जनता टाइम्स

१३ असार २०७८, आईतवार १४:४५

मोटरसाइकल चोरी गर्ने गिरोहका चार पक्राउ


भक्तपुर, असार १३

महानगरीय प्रहरी वृत्त जगातीको टोलीले मोटरसाइकल चोरी गर्ने गिरोहका चार व्यक्तिलाई भक्तपुर नगरपालिका–८ लिवालीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका–७ घर भई हाल भक्तपुर–८ बस्ने वर्ष २८ का सुमन भन्ने अर्जुन तामाङ, भक्तपुर–२ दत्तात्रय स्थायी घर भई लिवाली बस्ने वर्ष १९ का वैद्य भन्ने विजय ह्याङ्जु, दोलखा सैलुङ गाउँपालिका–२ घर भई हाल सूर्यविनायक नगरपालिका–६ सुन्दरबस्ती बस्ने वर्ष २९ का दिनेश तामाङ वाईबा र भक्तपुर–८ लिवालीका वर्ष २० का साइन भन्ने रमेश कोजु रहेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

प्रहरीले चोरीको स्कुटर खरिद गर्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–४ घर भई हाल सुर्यविनायक–१० पलाँसे बस्ने वर्ष २३ का अविनाश तामाङ र दाङ लमही घर भई हाल पलाँसे नै बस्ने वर्ष २२ का आकाश मगरलाई पनि पक्राउ गरेको उहाँले बताउनुभयो । मोटरसाइकल तथा स्कुटर चोरी गरेर बिक्री गर्ने र नम्बर परिवर्तन गरेर आफैँले चलाउने गरेको पाइएको गिरीले बताउनुभयो ।