काठमाडौं, बैशाख ३० । डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीका लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले राजीनामा दिनुभएको छ । गुरुङले मंगलबार प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएको उल्लेख गर्दै सभामुख तुलाराम घर्ती मगरलाई पत्र लेख्नुभएको छ ।
उक्त पत्र सभामुख मगरकहाँ भने पुगिसकेको छैन तर उहाँ आफैले सामाजिक सञ्जालमा राजीनामा पत्र सार्वजनिक भएको छ । सांसद गुरूङले आफ्नो लेटरप्याडमा लेखेको हस्तलिखित राजीनामा पत्र सार्वजनिक भएको हो । सांसद गुरुङ बिदेशमा रहनुभएको छ । बिदेशबाटै राजीनामाबारे सोध्न खोज्दा सांसद गुरूङसँग सम्पर्क हुन सकेन । गुरूङ जनमत पार्टीबाट समानुपातिक सांसद हुन ।
सांसद गुरूङले सभामुख घर्तीमगरलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको उल्लेख छ । उहाँले लेखेको राजीनामा पत्रमा राष्ट्र देश जनताभन्दा माथि कोही नहुने भएकोले प्रदेश सांसद पदबाट राजीनामा दिएको उल्लेख छ ।
जनमत पार्टीका लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता चन्द्रकेश गुप्ता (सिके) ले सांसद गुरूङले राजीनामा दिएकोबारे आफूलाई जानकारी नगराएको जानकारी दिनुभयो । ‘उहाँले राजीनामाबारे पार्टीलाई जानकारी गराउनुभएको छैन, मैले पनि समाचार र पत्रकारहरूबाट थाहा पाउँदैछु,’ उहाँले भन्नुभयो ।
सांसद गुरूङका श्रीमान कैलाश गुरूङ केही समय पहिले जनमत पार्टी परित्याग गरी जसपामा प्रवेश गर्नुभएको छ । त्यसैले उहाँ पनि जसपा प्रवेशका लागि सांसदबाट राजीनामा दिएको हुन सक्ने चर्चा भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्