काठमाडौं, असोज २१ । प्यालेस्टाइनी लडाकू समूह हमासले गरेको श्रृङ्खलाबद्ध आक्रमणमा नेपाली नागरिक पनि हताहती भएको हुनसक्ने जानकारी दिनुभएको छ ।
हमासको आक्रमणपछि दक्षिणी इजरायलमा केही नेपाली हताहत भएको हुनसक्ने सरकारले बताएको हो । परराष्ट्रमन्त्री एनपी साउदका अनुसार सूप विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययनरत थिए ।
नेपाली दूतावासका अनुसार गाजा क्षेत्र नजिक रहेको त्यो क्षेत्रमा हमास समूहबाट आक्रमण भएको छ । मन्त्री साउदका अनुसार १७ जना नेपालीमध्ये दुई सकुशल छन् भने तीन जनाको स्थानीय अस्पतामा उपचार भइरहेको छ ।
‘बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ,’ मन्त्री साउदले भन्नुभयो । परराष्ट्रमन्त्री साउदले संसदलाई दिएको जानकारीअनुसार ४ हजार ५ सय नेपाली इजरायलमा केयर गिभरका रूपमा कार्यरत छन् । २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गएका थिए ।
कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए । इजरायलमा भएको यो घटनालाई सरकारले गम्भीरताका साथ लिएको परराष्ट्रमन्त्री साउदले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्