जनता टाइम्स

१ जेष्ठ २०८२, बिहीबार १८:३२

सुरक्षित मानवीय जीवन र सुन्दर भविष्यको रक्षाका लागि काम गर्नुपर्छ : प्रधानमन्त्री


काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बढे तापमान र प्रदूषणका कारण मानव जीवन र पृथ्वीको भविष्य संकटमा परेको बताउनुभएको छ ।

डा गोपालकृष्ण सिवाकोटीद्वारा लिखित ‘क्याइमेट कालामिटी : जष्टिस फर लस एण्ड ड्यामेज’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले भविष्यका सन्ततिको सुरक्षित र सम्मानको लागि सबैले मिलेर काम गर्नुपर्ने बताउनुभयो । ‘हाम्रा भविष्यका सन्तति सुरक्षित र सम्मानित हुनुपर्छ, उनीहरूको चेहरामा हाँसो हुनुपर्छ’, ओलीले भन्नुभयो ।

जीवनको सुरक्षाको लागि पनि धर्तीलाई जोगाउनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘धर्ती तातो र वातावरण प्रदूषित हुँदै गएर मानवीय जीवन र सुन्दर विश्वको भविष्य खतरामा पर्दै जान थालेको छ, यस्तो समयमा हामीले सुरक्षित मानवीय जीवन र सुन्दर भविष्यको रक्षाका लागि काम गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले सगरमाथा संवादका क्रममा जलवायु न्यायसम्बन्धी अध्ययन र प्रतिवेदनको सारलाई आफूले सम्बोधनमा समावेश गर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, पूर्व परराष्ट्र मन्त्री डा विमला राई पौडेल, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा सूर्य ढुङ्गेल र जलवायुविज्ञ मञ्जिल ढकालले पुस्तकको सान्दर्भिकताबारे समीक्षात्मक मन्तव्य राख्नु भएको थियो ।

सरकारले शुक्रबारदेखि पहिलो पटक नेपालमा सगरमाथा संवादको आयोजना गरेको छ ।