जनता टाइम्स

२ असार २०८२, सोमबार १२:५२

सभामुखले सबैको आवाज सुन्नु पर्छ : राजेन्द्र लिङ्देन


काठमाडौं, २ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता राजेन्द्र लिङ्देनले संसदमा एक सिट भएको दलको आवाज पनि समान रूपमा सम्बोधन हुनुपर्ने बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै लिङ्देनले सभामुख सबै सांसदको अभिभावक भएको बताउनुभयो । ‘सभामुख एक सिटको पनि, एक सय सिटको पनि अभिभावक हो,उहाँले सबैको अभिभावकत्व लिनुपर्छ’ लिङ्देनले भन्नुभयो ।

उहाँले संसदमा चलिरहेको विवादतर्फ सङ्केत गर्दै सभामुखबाट समस्या समाधान नगरी जबरजस्ती बैठक अघि बढाउने कार्य नहोस् भन्ने आग्रह गर्नुभयो । ‘संसद्का दुई दलले विरोध गरिरहेका बेला बैठक अघि बढाउनु हुँदैन,’ लिङ्देनले भन्नुभयो, ‘समस्या समाधान नभएसम्म जबरजस्ती संसद् अघि बढाइन्छ भने यो कर्मकाण्डलाई राप्रपाले स्विकार्दैन ।’

लिङ्देनले राप्रपाले त्यस्तो अवस्थामा संसद्को बैठक बहिष्कार गर्ने र त्यो अवधिको बैठक भत्ता समेत नलिने बताउनुभयो । हिजो पनि राप्रपाले संसद् बैठक बहिष्कार गरेको थियो ।

गृह मन्त्री रमेश लेखकको राजीनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले भने बैठक अवधि भर नारा जुलुस गरेको थियो । आज पनि सो क्रम जारी छ । बैठकमा सांसदहरूले आफ्नो धारणा राख्ने क्रम चलिरहँदा रास्वपा सांसदहरूले भने नारा लगाइरहेका छन् ।