सिन्धुली, ७ असार । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा वाग्मती प्रदेश इञ्चार्ज डा राजन भट्टराईले पार्टीभित्र गम्भीर मतभेद नरहेको बताउनुभएको छ ।
शनिबार सिन्धुलीमा आयोजित नेकपा एमालेको आठौँ जिल्ला प्रतिनिधि परिषद् सदस्यहरूको दोस्रो बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टी नेतृत्व र विचारमा केही समस्या नभएको स्पष्ट पार्नुभयो । उहाँले एमालेलाई चौतर्फी आक्रमण भइरहेका बेला कतिपय नेताहरूको मनोविज्ञानले भने समस्या सिर्जना गरिरहेको बताउनुभयो ।
भट्टराईले पार्टीभित्र विचार र नेतृत्वको तहमा स्पष्टता रहे पनि बिचको तहमा कार्यशैलीमा समस्या देखिएको बताउनुभयो । ‘नेतृत्वमा समस्या छैन, विचारमा समस्या छैन, तर बिचको नेतृत्वमा समस्या देखियो’, उहाँले भन्नुभयो, ‘त्यो समस्या समाधान गर्नु तपाईँ सम्पूर्ण प्रतिनिधिहरूको जिम्मेवारी हो ।’
उहाँले पार्टी विधान, विधि र पद्धतिको पालना नगर्ने प्रवृत्तिले संगठन कमजोर हुने भन्दै त्यसप्रति सचेत रहन आग्रह गर्नुभयो । ‘पार्टी जसरी चल्नु पर्थ्यो, त्यसरी चलेन’, उहाँले भन्नुभयो, ‘जसले विधान र नियमको उल्लङ्घन गर्छ, त्यसलाई प्रतिवाद गर्नुपर्छ ।’
भट्टराईले वर्तमान पुँजीवादी अर्थतन्त्र र व्यवस्थाले जनअपेक्षा पूरा गर्न नसकेको बताउँदै विश्वमा समाजवादप्रतिको भरोसा फेरि बढेको उल्लेख गर्नुभयो । उहाँले चीन, भियतनाम र लाओसजस्ता देशले समाजवादी मोडेलको सफल कार्यान्वयन गर्दै नेतृत्व गरिरहेको उदाहरण दिनुभयो । ‘पुँजीवाद संकटमा छ, समाजवाद फेरि बलियो हुँदै छ’, उहाँले भन्नुभयो, ‘हामी समाजवाद निर्माणको मार्गमा छौँ, त्यसका लागि पार्टीभित्रको एकता, अनुशासन र विचारमा स्पष्टता जरुरी छ ।’
भट्टराईले एमाले नेतृत्व र पार्टी विरुद्ध भइरहेका आक्रमणको प्रतिवाद गर्न सम्पूर्ण कार्यकर्तालाई तयार रहन आह्वान गर्नुभयो । ‘हामीमाथि चौतर्फी हमला भइरहेका छन्, त्यसको प्रतिवाद गर्न सबै तहका नेता र कार्यकर्ताहरू एक ढिक्का भएर लाग्नुपर्छ’, उहाँले भन्नुभयो ।
एमाले उपमहासचिव प्रदीप ज्ञवाली प्रमुख अतिथ्यतामा भएको कार्यक्रम एमाले सिन्धुलीका जिल्ला इञ्चार्ज मनोजजंग थापाले कार्यकर्ता तहमा प्रशिक्षण र संगठन सुदृढीकरण गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रम पार्टीका जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा भएको नेकपा एमाले सिन्धुलीका प्रचार तथा प्रकाशन विभाग प्रमुख कर्ण घिसिङले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्