जनता टाइम्स

१७ चैत्र २०७९, शुक्रबार ११:३०

खोटाङ उद्योग वाणिज्य संघ अध्यक्षमा राजनप्रसाद आचार्य विजयी


खोटाङ, १७ चैत । खोटाङ उद्योग वाणिज्य संघको अध्यक्षमा राजनप्रसाद आचार्य र महासचिवमा अजय बस्नेत निर्वाचित हुनुभएको छ । कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवार समुन्द्रप्रसाद जोशीलाई १९६ मतले पछि पार्दै आचार्य वाणिज्य संघको अध्यक्षमा निर्वाचित हुनुभएको हो। बिहीबार राति सार्वजनिक अन्तिम मत परिणामअनुसार निकटतम प्रतिद्वन्द्वी जोशीले १३८ मत ल्याउँदा आचार्यले ३३४ मत ल्याएका छन् ।

एकीकृत समाजवादीका जिल्ला सचिव रहेका आचार्य अन्य दलबाट टिकट नपाउँदा असन्तुष्ट व्यवसायीलाई समेटेर वाणिज्य संघको नयाँ नेतृत्वका लागि चुनावी मैदानमा उत्रिनु भएको थियो । महासचिवमा प्रतिस्पर्धी सुमन श्रेष्ठलाई २१८ मतले पछि पार्दै बस्नेत विजयी हुनुभएको हो बस्नेतले ३४१ मत ल्याउँदा श्रेष्ठले १२३ मत ल्याउनुभएको हो । कोषाध्यक्षमा भने तीन दलीय गठबन्धनका युधिर शाक्य निर्वाचित हुनुभएको छ । शाक्यले २६० मत पाउँदा प्रतिष्पर्धी नेत्र कट्वालले १८९ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

जोशीको प्यानलबाट कुमार बजिमय (३७१), कृष्णकुमार श्रेष्ठ (मणि) (२७८), टंकप्रसाद आचार्य (३०३), रोशन शैंजु (३१३), विपिन श्रेष्ठ (२७७) र हिरालाल पुरी (२७२) बाणिज्य संघको सदस्यमा निर्वाचित भएका छन् । आचार्यको प्यानलबाट कैलाश भट्टराई ९२५२० मात्र बिजयी भएका छन् । वाणिज्य संघको ६७१ मतदातामध्ये ४८० मात्रै खसेको थियो । तीन दलीय गठबन्धनकाबीच आचार्य र बस्नेतको प्यानललाई कतिपय एमाले नेताकै समर्थन मिलेको थियो ।

सात जना निर्विरोध

वाणिज्य संघको पदाधिकारी सहित १७ जनामध्ये सात जना निर्विरोध निर्वाचित भइसकेका छन् । बरिष्ठ उपाध्यक्षमा मनोजकुमार बजिमय, प्रथम उपाध्यक्षमा विजयश्वर श्रेष्ठ, द्धितीय उपाध्यक्षमा मणिशोभा राई, सचिवमा लेखबहादुर खड्का, महिला सदस्यमा गोपीमायाँ आचार्य, महिला सदस्य रेनुका पोखरेल र विमला राई निर्विरोध हुनुभएको हो ।