जनता टाइम्स

३० बैशाख २०८२, मंगलवार १६:३७

अब अत्याधुनिक सुविधासम्पन्न छायाङ्कन स्थल बन्ने छ : प्रधानमन्त्री 


काठमाडौं । बैशाख ३०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा एउटा पनि सुविधासम्पन्न स्टुडियो नहुनु दुःखको कुरा भएको बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको मंगलबार आरम्भ उद्घोष (शिलान्यास) गर्दै उहाँले अब सुविधासम्पन्न स्टुडियो बन्ने बताउनुभयो । ४२ रोपनी जग्गामा निर्माण हुने उक्त स्टुडियोमा अत्याधुनिक सुविधासम्पन्न छायाङ्कन स्थल हुनेछ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गर्नुभएको हो । देशमा चलचित्र निर्माण सुरु भएको छ दशक पूरा हुँदा पनि सुविधासम्पन्न स्टुडियो निर्माण नभएको निर्माता तथा कलाकारले गुनासो गर्दै आउनु भएको थियो ।