जनता टाइम्स

२ असार २०८२, सोमबार १३:१५

भागेका धवलशमशेर अदालतमा हाजिर 


काठमाडौं, २ असार । राजावादी आन्दोलन हिंसात्मक बनाउन उकासेको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर जबरा सोमबार काठमाडौं जिल्ला अदालतमा हाजिर हुनुभएको छ ।

अदालतले यसअघि उहाँकै वकिलको जिम्मा लगाएर जबरालाई छाडेको थियो । त्यसयता उहाँ सम्पर्कविहीन हुनुहुन्थ्यो । तर सोमबार एकाएक उहाँ अदालतमा उपस्थित हुनुभएको हो । अदालतले आजै उहाँसँग बयान लिने प्रक्रिया अघि बढाएको छ ।

यदि आजै थुनछेक बहस सकियो भने अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने कि धरौटीमा रिहा गर्ने भन्नेबारे निर्णय सुनाउनेछ । जबरासँगै हाजिर जमानतमा छुटेर सम्पर्कविहीन रहनुभएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने अझैसम्म अदालतको सम्पर्कमा आउनुभएको छैन ।

उहाँहरूलाई चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनलाई हिंसात्मक बनाउन प्रेरित गरेको आरोप लागेको छ । सो आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएको थियो । जस मध्ये एक जनालाई आन्दोलनकारीले घर भित्र थुनेर आगो लगाएका थिए भने एकको प्रहरीको गोली लागेर ज्यान गएको थियो ।