काठमाडौं, भदौ २१ । सभामुख देवराज घिमिरेले कांग्रेस नेता महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमण र कान्ति अस्पतालको घटनाबारे संसदलाई जानकारी गराउन सरकारलाई रुलिङ गर्नुभएको छ ।
आज बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक, शून्य र विशेष समयमा बोल्ने सांसदहरुले सो घटनाबारे गम्भीर सदनको ध्यानाकर्षण गराएपछि सभामुख घिमिरेले प्रतिनिधिसभा सदस्यसमेत रहेका यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालमा उपचारको अभाव ज्यान गुमाएकी ५ वर्षीया बालिकाबारे सम्पूर्ण जानकारी गराउन सरकारलाई निर्देशन दिनुभएको हो ।
‘आजको आकस्मिक, शुन्य र विशेष समयमा कान्ति बाल अस्पतालमा एक जना ५ वर्षीया बालिकाको मृत्यु भएको र संविधानसभा सदस्य एवं नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विषयमा गम्भीर कुराहरु छन । यी विषयमा सदनलाई जानकारी गराउन सरकारलाई म निर्देश गर्दछु,’ सभामुख घिमिरेले भन्नुभयो ।
बैठकमा सांसदहरुले ती दुवै अपराधिक घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका थिए । यस्तै सांसदहरुले एमाले अध्यक्ष तथा बिपक्षी दलका नेता केपी शर्मा ओली र सांसदसमेत रहेका एमाले सचिव योगेश भट्टराईदेखि युवासंघका अध्यक्षसम्ममाथि आक्रमण हुँदा सरकार चुप लागेर बसेकै कारण यो घटना घटेको भन्दै सरकारको कडा आलोचना गरेका छन ।
प्रतिक्रिया दिनुहोस्