जनता टाइम्स

२४ श्रावण २०७८, आईतवार १६:००

नैनीतालमा भारी बोकेर चलेको नेपालीका कथा-ब्यथा, जस्को पीडा सुन्दा भकानिन्छ सवका मन


शेरबहादुर सिंह, नैनीताल, भारत । भारतको पर्यटकीय शहर नैतीतालमा कालीकोटका ६० वर्षीया पर बुढा शनिबार भारी बोक्दै गर्दा भेटिनुभयो । शिरमा ढाका टोपी, नाम्लो र पिठियुँमा भारी बोकेर नैतीताल तल्ली ताल भन्ने स्थानतर्फ जाँदै गरेका बुढाले भारी बोकेरै दैनिक पाँच सय भारतीय रुपैयाँ (भारु) कमाउने गरेको बताउनुभयो । ‘यहाँ भारी बोक्ने हामी कालीकोटका मात्रै ५०-६० जना छौं, शुरुआतमा भारी बोक्न गाह्रो हुन्थ्यो, अहिले त बानी परिसक्यो,’ उहाँले भन्नुभयो ।

बुढा अन्य नेपालीसँगै तल्लीतालमा डेरा गरी बस्नुहुन्छ । आफू १३ वर्षको उमेर हुँदा मजदूरका लागि नैनीताल आएको सुनाउँदै उहाँले यहाँको कडा परिश्रमले नै परिवारको खर्च चलिरहेको बताउनुभयो । ‘कुनै दिन त सामान बोक्न नपाए त्यसै पनि बस्नुपर्ने हुन्छ, एक क्विन्टलसम्मको भारी बोकेर डाँडाकाडासम्म पुगेको छु,’ बुढाले भन्नुभयो । नैनीताल शहर भारतको उत्तराखण्डको नैनीताल जिल्लाको सदरमुकाम पनि हो । भारत तथा नेपालीको पर्यटकीय रोजाइमा पर्ने यो क्षेत्र गर्मीका मौसममा पर्यटकले भरिभराउ हुन्छ ।

पर्यटकीय सवारीसाधन आवागमनमा सहजता भए पनि यहाँ ठूला मालवाहक सवारी चल्न रोक लगाइएको छ । चारैतिर पहाड र बीचमा आकर्षक ताल रहेको यहाँ नेपाली प्रायः भरिया काम गर्दै आएका छन । ‘कोरोनाको दोस्रो लहरका बेला पनि घर नगई यतै बिताएँ, अरु बेला घर आउने जाने भइरहन्छ,’ बुढाले भन्नुभयो । नैनीतालमा भेटिनुभएका यी साठी वर्षीय वुद्ध बुढा त प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । उहाँ जस्तै वृद्ध तथा नेपाली युवा पनि नैनीताल र आसपासका क्षेत्रमा वर्षौंदेखि भरियाका रुपमा मजदूरी गरेर आफ्नो र परिवारको जिविका चलाइरहेका छन ।

बुढा जस्तै लम्की, कैलालीका ४५ वर्षीय लक्ष्मण जोशीले पनि नैनीतालमा भरिया काम गर्न थालेको १८ वर्ष भएको छ । ‘कोरोना कहरमा घर गएको थिएँ,’ तलाउ छेउमा सामान ढुवानीमा भेटिएका जोशीले भन्नुभयो, ‘महिनाभरमा २० देखि २५ हजार भारुसम्म कमाइ हुन्छ ।’ उहाँले कोरोनाले सुनसान बनेको नैनीताल क्षेत्र केही दिनयता सामान्य बन्दै जाँदा पर्यटकको आवागमन बढेको जानकारी दिनुभयो । नैनीताल, खुर्पा ताल, भीम ताललगायत यहाँका क्षेत्रमा करिब चार/पाँच सय नेपाली कार्यरत रहेका छन । ‘महामारीका बेला धेरै नेपाली बेरोजगार बसे, कोरोनाको डरले घर गएका धेरै त फर्किएका छैनन,’ जोशीले भन्नुभयो । उहाँले दुई छोराको पढाई खर्च र परिवारको अन्य खर्च भारी बोकेको कमाइले चलिरहेको जानकारी दिनुभयो ।

नेपालमै रोजगारी भए आफूहरु नैनीताल नबस्ने उहाँको भनाई छ । ‘नेपालमा रोजगारी भए त यहाँ भारी बोक्नु किन आउनु ? यहाँ चिसो मौसम भएकाले मजदूरी गर्न ठिकै हुन्छ,’ जोशीले भन्नुभयो । उहाँजस्तै कालीकोटका धनबहादुर रावत पनि अढाइ दशकदेखि नैनीताल क्षेत्रमा मजदूरी गरेर परिवारको पालनपोषण गरिरहनु भएको छ । ‘नेपालमा रोजगार भए कहाँ किनु आउथ्यौँ र हजुर ? यहाँ भारी बोक्ने अधिकांश नेपाली नै हुन,’ रावतले भन्नुभयो । नैनीताल क्षेत्रमा सिमेन्ट, छठलगायत विकास निर्माण सामग्री, ग्यास, अन्य घरायसी सामान ढुवानी गरेरबापत दूरीका हिसाब र तौलका हिसाबले रकम मिल्ने गरेको उहाँहरुको भनाई छ । ‘ताल छेउ वरपरमाथि करिब एक किलोमिटरसम्म पनि घर छन, नेपालीले भारी बोकेरै यहाँका मालिकका ठूलाठूला घर बनेका हुन,’ रावतले भन्नुभयो । उहाँका अनुसार कोरोनाको पहिलो र दोस्रो चरणमा पाँच महिना नेपाली मजदूर कामविहीन बनेका थिए ।

नैनीतालमा भरियाका साथै सडक निर्माण, होटलमा कामदारका रुपमा पनि नेपाली कार्यरत छन । प्रशान्त होटलमा विगत २३ वर्षदेखि काम गर्दै आएका बझाङ तल्कोटका प्रेम विष्ट नेपाली नैनीताल क्षेत्रमा लामो समयदेखि मजदूरी काम गर्दै आएको बताउनुभयो । ‘घर नगएको आठ वर्ष भयो, परिवार र छोराछोरी पनि यतै साहुजीले राम्रो व्यवस्था गरेर राखिदिनुभएको छ,’ बिष्टले भन्नुभयो । उहाँले आफू १४ वर्षका उमेरमा नैनीताल आएको सुनाउनुभयो । ‘घरको अवस्था त्यस्तै थियो, मजदूरी खोज्दै यही होटलमा आइपुगें,’ बिष्टले भन्नुभयो, ‘शुरुदेखि यो होटलभन्दा अन्त काम गर्न गएको छैन ।’

उहाँले नैनीताल पर्यटकीयसँगै शैक्षिक हिसाबले पनि हब नै भएको जानकारी दिनुभयो । ‘हुनेखाने सम्पन्न नेपालीका छोराछोरी यहाँ अध्ययनका लागि आउँछन,’ बिष्टले भन्नुभयो, ‘गरिबीको रेखामुनि रहेका भारी बोक्न ।’ सुदूरपश्चिम र कर्णालीका क्षेत्रमा अधिकांश नागरिकको रोजगारीको प्रमुख गन्तव्य सदियौँदेखि भारतका विभिन्न क्षेत्र रहँदै आएको छ । कोरोनाको तेस्रो लहर आउनसक्ने चर्चा चलिरहँदा पश्चिमीका गड्डाचौकी र गौरीफन्टा नाकाबाट दैनिक दुई हजारको हाराहारीमा नेपाली रोजगारीका लागि भारत आइरहेका छन । रासस