जनता टाइम्स

७ श्रावण २०७८, बिहीबार ०७:३८

एमाले प्रष्ट सन्देश : माधवसहित २२ ‘गद्धार’लाई कारवाही, फर्कने अन्य नेतालाई महत्वपूर्ण जिम्मेवारी


काठमाडौं, साउन ७ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले गद्धारी गर्ने ‘वरिष्ठ नेता’ माधवकुमार नेपालसहित २२ जना प्रतिनिधिसभा सदस्यमाथि कारवाही र काममा फर्कने सो समुहका अन्य नेतालाई महत्वपुर्ण जिम्मेवारी दिने प्रष्ट संकेत दिएको छ । केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार अध्यक्ष केपी शर्मा ओलीले बुधवार २२ जनालाई स्पष्टिकरण सोधेर जवाफ चित्त नबुझे वा जवाफ नदिए सिधै निश्काशन गर्ने जानकारीसहितको स्पष्टिकरण सोधेर यस्तो संकेत दिनुभएको हो ।

केन्द्रीय कमिटीको सोमबार बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सो दिनको निर्णयअनुसार बुधवार अध्यक्ष ओलीले स्पष्टिकरण सोध्नुभएको छ । स्पष्टिकरणमा सर्वाेच्च अदालतको फैसलाको सम्मान गर्दै ह्वीप् उलंघन नभनी लगातार पार्टीबिरोधी अपराधमा संलग्न किन भएको भन्ने प्रश्न सोधिएको छ ।

एमाले केन्द्रीय कमिटी बैठकले अब माधव एमालेमा नफर्किने र एमालेमा स्वीकार गर्न पनि नसकिने निष्कर्ष निकालेको छ । नेपालले आफू एमाले सकाउन लागेको र अध्यक्ष ओलीबिरुद्ध जे पनि गर्ने बताउनु भएपछि एमाले संस्थापन यो निश्कर्षमा पुगेको हो । त्यसो त नेपालले आइतबार बिहान आफ्नै निवासमा पुगेका कार्यदलका नेताहरूसँग आफू अल्पमतमा रहेको कमिटी बैठकमा नजाने र त्यसका निर्णय नमान्ने घोषणा नै गरिसक्नु भएको छ । अध्यक्ष ओलीले पनि माधव नेपालजस्ता गद्दारलाई अब एमालेमा कुनै स्थान नरहेको सार्वजनिक घोषणा गरिसक्नु भएको छ ।

बिश्वासको मत प्रकरणपछि अध्यक्ष ओलीसहित एमालेका नेताहरु निकै कठोर बनेको कारण अव माधव फर्केर काम गर्ने अवस्था लगभग सकिएको निश्कर्षमा सवै पुगेका हुन । बिश्वासको मत प्रकरणमा माधवसहित २२ जना एमाले सांसदले पार्टीको निर्णयविपरीत देउवासँग बिकेको संस्थापनको निश्कर्ष छ । जस्मा आफ्नै समुहमा रहेका ८ जना सांसद पनि छन । यस्तै माधव समुहका १४ जना हुन ।

एमालेले २२ जनालाई कारवाही गर्ने र अन्य सबैलाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिएर अघि बढाउने रणनीति बैठकमार्फत अघि बढाएको छ । त्यसका लागि जेठ २ मा फर्किने गरी १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदे सहमति केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको हो । माधव नेपालले कार्यदलको रिपोर्ट स्वीकार नगरेकाले अब कार्यदलमा रहेका नेताहरुले पनि सोच्नुपर्ने र माधव नेपालबाहेक भएर पनि पार्टी एकता बचाउनुपर्ने बिषयमा माधव समुहभित्रै पनि छलफल जारी रहेको छ । संस्थापनको प्रस्तावकै आधारमा सो समुहमा यस्तो छलफल भएको हो ।

देउवालाई विश्वासको मत दिने २२ मध्ये ११ जना समानुपातिक सांसद छन् । यसअघि संस्थापनमै रहेका समानुपातिक सांसद विनादेवी बुढाथोकी, पार्वती विसुंखे र समिना हुसेनले अन्तिम क्षणमा देउवालाई मत दिनुभएको थियो । त्यस्तै माधव पक्षका समानुपातिक सांसद मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण कायस्थ, निरा जैरु, कलिला खातुन, लक्ष्मी चौधरी र कल्याणी खड्काले पनि देउवालाई मत दिनुभएको छ ।

प्रत्यक्ष निर्वाचिततर्फ काठमाडौं २ का माधव, तेह्रथुमका भवानी खापुङ, काठमाडौं ८ का जीवनराम श्रेष्ठ र ललितपुर २ का कृष्णलाल महर्जन हुनुहुन्छ । यसैगरी दाङ १ का मेटमणी चौधरी, मकवानपुर २ का विरोध खतिवडा, दाङ ३ का हिराचन्द्र केसी, तनहुँ १ का कृष्णकुमार श्रेष्ठ किसान, डोल्पाका धनवहादुर बुढा, मुगुका गोपाल बम र डोटीका प्रेम आले हुनुहुन्छ । देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेमध्ये ७ जनाले भने मतदानमा भाग लिएनन् भने झलनाथ खनाल दिल्लीमा उपचाररत हुनुहुन्छ ।