अस्ट्रेलिया, साउन १२ । अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिक आज भएको सडक दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । अस्ट्रेलियाको परिचित पर्यटकीय क्षेत्र स्नोई माउण्टेनमा हिउँ खेल्न जाने क्रममा मोनारो हाइवेमा कार दुर्घटना हुँदा नेपाली विद्यार्थीद्वय समिक्षा सुवेदी र गोपाल भण्डारीको मृत्यु भएको हो ।
क्यानबेरास्थित नेपाली दूतावासका अनुसार सिड्नीबाट शनिबार साँझ उक्त स्थानमा जान हिँडेका १५ जना साथीहरुमध्ये ५ जना दुर्घटनामा परेका थिए। अन्य १० जना क्यानबेरामै बसेका भए पनि खाना खाएर ५ जनाको समूह भने एउटै गाडीमा स्नोई माउण्टेनका लागि राति नै हिँडेको थियो।
आज बिहान करिब ४ बजे भएको दुर्घटनामा सख्त घाइते दुईजनालाई हेलिकप्टरमार्फत उपचारका लागि क्याबेरा ल्याइएको थियो। उनीहरुको अवस्था खतरामुक्त रहेको बताइएको छ भने अर्का सामान्य घाइतेलाई घटनास्थल नजिकको कुमा अस्पतालमा उपचार गराइएको छ।
प्रतिक्रिया दिनुहोस्