जनता टाइम्स

२३ श्रावण २०७६, बिहीबार १२:३३

सुनको भाउ झनै आकासियो, अझै बढ्ने सम्भावना


काठमाडौं, साउन २३

सुनको भाउ तोलाको ७० हजार नाघेको छ । यो अहिलेसम्मकै उच्च रेकर्ड हो। साउन लागेयता लगातार बढ्दै आएको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको हो ।

छापावाल सुन हिजो एकै दिन १५ सय रुपैयाँ बढेर तोलाको ६९ हजार ५ सय रुपैयाँ पुगेको थियो। गत वर्ष साउन महिनामा सुनको मूल्य ५५ हजार ३ सय रुपैयाँ थियो। एक वर्षमै सुनको भाउ झण्डै १५ हजार वृद्धि भएको हो। चाँदी पनि हिजोको तुलनामा तोलामा १५ रुपैयाँ बढेर आज ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनचाँदीको भाउ लगातार उकालो लागेपछि बिक्री घटेको व्यवसायीको भनाइ छ। अहिले उपभोक्ताले पुराना गहना बिक्री गर्ने क्रम बढेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ बढेकाले मूल्य बढेको महासंघले जनाएको छ।