जनता टाइम्स

२५ बैशाख २०७८, शनिबार १३:१५

रसिया-भारत ‘टू प्लस टू’ संवादले ल्याउने तरङ्ग


विगतका दिनमा क्वार्डमा बढ्दो सक्रियता इण्डो प्यासिफिक नीतिमा पश्चिमा शक्तिहरुसँग बढ्दो घनिष्टताले गर्दा रसिया भारतसँग टाढिएको देखिन्थ्यो । टू प्लस टू संवादले कुटनीतिको समीकरण र गठजोडमा नयाँ तरङ्ग ल्याउन सक्ने अनुमान गर्न सकिन्छ

विपिन देव

भारत र रसियाले सन २०२१ अप्रिल २८ का दिन “टू प्लस टू संवाद” को थालनी गर्ने निर्णय गरेको छ । उक्त निर्णयको बारेमा रसियाका राष्ट्रपति पुटिन र भारतका प्रधानमन्त्री मोदीले आधिकारिक रुपमा पुष्टि गरिसकेका छन । “टू प्लस टू संवाद” एक उच्चस्तरीय संवाद हो । यस संवादमा दुई देशका परराष्ट्रमन्त्री र रक्षामन्त्रीको सहभागिता हुने गर्दछ । परराष्ट्रमन्त्री र रक्षामन्त्रीले अधिकांश द्विपक्षीय मुद्दाहरुमा चर्चा गर्ने गर्दछ र तदनुरूप निर्णय गर्नेसमेत हैसियत राख्दछ । टू प्लस टू संवादको थालनी खास गरेर जापानबाट सुरु भएको देखिन्छ । अमेरिकासँग द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउन जापानले टू प्लस टू संवादको थालनी गरेको थियो । हाल भारतले टू प्लस टू संवाद अमेरिका, जापान र अस्ट्रेलियासँग गर्दै आएको छ । रसियासँग पनि आउने दिनमा टू प्लस टू संवाद सुरु गर्नाले अन्तर्राष्ट्रिय राजनीति र सामरिक गठबन्धनमा व्यापक उतार–चढाव आउने जानकारहरुको दाबी रहेको छ ।

विगतका केही वर्षहरुमा भारतको सम्पर्क, सम्बन्ध र अभिरुचीमा परिवर्तन देखिएको छ । सन २००० देखि नै भारत र अमेरिकाको सम्बन्ध घनिभुत रुपले अगाडि बढिरहेको छ । अमेरिकाले नेटोको मुलुकहरु जस्तै भारतलाई पनि सुविधा दिएर आधुनिक प्रविधि र हतियारहरु दिइरहेको छ । कम्कासा, वेका जस्ता अनेकौं सम्झौता गरेर भारतलाई सामरिक रुपले सवल बनाउन अमेरिका पछि–पछि नै लागिपरेको छ । अमेरिका र भारतको बढ्दो सामिप्यताले गर्दा भारत र रसियाको पारम्परिक सम्बन्धमा केही परिवर्तन आएको कुरा जानकारहरुको दाबी रहेको छ । अप्रिल ७, २०२१ मा रसियाका परराष्ट्रमन्त्री ल्याभरोले क्वार्डलाई एसियाको नेटोको रुपमा चित्रित गरेका थिए । साथ–साथै पाकिस्तानको भूमिबाट एक अन्तर्वार्तामा ल्याभरोले “भारत पश्चिमा प्रभावमा गइरहेको” समेत टिप्पणी गरेका थिए । रसियाको चीनसँगको बढ्दो घनिष्टता र पाकिस्तानसँगको हतियारको व्यापारले गर्दा भारतले रसियासँग आफ्नो पुरानो र पारम्परिक सम्बन्धलाई पुनरावलोकन गर्नुपर्ने कुटनीतिक यथार्थ बोध भएको छ । तदनुरूप मोदीले रसियासँग पनि टू प्लस टू वार्ता सुरु गर्ने नीति अगाडि बढाएको देखिन्छ । भारतका परराष्ट्र नीतिका जनक पण्डित जवाहरलाल नेहरु तत्कालीन सोभियत संघका ठुला प्रशंशक थिए ।

आफ्ना कालजयी कृति “डिस्कभरी अफ इण्डिया” मा उनले सोभियत रुसमा भएको सामाजिक र आर्थिक परिवर्तनलाई पनि मुक्तकण्ठले प्रशंसा गरेका छन् । नेहरु नीतिअनुसार नै सोभियत संघ र भारतको मैत्री कालजयी रहेको छ । सारा संसार भारतको विपक्षमा रहेको बेला पनि सोभियत रुसले भारतलाई साथ दिएको कुरा सोभियत रुस र भारतको मैत्री सम्बन्धमा स्वर्ण अक्षरले लेखिएको छ । अर्थात सन १९७१ मा पाकिस्तानसँग युद्ध हुँदा अमेरिकी सैनिक जहाज बंगालको खाडीमा तैनाथ थिए । पाकिस्तानलाई मद्धत गर्न अमेरिका र चीन अहोरात्र लागेका थिए । तर सोभियत रुसको समर्थनले गर्दा भारतले पाकिस्तानलाई पराजित गर्दै बंगलादेशलाई विश्व मानचित्रमा ल्याउन सफल भयो । भनाइको अर्थ इतिहासको हरेक आरोह अवरोहमा रसिया र भारतको मैत्री परिवर्तित भएको छैन । तर व्यापारिक कारणले गर्दा रसिया र भारतको मैत्रीमा केही परिवर्तन भने आएको छ ।

भारत आफ्ना ६३ प्रतिशत हतियार विगतका दिनमा रसियासँग खरिद गर्ने गरेकोमा हाल घटेर ४५ प्रतिशतमा मात्र सिमित भएको छ । भारतले आफ्ना हतियार इजरायल, फ्रान्स र अमेरिकाबाट बढी खरिद गर्ने गरेता पनि अग्रपंक्तिमा रसिया नै रहेको छ । रसिया र भारतका हतियारका व्यापारिक अरु आयामहरू पनि छन । रसिया र भारतीय वैज्ञानिकका संयुक्त प्रयासमा ब्रहमोज मिसायल निर्माण भएको छ । अर्थात रसिया र भारतले संयुक्त रुपमा हतियार उत्पादन गरेको छ । ब्रहमोज मिसायल अब्बल दर्जाको क्षेप्यास्त्र भएकोले गर्दा फिलिपिन्स, भियतनाम, इण्डोनेसिया र खाडीका केही मुलुकहरु पनि उक्त क्षेप्यास्त्र खरिद गर्न पहल गरिरहेको अवस्था छ । भारत र रसियाको टू प्लस टू संवादले गर्दा रसिया र चीनको सम्बन्धमा कस्तो प्रभाव पार्ला भन्ने जानकारहरुको चासो रहेको छ । सोभियत संघ विघटन भएपछि एलसिनको नेतृत्वमा रसियाले पश्चिमा शक्तिहरुसँग आफ्नो सम्बन्धलाई घनिभुत बनाउन प्रचुर मात्रामा प्रयास गरे । तर रसियाको युकारइनको नीतिले गर्दा पश्चिमा राष्ट्रहरुसँगको सम्बन्ध सुमधुर हुन सकेन ।

२० वर्षको प्रयासपछि रसियाले अमेरिकालाई दबाबमा राख्न चीनसँगको सम्बन्धमा व्यापक परिवर्तन गरे । भनाइको अर्थ विगतका दिनमा चीन र रसियाको सम्बन्धले उचाइ लिइसकेको छ । एक अन्तर्वार्तामा रसियाका परराष्ट्रमन्त्री ल्याभरोले रसिया र चीनको सम्बन्धलाई आलोकित गर्दै प्रष्ट भनेका छन् चीन र रसिया “सैनिक एलायन्स” होइन । अर्को शब्दमा भन्ने हो भने ल्याभरोले संकेत गरेका छन कि चीनसँग बढ्दो सामिप्यताले भारतसँगको सम्बन्धमा असर नपर्ने भने उनको अभिमत रहेको छ । रसिया र भारतको सम्बन्ध घनिभुत रुपले अगाडि बढेको खण्डमा भारतले आफ्नो गुरु योजना चावाहार बन्दरगाहमा अगाडि बढाउन सक्दछ । रसियाको सहयोगले भारतले आफ्नो प्रभाव चावाहाको बन्दरगाहबाट सेन्ट्रल एसियादेखि युरेसियन क्षेत्रमा अगाडि बढाउन सक्दछ । अमेरिकाले सेप्टेम्बर ९ देखि अफगानिस्तानबाट आफ्नो सैनिक हटाइरहेको छ ।

अमेरिका अफगानिस्तानबाट पछाडि हट्नुको मतलब त्यहाँ रसियाको सक्रियता बढ्नु हो । अफगानिस्तानको पुनर्निर्माणमा भारतले प्रमुख भूमिका खेलेको देखिन्छ । अफगानिस्तानमा जनकल्याणको योजना भारतले व्यापक रुपमा परिचालित गरेको देखिन्छ । हालसम्म भारतले ३ बिलियन अमेरिकी डलर खर्च गरेर अफगानिस्तानमा मुर्धन्य भूमिका खेलको देखिन्छ । रसिया र भारतको अफगानिस्तानमा सक्रियता बढ्न बितिक्कै पाकिस्तान लगायत पृथकतावादी शक्तिहरुको सामर्थ्य कमजोर हुने जानकारहरुको समीक्षा रहेको छ ।

अर्थात् भारत र रसियाको टू प्लस टू संवादले भारतको सामरिक स्वायततालाई प्रमाणिकता प्रदान गर्दछ । विगतका दिनमा क्वार्डमा बढ्दो सक्रियता इण्डो प्यासिफिक नीतिमा पश्चिमा शक्तिहरुसँग बढ्दो घनिष्टताले गर्दा रसिया भारतसँग टाढिएको देखिन्थ्यो । टू प्लस टू संवादले कुटनीतिको समीकरण र गठजोडमा नयाँ तरङ्ग ल्याउन सक्ने अनुमान गर्न सकिन्छ ।