जनता टाइम्स

२४ मंसिर २०७९, शनिबार १५:००

बिश्वकप क्वाटरफाइनलमा आज पोर्चुगल–मोरक्को र इंग्ल्याण्ड–फ्रान्स भिड्दै, कस्ले मार्ला बाजी ?


काठमाडौं, मंसिर २४ । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज अन्तिम दुई क्वाटरफाइनलका खेल हुँदैछ ।

आजको पहिलो क्वाटरफाइनल खेल पोर्चुगल र मोरक्कोबीच हुनेछ । यो खेल राति पौने ९ बजे अल थुमामा स्टेडियममा सुरु हुनेछ । दोस्रो खेल भने अल बायत स्टेडियममा हुनेछ । यी दुई खेलको विजेता सेमिफाइनलमा भिड्नेछन् । आजको खेलपछि सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुङ्गो लाग्नेछ ।

कतारमा जारी विश्वकपमा मोरक्को अपराजित टिममध्ये एक हो । बेल्जियम र क्रोएसिया जस्ता टिम रहेको समूहबाट विजेता बन्दै क्वार्टरफाइनलको यात्रा तयगरेको मोरक्कोले अन्तिम १६ मा पूर्वविजेता स्पेनलाई पराजित गर्यो । एटलस लायन्सको उपनामले चिनिने यो मोरक्को पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पुगेको छ । विश्वकपको क्वाटरफाइनलमा पुग्ने मोरक्को समग्रमा चौथो अफ्रिकन टिम पनि हो ।

क्वाटरफाइनल पुग्ने मध्ये फिफा वरीयतामा सबैभन्दा पछि रहेपनि जारी विश्वकपमा भने मोरक्को प्रदर्शन निकै राम्रो देखिएको छ । सन् १९८६ पछि पहिलो पटक विश्वकपको समूह चरण पार गरेको मोरक्कोले यस पटक इतिहासमै उच्च सफलता हात पारेको हो । मोरक्को इतिहास रच्दै अझै अगाडि बढ्ने लक्ष्यका साथ राम्रो खेल खेलिरहेको छ । यस्का खेलाडी पनि लयमा देखिएका छन ।

क्रोएसियासँग गोलरहित बराबरी खेल्दै विश्वकप सुरु गरेको मोरक्कोले बेल्जियमलाई २–० ले हरायो भने क्यानडालाई २–१ ले पराजित गरेको थियो । मोरक्कोले अन्तिम १६ मा पूर्व विजेता स्पेनलाई पेनाल्टीसुटआउटमा ३–० ले स्तब्ध पारेको थियो । मोरक्कोले जारी विश्वकपमा जम्मा एक गोल मात्र खाएको छ । त्यो गोल पनि आत्मघाती गोल थियो । पोर्चुगललाई पनि स्तब्ध पारेको अवस्थामा मोरक्को विश्वकपको इतिहासमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम बन्ने छ ।

यस्तै चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल पनि बिश्वकपको दाबेदारको रुपमा हेरिएको छ । पोर्चुगल १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा पुगेको हो । उस्ले अहिलेसम्म बिश्वकप जितेको छैन । सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा सेमिफाइनल पुगेको पोर्चुगल १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । २०१० र २०१८ मा अन्तिम १६ बाटै आउट भएको पोर्चुगल २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो ।

यसपटक २००६ को प्रदर्शन दोहोर्याउने लक्ष्यमा पोर्चुगल रहेको छ । पोर्चुगल अहिलेसम्म दुई पटक विश्वकपको सेमिफाइनल पुगेको छ जसमा सन १९६६ मा तेस्रो हुनु अहिलेसम्मको उत्कृष्ट नतिजा हो । यस पटक पोर्चुगलको प्रदर्शनमा उतारचढाव देखिएको छ । समूह चरणको सुरुआती दुई खेल जितेर नकआउट चरणमा स्थान पक्का गरेको पोर्चुगल दक्षिण कोरियासँग पराजित भएको थियो ।

घानालाई ३–२ र उरुग्वेलाई २–० ले पराजित गरेको पोर्चुगल दक्षिण कोरियासँग २–१ ले पराजित भएको हो । तर अन्तिम १६ मा स्वीजरल्याण्डलाई ६–१ को फराकिलो अन्तरले हराउँदै पोर्चुगलले आफ्नो उत्कृष्ट प्रदर्शन देखाएको छ ।

कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमै राखेपनि युवा फरवार्ड गोन्सालो रामोसले पहिलो रोजाइमा खेल्दै जारी विश्वकपकै पहिलो ह्याट्रिक गरेका छन । १६ वर्षपछि क्वाटरफाइनल खेल्न लागेको पोर्चुगलको भेट पहिलो पटक विश्वकपको क्वाटरफाइनल पुगेको मोरक्कोसँग आज हुनेछ । पोर्चुगलले मोरक्कोलाई हराएको अवस्थामा सेमिफाइलनको यात्रा तय गर्नेछ ।

इंग्ल्याण्ड–फ्रान्समध्ये कस्ले जित्ला ?

जारी विश्वकपमा अपराजित चारमध्ये इंग्ल्याण्ड पनि एक टीम हो । १९६६ मा एक पटक विश्वकप जितेको इंग्ल्याण्ड त्यसयता फाइनलसम्म पुग्न सकेको छैन । इंग्ल्याण्ड ५६ वर्षपछि विश्वकप उपाधि जित्ने लक्ष्यसहित कतार पुगेको छ । चार वर्षअघि सेमिफाइनलमा पराजित भएको इंग्ल्याण्डले यस पटक साविक विजेता फ्रान्ससँग क्वाटरफाइनलमा भिडन लागेको हो ।

अन्तिम १६ सम्म अपराजित इंग्ल्याण्डले त्यही लयलाई निरन्तरा दिँदै फ्रान्सलाई चुनौती दिने देखिन्छ । समूह चरणमा दुई जित र एक बराबरीको नतिजासहित इंग्ल्याण्ड समूह बी को विजेता बनेको थियो । पहिलो खेलमा इरानलाई ६–२ ले हराएको इंग्ल्याण्ड दोस्रो खेलमा अमेरिकासँग गोलरहित बराबरीमा रोकिएको थियो । तर तेस्रो खेलमा वेल्सलाई ३–० ले हराउँदै इंग्ल्याण्ड समूह विजेता बनेको हो ।

अन्तिम १६ मा सेनेगललाई ३–० ले हराएर इंग्ल्याण्ड बिजयी बनेको हो । ह्यारी केनको कप्तानीमा रहेको इंग्ल्याण्डका लागि यस पटक मार्कुस रासफोर्ड र जुड बेलिङ्घमले उत्कृष्ट प्रदर्शान गरेका छन । साविक विजेता फ्रान्स कतार विश्वकपमा उपाधि दाबेदारमध्ये एक हो । १९६२ मा ब्राजिलपछि विश्वकप उपाधि रक्षा गर्ने पहिलो टिम बन्ने लक्ष्यमा रहेको फ्रान्सलाई यस पटक चोटले पिरल्यो । चोटकै कारण विश्वकपअघि देखि विश्वकप सुरु हुँदासम्म फ्रान्सका ५ खेलाडीले विश्वकप गुमाए ।

तर अझै पनि फ्रान्सको अट्रयाक उत्कृष्ट छ । किलियन एमबाप्पे ५ गोल गर्दै सर्वाधिक गोलकर्ताको दौडमा छन । यस्तै क्वाटरफाइनलमा दुई पूर्व विजेताबीच हुन लागेको यो नै एक मात्र खेल हो । फ्रान्सले समूह डी मा सुरुवाती दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गर्दा अन्तिम खेलमा हार बेहोरेको थियो ।

पहिलो खेलमा अष्ट्रेलियालाई ४–१ ले र दोस्रो खेलमा डेनमार्कलाई २–१ ले हराएको फ्रान्स तेस्रो खेलमा ट्युनिसियासँग १–० ले पराजित भएको थियो । फ्रान्सले अन्तिम १६ मा पोल्याण्डलाई ३–१ ले हराएको थियो । अहिलेसम्मको प्रदर्शनका आधारमा यसपटकको खेल निकै प्रतिस्पर्धात्मक हुने देखिएको छ ।