काठमाडौं, २ भदौ । काठमाडौंको हनुमानढोका परिसरमा फोटो प्रदर्शनी आयोजना गरिएको छ । १८४ औं फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले सिविन–नेपालसंगको सहकार्यमा फोटो प्रदर्शनी आयोजना गरेको हो । प्रदर्शनीमा २५ जनाफोटो पत्रकारका बालअधिकारको संरक्षण र प्रवद्र्धनमा समाजमा आएको सकारात्मक परिवर्तनलाई चित्रण गर्ने प्रकारका बालबालिका सम्बन्धी ६० वटा तस्वीरहरु राखिएको कार्यक्रम संयोजक तथा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,‘१८४ औं विश्वफोटोग्राफी दिवसमा बालबालिका राष्ट्रको गौरव हुन् भन्ने नारालाई स्थापित गर्दै तस्वीरमा फोटो प्रदर्शनी गरेका हौं । विभिन्न फोटोग्राफरहरुले खिचेका ६० वटा फोटोहरु रहेका छन् । यहाँ हिमाल, पहाड, तराईका बालबालिकाहरुको सबै फोटो समेटेर राखेका छौं । यसभन्दा अगाडि पर्यटन सम्बन्धी यस्तो कार्यक्रमहरु गर्दै आएका थियौ ।’ उक्त फोटो बालअधिकार अभियन्ता तथा सिविन नेपालका संस्थापक अध्यक्ष गौरी प्रधानले आजको फोटो प्रदर्शनी बालबालिकामा केन्द्रित रहेको भन्दै फोटोहरु देशको वर्तमान अवस्थाको प्रतिविम्ब पनि भएको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘एउटा जीवित फोटोले धेरै कुराहरु बोल्छ जुन कुराहरु किताबमा लामो लामो व्याख्या हुन्छ त्यसलाई फोटोले देखाउँने गर्दछ । बालबालिकामा केन्द्रित रहेको छ आजको यो प्रदर्शनी, आजको यो फोटोहरु देशको एउटा प्रतिविम्ब पनि हो । कार्यक्रममा बालबालिकाको संरक्षणका लागि खडा गरिएको संयन्त्र बाल हेल्पलाइन नेपाल १०९८ बारे जानकारी फैलाउने उद्देश्यले बाल हेल्पलाइन मोबाइल बुथ पनि प्रदर्शनमा राखिएको हो।’
प्रतिक्रिया दिनुहोस्