सहिद स्मृति दिवसको यस पुनित दिनमा हाम्रो पार्टी पुनः एकपटक महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँहरुको आदर्शलाई अविचलित रुपले पछ्याइरहने सङ्कल्प गर्दछ ।
केपी शर्मा ओली
आज फागुन २१ गते, सहिद स्मृति दिवस । पचास वर्ष अगाडि आजकै दिन नेपाली कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी भावधाराका साथ पुनर्गठन गर्ने उद्देश्यसहित सुरु भएको झापा विद्रोहका अग्रज योद्धाहरु रामनाथ दहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई जेल सार्ने निहुँमा चन्द्रगढी कारागारबाट निकालेर सुखानीको जङ्गलमा लगी कायरतापूर्ण हत्या गरिएको थियो । सहिद स्मृति दिवसको यस सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उहाँहरु लगायत राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, सामाजिक–आर्थिक रुपान्तरण र समाजवादी लक्ष्यका लागि जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।
झापा विद्रोह नेपालको राजनीतिक इतिहासको एउटा अत्यन्त महत्वपूर्ण परिघटना थियो । यस विद्रोह मार्फत् झापाका युवाहरुले निरङ्कुश राजतन्त्रका विरुद्ध सशक्त प्रतिरोधको शङ्खघोष गर्नुभएको थियो । नेपाली कम्युनिष्ट आन्दोलनमा उत्पन्न शिथिलता, विभाजन र विखण्डनको सिलसिलामा सशक्त हस्तक्षेप गर्दै यस परिघटनाले विद्रोह, पुनर्गठन, पुनर्निर्माण र एकीकरणको नयाँ धार निर्माण गरेको थियो । राजनीतिमा देखा परेका अकर्मण्यता, नैराश्य र आत्मसमर्पणवादी प्रवृत्तिलाई अस्वीकार गर्दै यस आन्दोलनले गतिशीलता, आशावाद र बलिदानका नयाँ मूल्यहरु स्थापित गरेको थियो । नेपालको लोकतान्त्रिक र वामपन्थी आन्दोलनमा झापा विद्रोहको विशिष्ट योगदान रहेको छ ।
आन्दोलनले सल्काएको विद्रोहका ज्वालाहरुलाई निभाउन तत्कालीन राज्यसत्ता क्रूरतापूर्वक प्रस्तुत भयो । दर्जनौं योद्धाहरु मारिनु भयो । आन्दोलनका कैयौं नेताहरुमाथि झुठा अभियोगहरु लगाएर कठोर यातना दिइयो, १६/१७ वर्षसम्म जेल र गोलघरमा बन्दी बनाइयो । कैयौंलाई विस्थापित हुन वाध्य बनाइयो । तर राज्य आतङ्क सिर्जना गरेर विद्रोहलाई समाप्त पार्ने राजतन्त्रका प्रयासहरु सफल हुन सकेनन् । ठूलो धक्का र क्षतिका बाबजुद आन्दोलन धुलो टक्टक्याउँदै उठ्यो । आफैभित्र सिर्जित उग्रवामपन्थी कमजोरी र राज्यसत्ताका दमन दुबैविरुद्ध कठोर वैचारिक– राजनीतिक सङ्घर्ष गर्यो । आन्दोलनका प्रभावहरु क्रमशः देशैभरि विस्तारित, सङ्गठित र सशक्त बन्दै गए । वाह्य अनुभवहरुको अन्धानुकरण, सङ्कीर्णता र जडसूत्रवादी गल्तीहरु सच्याउँदै माक्र्सवादका सार्वभौम सच्चाइको आलोकमा नेपाली क्रान्तिको मौलिक बाटो र सिद्धान्तको खोजी कार्य अगाडि बढ्यो ।
आज जनताको बहुदलीय जनवाद तिनै वैचारिक अन्वेषण, विश्लेषण र संश्लेषणको उच्चतम सैद्धान्तिक उपलब्धिका रुपमा स्थापित छ । कोअर्डिनेशन केन्द्र र नेकपा (माले) हुँदै आज नेकपा (एमाले) का रुपमा कम्युनिष्ट आन्दोलन र देशकै मुख्य राजनीतिक शक्ति बनेको हाम्रो पार्टीको जगमा त्यसै आन्दोलनको बिरासत रहेको छ । पार्टीको यस उचाइ र विस्तारको जगमा आदरणीय सहिदहरुको प्रेरणास्रोत अन्तरनिहित रहेको छ ।
प्रतिरोध, त्याग र बलिदानकै यस शृङ्खलामा छिन्ताङ, पिस्कर लगायत अनेकौं जनसङ्घर्ष र तिनीहरुमाथि तत्कालीन राज्यसत्ताबाट क्रूर दमन भएका छन् । रत्नकुमार बान्तवा, हरि नेपाल, ऋषि देवकोटा ‘आजाद‘ लगायत अनेकौं नेताहरुले आफ्नो जीवन उत्सर्ग गर्दै आन्दोलनको चिरागलाई अगाडि बढाउनु भएको छ ।
कम्युनिष्ट आन्दोलनको पुनर्गठन, पुननिर्माण, एकीकरण, निःस्वार्थ जनसेवा, बलिदान र समृद्ध एवं समुन्नत राष्ट्रका सपना जस्ता झापा आन्दोलनले स्थापित गरेका मूल्यहरु आज पनि उत्तिकै सान्दर्भिक रहेका छन् ।
आज मुलुक असामान्य परिस्थितिबाट गुज्रिरहेको छ । विश्वको बदलिँदो शक्ति सन्तुलन, परिवर्तित भूराजनीति र दक्षिण एसियामा देखिन थालेका शक्ति राष्ट्रहरुका प्रतिष्पर्धाबाट राष्ट्रिय स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानको रक्षा गर्ने हाम्रो मार्ग जोखिमपूर्ण बन्दै गएको छ । राजनीतिमा देखा परेको अस्थिरता, अवाञ्छित सत्तालिप्सा र आत्मसमर्पणवादले यस चुनौतीलाई अझ जटिल बनाएका छन् । मुलुकको अर्थतन्त्र सङ्कुचन, मन्दी र सङ्कटको चरणबाट गुज्रिएको छ । विगतमा अवलम्बन गरिएका कतिपय आर्थिक विचलन र हानीकारक नीतिहरुका कारण अन्तर्राष्ट्रिय वित्त क्षेत्रमा नेपालको विश्वसनीयता र प्रतिष्ठामाथि प्रश्नचिह्न खडा भएको छ ।
विकास र समृद्धिको यात्रालाई अवरुद्ध पारिँदा, जनताको सेवाप्रवाहमा वाधा सिर्जना गरिँदा, राजनीति भनेकै जसरी पनि सत्ता प्राप्तिका लागि हो र सत्ता भनेकै भागबण्डाका लागि हो भन्ने जस्ता गलत मान्यता स्थापित हुँदैछन् । राजनीतिमा जवाफदेहिता, पारदर्शिता, विश्वसनीयता र मूल्यहरुको केही अर्थ छैन भन्ने जस्ता विकृतिहरुलाई संस्थागत गरिँदा जनतामा नैराश्य निरन्तर बढिरहेको छ । सामाजिक सद्भाव, सौहार्दता र मौलिक मूल्यहरुको विघटन तीव्र बन्दै गएको छ । यो नैराश्यबाट लाभ लिन एकातिर पश्चगामी शक्तिहरु सलबलाई रहेका देखिन्छन् भने अर्कातिर समाजलाई अराजकतातिर धकेल्ने प्रयास पनि तीव्र बन्दै गएको छ ।
बलियो राष्ट्रिय शक्तिको नेतृत्वमा मात्रै यी चुनौतीलाई चिर्न र मुलुकलाई सही दिशाबोध गर्न संभव छ । बलियो राष्ट्रिय शक्तिको जगमा मात्रै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न संभव छ । र, त्यस्तो स्थायित्वको बलमा मात्रै राष्ट्रिय हितको रक्षा, विकास र समृद्धि प्राप्ति संभव छ, सुशासन एवं सामाजिक न्यायको प्रत्याभूति संभव छ । नेकपा (एमाले) को नेतृत्वमा नेपाली कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाउन सक्दा मात्रै यस्तो राष्ट्रिय शक्ति थप सशक्त बन्न सक्छ भन्ने स्पष्ट छ ।
कम्युनिष्ट आन्दोलनलाई विभाजित गरेर पुँजीवादीहरुलाई नेतृत्वमा स्थापित गर्ने, दक्षिणपन्थी शक्ति बलियो बन्दा गौरववोध गर्ने तथा सत्तालिप्सा, आत्मसमर्पण र कम्युनिष्ट आदर्शहरुको स्खलनका माध्यमबाट आन्दोलनलाई भित्रैदेखि समाप्त पार्ने दक्षिणपन्थी अवसरवाद आज कम्युनिष्ट आन्दोलनको सशक्तीकरणका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ । दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गर्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई सशक्त राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्नु र यसको नेतृत्वमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा अगाडि बढ्नु नै हाम्रा अग्रज सहिदहरुप्रतिको साँचो श्रद्धाञ्जली ठहरिने छ ।
सहिद स्मृति दिवसको यस पुनित दिनमा हाम्रो पार्टी पुनः एकपटक महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँहरुको आदर्शलाई अविचलित रुपले पछ्याइरहने सङ्कल्प गर्दछ ।
(नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहिद स्मृति दिवसको सन्दर्भमा दिनुभएको वक्तव्य)
प्रतिक्रिया दिनुहोस्