सिन्धुली, ७ असार । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाललाई विकास र समृद्धिको मार्ग चाहिएको बताउनु भएको छ ।
सिन्धुलीमा सम्पन्न नेकपा एमालेको आठौँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्दै उहाँले दुई छिमेकी राष्ट्र चीन र भारतसँग झगडा गरेर होइन, आपसी सहकार्यको सम्बन्धबाट मात्र मुलुकले समृद्धिको आकांक्षा पूरा गर्न सक्ने बताउनुभयो । ‘चीनसँग बीआरआई सम्झौता गरिएको छ, भारतले पनि त्यस्तै प्रस्ताव ल्यायो भने हामी सकारात्मक रहन्छौँ, हामी विश्वको दोस्रो र चौथो अर्थतन्त्रसँग सहकार्य गरेर अघि बढ्न चाहन्छौँ’, उहाँले भन्नुभयो ।
उहाँले कुनै पनि नामको हिंसा स्वीकार्य नहुने बताउँदै विकासका मुद्दामा राष्ट्रिय सहमति आवश्यक भएको बताउनुभयो । ‘हाम्रो अर्थतन्त्र लयमा फर्किरहेको छ, निराशा चिर्दै सरकार अघि बढिरहेको छ’, उहाँको भनाइ थियो ।
राजनीतिमा निरन्तर अस्थिरता र स्वार्थपूर्ण प्रवृत्तिका कारण मुलुक पछाडि परेको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले नेकपा माओवादी केन्द्रको नेतृत्वले देशलाई ‘लंगुर बुर्जा’ मा परिणत गरेको टिप्पणी गर्नुभयो । ‘माओवादी प्रवृत्तिले न विकास सम्भव छ, न कम्युनिष्ट आन्दोलन नै अघि बढ्न सक्छ’, उहाँले भन्नुभयो ।
उहाँले एमालेले मात्रै राष्ट्रिय राजनीतिलाई देश हितको मार्गमा ल्याएको दाबी गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नन्दकिशोर पुनलाई राष्ट्रपति बनाउन अस्वीकार गरेको खुलासा गर्नुभयो । ‘३२ सिट मात्रै जितेको माओवादी विदेशी हितमा लागेको छ’, ज्ञवालीले भन्नुभयो ।
उहाँले पार्टीमा अवसर मात्रै खोज्नेले पार्टीको हितमा काम नगर्ने पनि बताउनुभयो । पार्टीबाट अवसर पाएका तर अनुशासन नमान्ने प्रवृत्तिप्रति खतरनाक भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘एजेण्डाका आधारमा होइन, अवसरले जागेकाहरूले आफ्नै घरमा आगो लगाउन खोजिरहेका छन् ।’
सिन्धुलीमा पार्टी नेतृत्वबिच आपसी समझदारी सुदृढ हुँदै गएको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले यस्तो समन्वयले कुनै पनि पार्टी वा व्यक्तिले हस्तक्षेप गर्न नसक्ने अवस्था निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टी कमिटी र सदस्यहरू जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्