जनता टाइम्स

३२ जेष्ठ २०७६, शनिबार १३:१२

कोटेश्वर–सूर्यबिनायक सडक बनाउने हाम्जालाई नै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग


काठमाडौं, जेठ ३२

बहुप्रतिक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको ठेक्का जापानी कम्पनी हाज्माले पाएको छ । ठेक्का पाएसँगै हाज्माले अर्को कम्पनी आन्दोसँग मिलेर सुरुङमार्ग बनाउने भएको छ ।

सडक विभागका अनुसार सुरुङमार्ग निर्माणका लागि चीन, भारत, टर्की, कोरिया, जापान र नेपालका ३९ कम्पनी टेन्डर प्रतिस्पर्धामा थिए । सवा १३ अर्ब रुपैयाँमै सुरुङमार्ग निर्माण गर्न सहमत भएपछि हाज्मा र आन्दोलाई जिम्मा दिन लागिएको सडक विभाग वैदेशिक महाशाखाका प्रमुख अर्जुनजंग थापाले जानकारी दिनुभयो । ‘सहभागीमध्ये हाज्माको ठेक्का रकम कम देखियो । त्यसमा पनि ७० करोड रुपैयाँ ऊ घटाउन राजी भयो,’ थापाले भन्नुभयो, ‘सुरुङमार्ग निर्माणको ठेक्का उसैलाई दिने निर्णय भएको छ ।’

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग ४.५१ किमि रहेको छ । महाशाखाका अनुसार असार मसान्तसम्ममा कम्पनीसँग ठेक्का सम्झौता भइसक्नेछ  । ठेक्का सम्झौता भएको ४२ महिनाभित्र निर्माणको काम पूरा हुनुपर्ने समयसीमा तोकिएको छ । कम्पनीले आगामी हिउँदबाटै काम सुरु गर्नेछ । यसअघि हाज्माले कोटेश्वर–सूर्यबिनायक सडक र बिपी राजमार्ग निर्माण गरिसकेको छ । ‘हाज्माको रेपुटेसन राम्रो छ । यसले लिएको सबै काम समयमा नै सकिएको छ,’ सडक विभाग वैदेशिक महाशाखाका प्रमुख थापाले भन्नुभयो, ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम पनि निर्धारित समयमा नै सकिन्छ ।’

महाशाखाका अनुसार सुरुङमार्गको कुल लागत रकम १६ अर्ब ६९ करोड ६० लाख रुपैयाँ अनुमान गरिएको छ । निर्माणमा लाग्ने सबै रकम जापानी सहयोग नियोग जाइकाको सहुलियत ऋण हो । सरकारले १० वर्षसम्म यसको ब्याज तिर्नुपर्दैन । त्यसपछि भने प्रतिबर्ष ०.०१ प्रतिशतका दरले प्रतिवर्ष ब्याज भुक्तानी गर्नुपर्नेछ । ३० वर्षभित्र ऋण चुक्ता गरिसक्नुपर्ने शर्त रहेको छ ।

काठमाडौंको बलम्बुबाट सुरु हुने सुरुङमार्ग धादिङको सिस्नेखोलामा पुगेर टुंगिनेछ । आसपास पर्ने जग्गाको मुआब्जा वितरण सुरु भइसकेको छ । महाशाखाले काठमाडौंमा मुआब्जा वितरणका लागि दुई सय ८० घरपरिवार निर्धारण गरेको छ । जसमध्ये दुई सय ५० ले मुआब्जाका लागि निवेदन दिइसकेका छन । प्रतिआना ९ देखि ४२ लाख रुपैयाँसम्म मुआब्जा निर्धारण गरिएको छ ।

तीन लेनको सुरुङमार्गको कुल लम्बाइ २.६८८ किमि छ । त्यसबाहेक २.४५ किमि भने सडकको भाग हुनेछ । सुरुङ र सडकको कुल लम्बाइ ४.५१ किलोमिटर रहनेछ । उपत्यका प्रवेश गर्ने सवारीसाधन दुई लेनबाट यात्रा गर्नेछन । बाहिरिने सवारीसाधन एक लेनबाट जानेछन । सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले कम्तीमा २५ र बढीमा ५० रुपैयाँ ‘टोल ट्याक्स’ तिर्नुपर्छ ।

यसैबीच थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणको शिलान्यास असारभित्रमा हुने भएको छ । थापाले थानकोटको नागढुङ्गाबाट धादिङको सिस्नेखोला निस्कने सो सुरुङमार्ग निर्माणका लागि निर्माण कम्पनी छनोटसँगै असारभित्र शिल्यान्याश गरिने बताउनु भयो । ‘असारको पहिलो हप्तासम्म निर्माण कम्पनीसँग सम्झौता गरी असारभित्रमा शिलान्यास गरिने छ,’ थापाले भन्नुभयो । महाशाखले सुरुङमार्ग निर्माणका लागि ग्लोबल टेन्डर (बोलपत्र) आह्वान गरेको थियो ।

महाशाखाका अनुसार, असारमा नै निर्माण कम्पनीसँग सम्झौता गरिए पनि सुरुङको निर्माण कार्य असोजदेखि सुरु गरिने छ । सम्झौता भएको ४२ महिनाभित्र सुरुङमार्ग निर्माण गरी निर्माण कम्पनीले सरकारलाई हस्तान्तरण गर्ने छ । सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाद्धारा निकालिएको सो ग्लोबल बोलपत्रमा पाँचवटा चिनियाँ र एउटा जापानी कम्पनीले बोलपत्र भरेका थिए ।

निर्माण कम्पनीले २.७ किलोमिटर सुरुङ, २.५ किलोमिटर सडक, एउटा फल्लाई ओभर र एउटा सर्भिस सेन्टर निर्माण गर्ने सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाले जनाएको छ । सुरुङमार्गसम्म पुग्ने साढे दुई किलोमिमटर पहुँचमार्गका लागि साढे पाँच अर्व रुपियाँ मुआब्जा वितरण गर्नुपरेकोमा अहिलेसम्म चार अर्ब रुपियाँँ वितरण भइसकेको छ ।

धादिङमा मुआब्जा दर टुङ्गो लागेन

सुरुङमार्ग निर्माणका लागि काठमाडौँ जिल्लातर्फ जग्गा अधिग्रहण कार्य सम्पन्न भई मुआब्जा वितरण कार्य अन्तिम चरणमा रहेपनि सुरुङमार्गको धादिङ जिल्लातर्फको अधिग्रहण गरिएको जग्गाको मुआब्जा दर अझैसम्म टुङ्गो लाग्न नसकेको महाशाखा प्रमुख थापाले दिनुभयो । काठमाडौँ जिल्लाको जग्गाकै दररेटमा मुआब्जा माग्दा धादिङमा टुङ्गो लाग्न नसकेको महाशाखाले जनाएको छ ।

सुरुङमार्गको पहुँचमार्गका लागि जम्मा तीनसय ७७ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा १०९ रोपनी धादिङमा र बाँकी काठमाडौँ जिल्लामा पर्नेछ । प्रस्तावित सुरुङमार्गको कुल लम्बाई साढे दुई किलोमीटर र चौडाई करिब १२ मिटर हुनेछ ।