जनता टाइम्स

१० फाल्गुन २०७८, मंगलवार १९:२७

युएईसँग पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना सकियो


काठमाडौं, १० फागुन । नेपाल अष्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटमा छनोट हुन असफल भएको छ । विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा युएईसँग आज ६८ रनले पराजित भएपछि नेपाल विश्वकपमा पुग्न असफल भएको हो । नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी–ट्वान्टी विश्वकप खेलेको थियो । त्यसयता नेपाल छनोटमा असफल हुँदै आईरहेको छ ।

ओमानमा जारी आईसीसी टी–२० विश्वकपको छनोटअन्तर्गत सेमिफाइनलमा यूएईसँग ६८ रनले पराजित हुँदै नेपाल बाहिरिएको हो । एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ७ रन जोड्यो । नेपालका दीपेन्द्रसिंह ऐरी ३८, ज्ञानेन्द्र मल्ल २० र आरिफ शेखले ११ रन बनाएर आउट भए । माथिल्लोक्रममा आसिफ शेख र लोकेश बमले खाता खोल्न सकेनन्। कुशल भुर्तेल ७ रन जोडेर आउट भए ।

यूएईको घातक बलिङसामु नेपाली ब्याट्सम्यानहरु कमजोर देखिए । अहमद रजाले ५ र जुनाइद सिद्धिकीले ३ विकेट लिए । रोहत मुस्ताफा र जहुर खानले पनि एक(एक विकेट हात पारे । सिद्धिकीले चार ओभरमा २६ रन खर्चिए । रजाले ४ ओभरमा १९ रन दिए । सिद्धिकीले पारीको पहिलो ओभरमै लगातार बलमा दुई विकेट लिएका थिए । लगातार दुई वाइड बलपछि उनले आसिफ र लोकेशलाई आउट गरेका थिए। सिद्धिकीले तेस्रो ओभरमा अर्का नेपाली ओपनर कुशललाई आउट गरेका थिए ।

दीपेन्द्र र ज्ञानेन्द्रले नेपाललाई सम्हाल्ने प्रयाश गरेपनि रजाले लगातार बलमा उनिहरु दुवैलाई आउट गरेका थिए । १३ औँ ‌ओभरमा आउट हुनुअघि दीपेन्द्र र ज्ञानेन्द्रले पाचौँ विकेटका लागि ३३ रनको साझेदारी गरेका थिए । रजाले १५ औं ओभरमा पनि २ विकेट लिएका थिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ७५ रन जोडेको थियो । यूएईका मुहम्मद वासिमले ७० र भित्र्या अरविन्दले ४६ रन बनाए।

सुरुका २ ओभरमा एक विकेट गुमाएर ६ रन जोडेको यूएईका लागि वासिम र अरविन्दले शानदार ब्याटिङ गरेका हुन् । वासिमले ४८ बलमा चार छक्का र चार चौका प्रहार गरे। उनले ३२ बलमा अर्धसतक पुरा गरेका थिए । यस्तै १९ वर्षीय अरविन्दले २३ बलमा ३ छ्क्का र ५ चौका प्रहार गरे । यूएईले दोस्रो विकेटका लागि ६६ र तेस्रो विकेटका लागि ७४ रनको साझेदारी गरेको थियो । यूएईले तेस्रो ओभरमा १८ तथा त्यसपछिका लगातार चार ओभरमा समान १३ रन जोडेको थियो ।

आठौँ ओभरको तेस्रो बलमा सन्दीपले अरविन्दलाई बोल्ड आउट गरेका थिए । १७ औँ ओभरमा अविनाशले वासिमलाई आउट गरे। उक्त ओभरमा उनले दुई विकेट लिएका थिए । जितेन्द्र मुखियाले दोस्रो ओभरमा विकेट लिएर गतिलो सुरुवात दिलाएपनि यूएईका ब्याट्सम्यान नेपाली बलरमाथी हावी बनेका थिए। सुरुको ११ ओभरमा २ विकेट गुमाएर एक सय २ रन जोडेको यूएईलाई त्यसपछि सन्दीप, दीपेन्द्र र अविनाशले नियन्त्रणमा लिने प्रयाश गरेका थिए ।

अविनाश बोहरा र जितेन्द्र मुखियाले ३/३ विकेट हात पारे। नेपाललाई हराएसँगै यूएई विश्वकपका लागि छनोट भएको छ । नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकप खेलेको थियो । त्यसयता छनोट हुन सकेको छैन। समूहगत चरणमा नेपालले तीनवटै खेल जितेको थियो भने यूएई अन्तिम खेलमा बहराइनसँग पराजित भएपछि उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको थियो ।