर्मीहरूका आँखामा सकारात्मक कुराचाहिँ किन पर्दैनन ? सरकारलाई धज्जी उडाउनकै लागि कीर्ते कागजात बनाई प्रमाणका रूपमा पेस गर्ने तप्काका सञ्चारगृहलाई धरहरा किन पो मन पथ्र्यो र ? अरूलाई आफ्नै अनुहार देखिने गरी तरकारीमा तल्र्याङ्ग झोल हालेर भात खान सुझाउँदै आफू राजसी पार्टी दिने अलौकिक अभियन्ताहरू केमा व्यस्त भएर धरहरा अथवा यस्ता उपलब्धिका विषयहरू लेख्न रुचाउँदैनन ? देशमाथि गद्दारी तथा गलत गर्ने जो कोही होस् टुँडिखेलमा ल्याएर फन्के किक दिएर नाकको डाँडी भाँच्ने साहस भएको दाबा गर्ने महसुर देशप्रेमी सञ्चारकर्मीहरू किन सरकारको राम्रा काममा चाँहि थोरबहुत स्थान दिन चाहँदैनन ? सञ्चार भनेको स्थायी प्रतिपक्ष हो भन्ने भुलभलैयामा रमाउँदै अरूलाई लडाएर रमिता हेर्ने र फाइदा लिने बानी लागेका सञ्चारहरूले सरकारलाई सघाउँदा तथा देशहितमा काम गर्दा आफ्नो फाइदा रोकिने आभाष गरेका त होइनन ? सञ्चारगृहको बाध्यात्मक आवश्यकतामा विश्लेषण गर्नेहरूको तर्क यस्तो पनि छ ।

अपवादबाहेक गनिएका सञ्चार गृहहरूको उद्देश्य राष्ट्रिय हित, बृहत्तर भलाइ तथा सकारात्मकता उन्मुख समाजको निर्माण होइन कि जस्तो देखिन्छ । एउटा पार्टीभित्रको झगडा, दुई नेताबीचको टकराबजस्ता समस्यामा भने उनीहरूमा सक्रियताको नयाँ सगरमाथा देखिन्छ । देशमा अस्थिरता, अपचलन तथा अधोगति अनि विरोध र सत्तोसराप उनीहरूलाई आनन्द प्रदायक अभ्यास हुन्छन । अरू बिग्रिएको समाचार लेखेर आफू सप्रिएको भान छर्न व्यस्त अधिकांश सञ्चार गृह सकारात्मक समाचार बन्ने अवस्थामा भने पूरै चुपचाप बस्छन् ।

अझ आफूले आफैँलाई ठूला भनेर आत्मरति राख्ने केही छापासञ्चार तथा टेलिभिजन त महँगा मदिरासहितको आतिथ्यता र आत्मीयता अनि नजराना स्वीकार्नमा व्यस्त भएका समाचार साथै तस्बिरहरू सामाजिक सञ्जालमा बारम्बार नदेखिएका पनि होइनन् । हुन त आजको प्रविधि युगमा छापा सञ्चार तथा टेलिभिजनलाई ठूला मानिदिनुपर्ने भ्रममा हामी बाँचिरहेका छौँ । अनलाइन पत्रकारिता तथा सामाजिक सञ्जालले ती स्वघोषित ठूला भनिएकाहरूको अहंकारी हैसियतलाई कसरी निमिट्यान्न पार्दैछ भन्ने जान्नचाहिँ लेखक जेम्स फस्टको ‘अनलाइन जर्नालिजम’ तथा माइकल एब्सकोलको ‘सोसल मेडिया वारफेयर’ नामक पुस्तकहरू सहयोगी अध्ययन बन्न सक्छन् । अनलाइन पत्रकारितामाथि स्टिन स्टिनसेनको अनुसन्धानात्मक शोध ‘अनलाइन जर्नालिजम, प्रोमिसेस अफ न्यू टेक्नोलोजी’ ले पनि यथार्थ प्रष्ट पार्छ । उनीहरू ठूलाचाहिँ छैनन् तर अझै पनि ठालु हौँ भन्ने भम्रमा छन् । कतिपय सञ्चार गृह त आफूलाई सरकारभन्दा ठूला तथा कानुनभन्दा पनि माथि सम्झन्छन् । स्वतन्त्र पत्रकारिताको नाममा स्वच्छन्दताको अभ्यासमा उत्साहित भएको पनि देखिन्छ ।

यद्यपि ती मुख्य भनिने सञ्चार गृह, सम्पादक तथा अभियन्ताहरू राष्ट्रहितको पक्षमा त खुलेनन्, गर्तवर्ष आमामाथिको अपमानमा त असहजता भएन भएन, जसलाई घरभित्रका दाजुभाइ तथा दिदीबहिनीको पीडासमेत महसुस हुँदैन भन्ने आरोप लाग्ने गरेको छ । बेलाबेलामा समाचार आउँछन कि सञ्चारकर्मीहरूलाई लामो समय तलब दिइएन, लकडाउनको बेला विना तलब निकालियो, पेसागत सुरक्षा र स्थायित्व भएन । देशका सबै ठाउँ अरू थुपै्र कुरा नमिलेको र नाजायज भएको देख्ने सञ्चार गृह तथा त्यसका सम्पादकहरू आफ्ना सहकर्मी मित्रहरूमाथिका ज्यादती देख्न सक्ने हिम्मत बटुल्दैनन् । उनीहरूका हितका निम्ति व्यवस्थापनसँग सौदाबाजीको आँट देखाउँदैनन् । त्यस्तो बेथिति सञ्चार गृहमा हुनुहुँदैन भन्ने सामग्री लेख्ने मुटु राख्दैनन् । अरूसँग बाहिर अभिमान देखाए पनि सञ्चार गृहभित्रका सहकर्मी सदस्यसँग कहिल्यै नलुकेको मुटु हराएको सत्य, प्रधानमन्त्रीले मात्रै पत्ता लगाएको मुटु नभएको सत्य करिब एक वर्षको कोरोनाकालमा भएका केही परिघटनाले आम मानिसलाई छर्लङ्ग भएको छ । धरहरा बन्दा, मेलम्ची आउँदा समाचार लेख्ने आँट नभएको वास्तविकता लुकेको छैन ।

सदैव निराशा भर्ने, असीमित तथा चरम खण्डन गर्ने अनि समाजका विसङ्गतिलाई मात्र विषय मान्ने भ्रममा समाजमा हुँदै गरेका राम्रा तथा सकारात्मक कदममाथि पनि निर्मम अपव्याख्या गर्ने अथवा स्वार्थी निसन्देहताको प्रदर्शन गर्ने सञ्चार गृहहरूको अविछिन्न अभ्यासका कारण पत्रकारिताको दुरुपयोग भएको त होइन भन्ने प्रश्नसमेत आउँछ । मिसन पत्रकारिता कतै कमिसन पत्रकारितामा गएको त छैन, शङ्का जन्मन्छ । पत्रकारिताको मर्म तथा धर्म दुवैलाई व्यापक विनिर्माण गर्नुपर्छ भन्ने भावना मुखरित हुँदैछ । सञ्चार जहिल्यै पनि सरकारको विरोधी मात्र बन्दै सकारात्मकताप्रति पूर्वाग्रही नै हुनुपर्र्ने अर्वाचीन मानसिकताले ग्रसित बन्नुहुँदैन । मेलम्ची बग्दा अनि धरहरा उठ्दासमेत त्यसका समाचारहरू त्यही गति र स्थितिमा नउठेको देख्दा नेपालमा सञ्चारको भूमिका अनि आशतित परिणाममा व्यापक पुनर्ताजगीकरण हुनुपर्ने अवस्था देखिन्छ । यी त केही प्रतिनिधि घटनामात्र हुन् तर वर्तमानको समाचार अभ्यास भने व्यापक विनिर्माण हुनुपर्छ भन्ने सत्य लुकाउन नसकिने अवस्थामा पुग्दैछ । सञ्चारकर्ममा रहेका सबै प्रबुद्ध, दिग्गज तथा मिहिनेती अनि इमानदार आममहानुभावहरूले नयाँ मान्यता स्थापित गर्नुपर्छ ।