जनता टाइम्स

१६ भाद्र २०७६, सोमबार १६:१२

एटिएम ह्याक काण्डमा पक्राउ परे तीन नेपाली ब्यापारी


काठमाडौं, भदौ १६

बैंकको एटिएमलाई ह्याक गरेर लुटिएको रकम साट्ने दुई मनि चेञ्जरका तीन नेपालीलाई पक्राउ गरेको छ । ह्याकरहरुले नेपाली रुपैयाँ साट्ने ठमेलका दुई मनि चेञ्जरको पहिचान गरी संचालकलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरीपरिसर काठमाडौंको विशेष टोलीले चिनियाँ टोलीले २९ लाख ९९ हजार रुपैयाँबराबर अमेरिकी डलर साटेको भेटिएको जनाएको छ । परिसरका अनुसार ठमेलमा रहेको डेक्सो मनि चेञ्जर र नेपालय मनि चेञ्जरले अनधिकृत रुपमा चारजना चिनियाँलाई २८ हजार ८ सय ६२ अमेरिकी डलर सटही गरिदिएका थिए।

नेपाली रुपैयाँ सस्तोमा किनेर महंगोमा डलर बेच्ने डेक्सोका सञ्चालक वेदनाथ लामिछाने र नेपालयका सञ्चालक रोशन प्रधान श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। घटनामा प्रत्यक्ष संलग्न रहेका नेपाललयका प्रबन्धक रेवती दवाडी समेत पक्राउ परेका छन् ।

‘होटलबाट फरार रहेका ३ जना चिनियाँ नागरिकको २९ लाख ९९ हजार रुपैयाँ साटेको अनुसन्धानमा देखिएको छ,’ प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले भन्नुभयो, यसरी साट्नु गैरकानूनी भएकाले उनीहरूलाई नियन्त्रणमा लिएका हौं ।’