काठमाडौं, चैत ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणपछि मात्रै अन्य देशको भ्रमणमा जाने बटमलाइन बनाउनु भएको छ ।
राष्ट्रपति र उपराष्ट्रपति दुवै संबैधानिक पदमा कम्युनिष्ट आउन नदिने भारतको मिसन पूरा गर्नुभएका प्रधानमन्त्री प्रचण्डले पहिलो भ्रमण भारतमै हुनुपर्ने बटमलाइन सुनाएअनुसार दिल्लीपछि मात्रै अन्त जाने निर्णय लिनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो भागमा परेको उपराष्ट्रपति पदसमेत कम्युनिष्ट आउन नहुने भारतको बटमलाइन मानेर त्याग्नुभएको थियो । यो मिसन पूरा गरेसँगै पहिलो बिदेश भ्रमण भारतमा गरी भारतीय चाहनाअनुसार नागरिकतासहित अन्य काम पत्ते गरेर अन्य देशमा भ्रमण गर्ने नीति अंगाल्नु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बोआओ फोरममा भाग लिन चीन नजाने हुनुभएको छ । चीनको हेनान प्रान्तमा मार्च २८ देखि ३१ सम्म बोआओ फोरमको सम्मेलन हुँदैछ । प्रधानमन्त्री दाहालले उक्त फोरमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।
नेपालस्थित चिनियाँ दूतावासले फागुन ८ गते (फेब्रुअरी २०) प्रधानमन्त्रीलाई पत्र पठाई बोआओ फोरममा सहभागी हुन औपचारिक निमन्त्रणा गरेको थियो । बोओओ फोरममा सहभागी हुने जवाफ दिनुभएका प्रधानमन्त्री दाहालले एक्कासी चीन भ्रमण रद्द गर्नुभएको हो । यो निर्णयलाई निकै अर्थपूर्णरूपमा हेरिएको छ ।
चीनले बोआओ फोरममा सम्बोधन गरेलगत्तै औपचारिक भ्रमणको प्रस्ताव गरेको थियो । चीनको सो प्रस्तावमा समेत प्रधानमन्त्री दाहाल सकारात्मक हुनुहुन्थ्यो । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री दाहालको भ्रमणको तयारी सुरु गरेको थियो । तर केहीदिन अघि प्रधानमन्त्री दाहालले नेपालका लागि चिनियाँ राजदूत छन् सोङलाई बोलाएर आफू बोआओ फोरममा जान नसक्ने जानकारी गराएको स्रोतले बताएको छ ।
प्रधानमन्त्री दाहालले आन्तरिक राजनीतिक स्थायित्व पाइनसकेकाले आफू तत्काल चीन जान नसक्ने सन्देश पठाएको स्रोतले बताएको छ । उहाँले चिनियाँ दूतावासमार्फत् बेइजिङलाई सो सन्देश पठाउनु भएको हो ।
एसियाली मुलुकहरूबीच क्षेत्रीय सहकार्य बढाउने, विश्वमा एसियाली मुलुकहरूको प्रभुत्व बढाउनेलगायतका उद्देश्य राखी सन् २००१ देखि बोआओ फोरम सुरु भएको हो । फोरमको बैठकमा आर्थिक, सामाजिक र सरकारका विविध पक्षमा छलफल हुने गरेको छ।
प्रधानमन्त्री भएपछि एक भारतीय टेलिभिजनमा दिएको अन्तर्वार्तामा दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट सुरु हुने बताउनुभएको थियो । यसअघि प्रधानमन्त्री दाहालले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कारण देखाउँदै फागुन १९ मा हुने भनिएको कतार भ्रमणसमेत रद्ध गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्